नेपालगन्जमा एमाले झन् बलियो भएको छ, कार्यकर्ता एकढिक्का छन्


मलाई पार्टीले जे जिम्मेवारी दिन्छ, हामीले त्यो ढंगले काम गर्ने हो । नेपालगञ्जलाई गौरब गर्न लायक बनाउने हाम्रो दृष्टिकोण हो । यो धेरै पुरानो शहर हो । तर, पुरानो भएर पनि जति अवसर पाउनुपर्ने हो, त्यो अवसर नेपालगञ्जले पाउन सकेन । जुन हिसाबले विकास हुनुपर्ने हो, नेपालगञ्जमा अहिले पनि त्यो हुन सकेको छैन । विभिन्न सेक्टरमा काम गर्न बाँकी छ ।

यहाँ त्यस्तो नेतृत्व आउनुपर्छ, जसले नेपालगञ्जको विकास गर्न सकोस् । किनकि यो भौगोलिक रुपले अत्यन्त महत्त्वपूर्ण ठाउँ हो । यो २४ जिल्लाको सेन्टरमा पर्छ । यो भारतको पनि गेट वे हो । त्यसकारण नेपालगञ्जको सम्भावना धेरै छ । यहाँ निजी क्षेत्रको विकास त भइराखेको छ, तर सरकारी लगानीको हिसाबले धेरै पछाडि परिराखेको छ । यसलाई व्यवस्थित गरेर कसरी लग्ने भन्ने हाम्रो सोच हो । अब पार्टीले जिम्मेवारी दियो भने मैले नेतृत्व गर्ने कुरा छ ।

०७४ सालको चुनावमा नेपालगञ्जको मेयरमा राप्रपाका धवलसमशेर जबराले १२ हजार ५१५ मत ल्याएर जित्नुभएको थियो । दोस्रोमा काँग्रेसले ८ हजार ७३० भोट ल्याएको थियो । तेस्रोमा माओवादीका दामोदर आचार्यले ७ हजार १९८ मत ल्याउनुभएको थियो, जो दुईहप्ता अघि क्यान्सरले बित्नुभयो । एमालेका समसुद्दिन सिद्दिकीले चौथो स्थानमा ६ हजार ९६५ भोट मात्र पाउनुभएको थियो ।

यसको क्यालकुलेसन हेर्नुहुन्छ भने एमालेले जनसंख्या बढी भएका ६ वटा वडा जितेको छ । राप्रपाले तीनवटा वडा जितेको छ । माओवादीले चारवटा र काँग्रेसले आठवटा वडा जितेको छ । आठ वटा वडा जित्ने पार्टी मेयरमा हारेको छ, तीनवटा वडा जित्ने पार्टीले मेयरमा जितेको छ । भनेपछि यो स्थानीय चुनावमा यहाँ व्यक्तिलाई हेरेर भोट दिने प्रचलन छ । व्यक्ति हेरेर धवलसमशेरले मेयरमा जितेको हो, संगठन त राप्रपाको अहिले पनि कमजोर छ । संगठन उहाँको छैन । संगठन हेर्दा त एमाले वा काँग्रेसले जित्नुपर्ने हो । देशमा गणतन्त्र आइसक्यो, राजतन्त्र गइसक्यो, त्यसको पहिलो निर्वाचन हुँदा राप्रपाले जित्छ भनेपछि यहाँ व्यक्तिको प्रभावले धेरै असर पर्छ । विगतको निर्वाचनमा हामी यो देखिराखेका छौँ ।

काँग्रेसका उम्मेदवार त्यत्रो ठूलो डाक्टर सुरेश कनौडिया हार्नुभो । उहाँकै उपमेयर उमा थापाले जित्नुभो । भनेपछि यहाँ पार्टीको प्रभाव भन्दा पनि कत्तिको प्रभावशाली व्यक्ति छ, त्यसमा भर पर्छ । व्यक्तित्व कस्तो छ, जनताले उसलाई कुन हिसाबले हेरिराखेको छ भन्ने कुरा मुख्य हुन्छ । ०७४ सालमा यति भोट पायो, उति भोट पायो भन्ने विश्लेषणले हुँदैन ।

पहिलेको एमाले र अहिलेको एमाले फरक छ । पहिले उत्तरतिर मात्रै एमाले थियो । जहाँ पहाडी बेल्ट छ, त्यहाँ एमाले थियो । अहिले त हामी मङ्सिर १ गते लगभग ४६ सयजना प्रवेश भयौँ । अहिले प्रत्येक वडामा एमाले मजबुत भइसक्यो । अहिले र पहिलेको परिस्थिति धेरै परिवर्तन भइसकेको छ । जुन वडामा एमालेको २०–२५ भोट थिएन, त्यहाँ हामी जित्ने परिस्थितिमा छौँ । मतदाताको संख्या पनि अहिले बढेर ८२ हजार भइसक्यो । पहिले भन्दा २०–२२ हजार भोट थपिएको छ ।

नेपालगञ्जमा गठबन्धनको अनुभव बहुत तीतो छ । यो पनि म तपाईंलाई सुनाइदिन्छु । जस्तो– योभन्दा पहिले संसद्को चुनावमा राप्रपा र काँग्रेसको गठबन्धन थियो । प्रदेश र संघ दुईटैमा उनीहरूको गठबन्धन थियो । अनि एमालेको माओवादीसित गठबन्धन थियो । यी दुईवटै गठबन्धनहरू प्रतिस्पर्धामा आउनुपर्ने, तर स्थानीय निर्वाचनमा ५ हजार भोट पाएको, कुनै गठबन्धनमा नरहेको संसदीय समाजवादी फोरमका इस्तियाक राईले हामीभन्दा पाँच हजार बढी भोटले जिते । सबभन्दा ठूला भनेका राप्रपा र काँग्रेस १३ हजारमा सीमित भए । हामी एमाले र माओवादी १६ हजारमा सीमित भयौँ ।

भनेपछि, गठबन्धनले यहाँ रिजल्ट राम्रो दिँदैन । गठबन्धन जसको भयो, सम्झनोस् कि त्यसको हार्ने दिन पक्का हुन्छ । नेपालगञ्जमा गठबन्धनले जित्दै जित्दैन । किनभने यहाँ अर्को पार्टीलाई भोट दिन चाहँदैनन् । र, तरल भोट जुन छ, त्यो बिकिहाल्छ । तर, भोट किन्यो, लियो, जित्यो । त्यसैले गठबन्धन भएर धेरै फरक पर्छ भन्ने लाग्दैन । गठबन्धन हुनेवित्तिकै झन् कमजोर भइहाल्छ ।

अरुले गठबन्धन गरे भने त यो हुन पनि सक्छ । मान्छेहरूले उम्मेदवारलाई कति रुचाइराखेका छन्, यो कुराले पनि असर गर्छ । यो कुरा उम्मेदवारमाथि निर्भर गर्छ ।हामी त गठबन्धनको पक्षमा खासै छैनौँ, एक्लै लड्छौँ भन्ने पक्षमा छौँ । तर, ओलीजीले माथि गठबन्धन गर्दिनुभो भने यहाँ अरुको गठबन्धन भन्दा हाम्रो गठबन्धन अलि बलियो हुन्छ । त्यसकारण अरु दलले गठबन्धन गरे र राप्रपा, लोसपा लगायतले एमालेसँग गठबन्धन गरे भने हामीलाई बढी भोट आउन सक्छ ।

एमालेमा सबै पार्टीका आएका छन् । खास गरेर मुस्लिम र मधेसी समुदाय एमालेमा आएका छन् । एमालेमा पहाडे बाहेक मुस्लिम र मधेसी समुदायको न्यून संख्या थियो ।

केपी ओलीले तीन वर्षमा जुन काम गर्नुभयो, त्यसले उहाँलाई स्थापित गर्यो । अर्को के छ भने नागरिकता विधेयक उहाँकै टाइममा आयो । अन्य कुराहरू पनि उहाँले गर्दिनु भो । यिनै कारणले परिस्थितिमा फेरबदल भयो । मधेसी दलहरूमा आएको टुटफुट, जातीय राजनीतिले पनि यस्तो परिस्थिति आयो । उनीहरूले यादववाद, मुस्लिमवाद आदि हिसाबले जातीय हिसाबले मात्रै राजनीति गर्न लागे । र, दुई नम्बर प्रदेशमा मात्रै सीमित गरे ।

यस्तो तरल परिस्थितिमा यहाँका जनता कता जाने, कता जाने भैरहेको थियो । नीति कार्यक्रम हेर्दाखेरि बरु ओलीजी नै ठीक भन्न्े भयो । पहिले त ओलीजीको त पूरै विरोध हो नि यहाँ । मधेसमा सबैभन्दा विरोधी त ओलीजीलाई बनाएको थियो । तर, परिस्थिति चेञ्ज भइगयो । कहिलेकाहिँ कसैसित धेरै दुश्मनी भइगयो भने त्यो सितको दोस्ती एकदमै प्रगाढ हुन्छ । अहिले त्यही भयो । यहाँ ओलीका एकदम कट्टर विरोधी थिए, अहिले कट्टर समर्थक भए ।

पहिले पनि बाँकेमा एमालेले ५० प्रतिशत त जितेको हो नि । एमालेले चार वटा पालिका जित्यो, बाँकी चार वटामा अरु दलले जितेका हुन् । एमालेले त एक्लै चारवटा जितेको हो । अहिले आठवटै पालिका जित्ने परिस्थिति बनेको छ । हारेका पालिकाहरूबाट हजारौँ संख्यामा पार्टीमा प्रवेश गरिरहेका छन् । पालिका जित्यौँ भने त हामीले संघ र प्रदेशको चुनाव मज्जाले जित्न सक्छौँ ।

पार्टी एक ढिक्का छ । मलाई सबैले स्वागत गरेका छन् । पहिले त हामी हृदयेश त्रिपाठीजीसँग हुँदा एमालेसँग गठबन्धनको हिसाबले स्वतन्त्र रुपमा लडेका हौँ । स्वतन्त्र हुँदाखेरि त्यसको असर अलिकता थियो । अहिले हामी पार्टी प्रवेश गरिसकेपछि र केन्द्रीय कमिटीको सदस्य भइसकेपछि माहौल अर्कै छ ।

जसरी भए पनि बाँके जिल्लालाई एमालेको किल्ला बनाउनुपर्छ भनेर वडा वडामा, टोल टोलमा साथीहरू सक्रिय छन् । र, जसले टिकट पाउँछ, त्यसका पछाडि इमान्दारीपूर्वक लाग्नुपर्छ भन्ने दृष्टिकोण बनेको हुनाले समस्या आउँछ जस्तो लाग्दैन । जो उम्मेदवार भए पनि हामी एक ढिक्का भएर लाग्छौँ ।

पशुपतिदयाल मिश्र
केन्द्रीय सदस्य, नेकपा एमाले

प्रकाशित मितिः     २१ चैत्र २०७८, सोमबार ०७:४३  |