नेपालगन्ज -नेकपा एमालेले बाँकेका आठ पालिकामध्ये पाँच पालिकामा जित्ने दाबी गरेको छ ।
पार्टीको संगठन विस्तार प्रभावकारीरुपमा अगाडि बढ्दै गएको र राष्ट्रवादी चिन्तन भएका नागरिक एमालेप्रति आकर्षित भएकाले बाँकेमा पाँच पालिकामा जित्ने एमालेले दाबी गरेको हो ।
बाँकेका नेता तथा केन्द्रीय सदस्य सूर्य ढकालले एमालेको केन्द्रीय कमिटीको तेस्रो बैठकमा उक्त विषयको रिपोर्ट प्रस्तुत गरेका थिए । यसभन्दा अगाडि सम्पन्न स्थानीय तहको चुनावमा एमालेले चारवटा स्थानीय तहमा जित हासिल गरेको छ ।
कोहलपुर नगरपालिका, बैजनाथ, जानकी, खजुरा गाउँपालिकामा एमालेका उम्मेदवारले जितेका थिए । केन्द्रीय सदस्य ढकालले यसपटक नेपालगन्ज उपमहानगरपालिकामा समेत जित्ने दाबी गरे । नेपालगन्जमा नेकपा एमाले जित्ने आधार के हो ?
भन्ने प्रश्नमा उनी भन्छन्, ‘विभिन्न पार्टीबाट ६ हजार कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । २३ वटा र टोल कमिटी विस्तार गरेका छौँ । संगठन पहिलाको भन्दा बलियो बनेको छ ।’
पार्टीका वर्तमान उपाध्यक्ष विष्णु पौडेल अर्थमन्त्री भएको बेला नेपालगन्जको विकासका लागि ५० करोड लगानी गरिएको कुरालाई पनि नेपालगन्जमा एमालेले जित्ने आंकलन गरिएको उनको भनाइ छ ।
गत मंसिर १ गते पशुपति दयाल मिश्र एमालेमा प्रवेश गरेका थिए । वैशाख ३१ मा हुने निर्वाचनमा एमालेको तर्फबाट मेयरको एकल उम्मेदवारको रुपमा मिश्र मात्रै देखिएका छन् । तथापि पार्टीको निर्णय आउन बाकि छ । पार्टीका बाँके इन्चार्जसमेत रहेका ढकालले गत निर्वाचनमा नेपाली कांग्रेसले जितेका दुई पालिका पनि एमाले नै मुख्य प्रतिस्पर्धी रहेको जानकारी दिए ।
गत निर्वाचनमा राप्तीसोनारी र डुडुवामा नेपाली कांग्रेसले जितेको थियो । तीमध्ये राप्तीसोनारीमा नेपाली कांग्रेस र माओवादी केन्द्र मिल्दासमेत एमाले नै अघि रहेको ढकालको दाबी छ ।
डुडुवामा नेपाली कांग्रेससँग मुख्य प्रतिस्पर्धा हुने उनले बताए । यसैगरि गत निर्वाचनमा जनता समाजवादी पार्टी नेपालले जितेको नरैनापुरमा समेत जित्ने प्रवल सम्भावना रहेको बताइएको छ । नेकपा एमाले विभाजनको खास्सै असर नदेखिने उनको भनाइ छ ।
एमाले जिल्ला अध्यक्ष किस्मत कक्षपतिले बाँकेमा गठबन्धनकाे कुनै डराउनुपर्ने अबस्था नरहेकाे र बिभाजनकाे असर पनि नरहेकाे बताउछन् । एमाले बिगतकाे भन्दा सुदृढ भएको उनकाे भनाई छ ।