एफएनसीसीआई र लगानी बोर्ड नेपाल लगानी प्रवर्द्धनमा सहकार्य गर्न सहमत


नेपालगन्ज -आपसी सहकार्यका माध्यमबाट मुलुकभित्र आन्तरिक र वाह्य लगानी प्रवद्र्धनमा सहकार्य गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघ र लगानी वोर्ड नेपाल बीच आज काठमाडौंमा एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । अर्थमन्त्री जनार्दन शर्माको उपस्थितिमा भएको उक्त समझदारीपत्रमा महासंघका अध्यक्ष शेखर गोल्छा र वोर्डका प्रमुख कार्यकारि अधिकृत सुशिल भट्टले हस्ताक्षर गर्नुभयो ।

सहमती अनुसार अव महासंघको सचिवालयमा प्रत्यक्ष वैदेशिक लगानी सम्बन्धी सहायता कक्ष  समेत स्थापना गरिने छ । सहायता कक्षको संचालनमा वोर्डका तर्फबाट प्राविधिक सहयोगका साथै सहायता कक्षको क्षमता अभिवृद्धि, शीप विकास र ज्ञानको आदानप्रदानमा सहयोग गरिनेछ ।

समझदारी अनुसार महासंघले राष्ट्रको आवश्यकता अनुसारका लगानी परियोजनाको पहिचान, अन्तराष्ट्रियरुपमा आफनो माध्यम मार्फत लगानीकर्ताको खोजी गर्ने कार्यमा वोर्डलाई सक्रियतापूर्वक सहयोग गर्ने छ । त्यसैगरी महासंघले स्वदेश तथा विदेशमा लगानी सम्बन्धी रोड सोका अतिरिक्त महत्वपूर्ण गतिविधि आयोजनामा सहयोग गर्ने छ ।

त्यसैगरी लगानी प्रवद्र्धनका दिशामा सार्वजनिक निजी साझेदारीको अवधारणाभित्र रही दुवै संस्था निरन्तर सहकार्य, लगानी सम्बन्धी ज्ञान, अनुभव एवं सूचनाको आदानप्रदान, नीतिगत सुधारमा सहकार्य गर्ने छन् भने एफडीआई तथा लगानी प्रवर्द्धनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा आयोजना हुने सभा, सम्मेलन, प्रर्दशनी, गोष्ठी, कार्यशाला, तालीम र यस्तै प्रकारका अन्य गतिविधिहरुको आयोजनामा महासंघले वोर्डलाई प्रत्यक्ष सहयोग पुुरयाउने छ ।
महासंघको अन्तराष्ट्रिय लगानी प्रवर्द्धन समितिले लगानी प्रवर्द्धनका लागी तयार गर्ने सवै दस्तावेजहरुमा वोर्डले पनि सहयोग गर्ने छ । त्यसैगरी दुवै संस्थाले लगानी सम्बन्धी तथ्याक, प्रतिवेदन,संयुक्त रुपमा तयार पारिएका प्रतिवेदनहरु, वाह्य लगानी आकर्षणमा देखा परेका चुनौती तथा अवसरहरु र सार्वजनिक निजी साझेदारीमा लगानी सम्बन्धी नीति पैरवी लगायतमा सहयोग, सहकार्य, आदान प्रदान गर्नेछन् । महासंघले लगानीका अवसर सम्बन्धी डाइरेक्टरीको तयारीमा पनि सहयोग गर्नेछ । त्यसैगरी दुवै संस्थाले सवै प्रकारका लगानी, परियोजना विकास लगायतमा संयुक्त रुपमा अध्ययन अनुसन्धानमा समेत सहकार्य गर्नेछन् ।

समझदारीपत्र हस्ताक्षर कार्यक्रममा प्रमुख अतिथि एवं वोर्डका उपाध्यक्ष अर्थमन्त्री जनार्दन शर्माले मुलुकभित्र आन्तरिक एवं वाह्य लगानी प्रवद्र्धनका लागि वोर्ड र महासंघ बीचको समझदारी एउटा अनुपम उदाहरण भएको र समझदारीमा उल्लेख गरिएका सहमतीका दफाहरुलाई दुवै संस्थाले अधिकतम सफल पार्नेमा आफू पूर्ण विश्वस्त रहेको बताउनुु भयो । उहांले यो सहमतीबाट सिंगो राष्ट्रनै लाभान्वित हुने पनि बताउनु भयो । सरकारले आन्तरिक एवं वाह्य सवै प्रकारको लगानी आकर्षणमा विशेष जोड दिएको वताउनुहुंदै लगानी गर्न आउनेलाई हामीले प्रतिफलको पनि स्पष्ट खाका दिनुसक्नु पर्ने सुुझाव दिनुुभयो । लगानीका लागि गरिएको प्रतिवद्धता अनुूरुप लगानी आउन नसक्नुका पछाडी मिहिन ढंगले अध्ययन गरी प्रतिवद्धता अनुरुपको अधिकतम लगानी भित्रयाउन सरकार लागी रहेको पनि उहांले बताउनु भयो ।
लगानी वोर्डका प्रमुख कार्यकारी अधिकृत भट्टले बोर्ड र महासंघ बीचको समझदारी ऐतिहासिक भएको बताउनुभयो । लामो गृहकार्य पश्चात सम्पन्न समझदारीपत्र हस्ताक्षर कार्यक्रम एउटा ऐतिहासिक शुरुवात भएको भन्दै सहमतीलाई सफल पार्न वोर्डले कुनै कसर वांकी नराख्ने भन्दै महासंघबाट पनि आफूले पूर्ण सहयोग पाउने विश्वास प्रकट गर्नुभयो । दुवै संस्थाको एउटै उद्देश्य मुलुकभित्र आन्तरिक एवं वाह्य लगानी प्रवद्र्धनका माध्यमबाट आम नेपालीहरुको मुहार खुशी बनाउनु नै रहेकाले यसलाई अधिकतम रुपमा सफल पार्नेमा विश्वास दिलाउनु भयो ।

महासंघका अध्यक्ष शेखर गोल्छाले मुलुकभित्र आन्तरिक एवं वाह्य लगानी प्रवद्र्धनमा समझदारी कोशेढुंगा हुने विश्वास व्यक्त गर्नुभयो । अध्यक्ष गोल्छाले समझदारीले लगानी वोर्डसंग लगानी प्रवद्र्धनमा सहकार्य गर्ने ढोका खुुलेको बताउनु भयो । महासंघको सचिवालयमा बोर्डको समेत संलग्नता र सहयोगमा खुल्ने सहायता कक्षले ठोस परिणाम दिने पनि उहांले विश्वास प्रकट गर्नुभयो । महासंघले अगाडी सारेको राष्ट्रिय आर्थिक रुपान्तरण मार्गचित्र ९ल्भ्त् द्दण्घण्० लाई सफल पार्न पनि आजको प्रतिवद्धताले सहयोग पुऱ्याउने छ, उहांले भन्नुभयो । अध्यक्ष गोल्छाले यो सहकार्यका लागि नेपाल सरकार, लगानी वोर्डलाई धन्यवाद समेत दिनुभयो ।

हस्ताक्षर कार्यक्रममा लगानी वोर्डका सदस्य एवं महासंघका निवर्तमान अध्यक्ष भवानी राणा र वोर्डका सहसचिव भगवान अर्यालले वोर्ड र महासंघ बीचको समझदारीबाट मुुलुकभित्र लगानी प्रवद्र्धनका लागि एउटा नयां अध्यायको शुरुवात भएको भन्दै सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, उपाध्यक्षहरू दिनेश श्रेष्ठ, अन्जन श्रेष्ठ, रामचन्द्र संघाई, महासंघको अन्तराष्ट्रिय लगानी प्रवर्द्धन समितिका सभापति आनन्द वगाडिया, कार्यकारिणी समितिका सदस्यहरु, महासंघ र लगानी वोर्डका वरिष्ठ अधिकारीहरुको उपस्थिति थियो ।

 

प्रकाशित मितिः     १३ चैत्र २०७८, आईतवार १५:०७  |