समाजवादीका ‘खम्बा’ थापा र प्रभावशाली महिला नेतृ यादव सहित दर्जनौं युवा एमालेमा


नेपालगन्ज -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख अतिथीमा भएको बिशेष कार्यक्रममा बिहिवार नेपालगन्जमा प्रभावशाली व्यक्तिहरुले एमाले रोजेका छन् । नेकपा समाजवादी पार्टीको खम्बाकारुपमा परिचित किशोर थापा सहित एमाले फर्किएका छन् ।

उनी लगायत दर्जन युवा समाजवादी पार्टीबाट घर फर्किएका हुन । किशोर थापा युवा संघको लुम्बिनी प्रदेश अध्यक्ष र समाजवादी पार्टीका जिल्ला उपसचिव थिए । उनको नेतृत्वमा बैजनाथ, खजुरा र जानकी गाउँपालिकाका प्रभावशाली युवाहरु पुरानै पार्टी एमालेमा फर्किए । राजनीतिमा यि युवाहरु प्रभावशाली मानिन्छन् ।

सोही कार्यक्रममा डुडुवाकी महिला नेतृ सरोजकुमारी यादव पनि एमाले प्रवेश गरेकी छन् । पूर्व गाविस अध्यक्ष रहेकी उनी राजनीतिमा शक्तिशाली छन् । उनको एमालेमा प्रवेशले बिशेष अर्थ राख्छ । पार्टी प्रवेशपछि उत्साहित अध्यक्ष ओलीले गठबन्धनलाई धुलो चटाउने बताए । ओलीले अहिलेको सरकार बिदेशी प्रतिक्रियावादीहरुको गठजोड भएको आरोप लगाए ।

बिदेशी प्रतिक्रियावादीको गठजोड गठबन्धन सरकारका बिरुद्धमा जनताले मत दिनुपर्ने ओलीले बताए । उनले जतिसक्यो यो सरकारलाई बिदाई गर्नुपर्ने अन्यथा देशलाई खोक्रो बनाउने उनको भनाई छ । ओलीले बर्तमान सरकारका कारण देश झन्झन् गरिब बन्ने अवस्थामा पुगेको बताए ।

नेकपा एमाले बाँकेका उपाध्यक्ष डिल्ली विसीका अनुसार, सामाजवादी पार्टी बाँके जिल्ला उपसचिव थापा सहित ४४ जना जिल्ला कमिटी सदस्य सहित ४८७ जनालाई नेकपा एमालेमा समाहित भएका छन् ।

प्रकाशित मितिः     २४ चैत्र २०७८, बिहीबार १३:५३  |