बाँकेमा उद्योग बढ्दै,पूर्वाधारमा छैन लगानी


  • बाँकेमा निजीक्षेत्रले अर्वौ लगानीका उद्योगहरु स्थापना गरेका छन् । तर त्यसका लागि अत्यावश्यक रहेका सडक, बिजुली जस्ता पूर्वाधार निर्माणमा समेत सरकारले कन्जुस्याई गरेको देखिन्छ । पूर्वाधार सहितका औद्योगिक क्षेत्रहरु बनाउने योजना गफमा सीमित भएका छन् ।

एक दशकयता बाँकेमा ठूला उद्योग स्थापनाको लहर चलेको छ । निजीक्षेत्रले उत्पादनमुलकदेखि सेवाक्षेत्रमा अर्वौको लगानी गर्दैगर्दा पूर्वाधार क्षेत्रमा सरकारले गर्नुपर्ने लगानी भने उदेक लाग्दो छ । पंचायतकालमा स्थापना गरिएको नेपालगन्ज औद्योगिक क्षेत्र पुरानै उद्योगका कारण भरिभराउ छन् । त्यहाँ थप उद्योग स्थापना गर्ने अवस्था छैन भने प्रदुषण गराएको नाममा औद्योगिकक्षेत्र नै सार्नुपर्ने आवाज उठाउनेको कमी छैन । त्यसको बिकल्प बन्न सक्ने आशा गरिएको नौवस्ता औद्योगिक क्षेत्रको काम अगाडी बढ्न सकेको छैन ।

आर्थिक विकासका बारे ठुला–ठुला भाषण गर्न नथाक्ने राजनीतिक नेतृत्वले स्वस्फुर्तरुपमा औद्योकिकरण भइरहेका क्षेत्रमा समेत पूर्वाधार निर्माण गर्न ध्यान नदिएको देखिन्छ । गनापुरक्षेत्रमा अर्वौको लगानीमा कयौं उद्योग खुलेका छन् तर त्यहाँ नत गतिलो बाटो छ नत बिजुली पानीकै सुविधा । रोजगारी र कर मार्फत राज्यलाई महत्वपुर्ण योगदान दिने निजीक्षेत्रलाई अत्यावश्यकीय त्यस्ता पूर्वाधारहरु निर्माणमा ध्यान नदिने निती निर्माताहरुले देशको दिर्घकालिन विकास गर्लान भनेर सोच्न मुस्किल छ ।

आर्थिक क्षेत्रमा उत्साहित नेपालगन्जको मुख्य चिनारी ‘टे«ड बिजनेश’ नै हो । बिदेशबाट सामान आयात गर्ने र जडिबुटी लगायतका सामाग्री भारत निर्यात गर्नमै निर्भर रहेको बाँकेको आर्थिक क्षेत्र अब भने उत्पादनमुखी बन्दै गएको छ । जसमा पछिल्लो समय मनोरन्जन एवं सेवामुलक क्षेत्रले फड्को मार्दै छ । उत्पादनमुखी उद्योगको आर्कषक बढेको छ नै । नेपालगञ्जलाई ‘पश्चिम नेपालकै आर्थिक राजधानी’ बनाउनुपर्छ भन्दै उठेका आवाजलाई उद्योग सञ्चालनको यस्तो आर्कषणले थप सशक्त बनाउने देखिन्छ ।

यद्यपी कुनै नीतिगत निर्णय बिना उद्योगको संख्या बढेकै आधारमा ‘आर्थिक राजधानी’ बनिहाल्छ भन्ने होइन । त्यसका लागि सुरुवात भने पक्कै भएको छ । प्रशासनिक र राजनीतिक शक्ति गुमाउँदा पीडाबोध गरिरहेको नेपालगञ्जका लागि उद्योग, कलकारखाना खोल्न क्रम बढ्दै जानुले उत्साह भने थपेको छ । नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले ठूला उद्योग स्थापना हुनु बाँकेका लागि उत्साहजनक कुरा भएको बताउँछन् । उनी भन्छन्,–‘बाँके लगानीका लागि उर्बर ठाउँ हो भन्ने कुरा प्रमाणित भएको छ ।’

उद्योग बिभागका अनुसार २०४७ सालयता बाँकेमा ८८ वटा ठुला उद्योग थपिए । द्वन्द्वकालमा बाँकेले गुमाएका पुराना उद्योग पुनस्र्थापना भएको र नयाँ स्थापना हुनेक्रम तीव्र गतीमा बढेको अध्यक्ष मन्सुरीको बुझाईछ । स्थानीयदेखि देशका ठूला र नाम चलेका औद्योगिक समूह लगानी गर्न हौसिएका छन् । ‘राजनीतिक स्थिरता र उर्जा लगायतका समस्या समाधान भएपछि लगानीको उत्साह थपिएको छ । बाँके औद्योगिक हबका रुपमा विकास भइरहेको छ,’ उनी भन्छन् ।

बाँके जिल्ला लगानीकर्ताका लागि आफैमा सुनौलो ठाउँ भएको हो । राजनीतिक अस्थिरता र उर्जा लगायत समस्याले लगानीकर्ता आउन हिच्किचाए पनि कर्णाली र सुदूरपश्चिम प्रदेशका मुख्य प्रवेशद्वारा बाँके भएकोले पछिल्लो समय ठूला लगानीकर्ता आकर्षित भएको हो । ‘अहिले अवस्था सुध्रिएको छ । एकपछि अर्को ठूलो उद्योग खुल्ने क्रम जारी छ,’ नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव चिरञ्जीवी ओली भन्छन्, ‘यो वातावरणलाई संधै यस्तै बनाईराख्न जरुरी छ ।’

संघीयता पछि बनेको कर्णाली र सुदूरपश्चिम प्रदेशलाई आवश्यक पर्ने सामग्री पठाउने उपयुक्त ठाउँ बाँके भएको छ । ति दुई प्रदेशसँगै प्रदेश ५ लाई चाहिने बस्तुको हिस्सा ओगट््न कुनै पनि उद्योगले बाँकेमा औद्योगिक प्लान्ट राख्नै पर्ने बाध्यता भएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा दैनिक जसो हरेक उत्पादनको बजारक्षेत्र बढ्दै गएको छ ।

विकास निर्माण तीव्ररुपमा भइरहँदा निर्माणका सामग्रीको माग ह्वात्तै बढेको छ । पहाडी र हिमाली क्षेत्रमा बढ्दै गएको शहरीकरणले उपभोग्य सामग्रीको बजार थपिदैछ । त्यस्तो अवस्थामा पूर्वमा उत्पादन भएका सामग्री पश्चिममा ल्याएर बिक्री गर्दा ढुवानी धेरै रकम खर्चिनु भन्दा यही उद्योग खोलेर उत्पादन गर्नु उद्योगीका लागि दीर्घकालिनरुपमा फाईदाजनक हुने देखेर उद्योगीहरु बाँकेका विभिन्न स्थानमा उद्योग स्थापना गर्न तम्सिएको शिखर प्लाईउड प्रालिका प्रोप्राइटर चम्पालाल बोथराले बताए ।

ठूलो स्केलमा आफ्ना उत्पादन बिक्री गर्ने र पश्चिममा बजारको राम्रो सम्भावना देखेर उद्योगीले बाँकेलाई उद्योग संचालनका लागि रोजेको उनले बताए । भारतसंग सीमा जोडिएको र एकीकृत भन्सार जाँच चौकी निर्माणको क्रममा रहेकोले बाँकेलाई उद्योगीले रोज्न थालेको छन् । नेपाल–भारत जोड्ने रेल र पूर्व–पश्चिम रेल संचालनमा आए त्यसले आयात निर्यातमा समेत फाइदा पुग्ने दूरदृष्टि राखेर यहाँ उद्योग संचालन गर्न उद्योगीहरु बाँकेलाई उपयुक्त स्थानको रुपमा देखिन्छ । तर पूर्वाधार, राज्यका कयौं गलत नितीका कारण व्यवसायीमा उत्साह भर्न सकेको छैन ।

प्रकाशित मितिः     २४ चैत्र २०७८, बिहीबार १६:३३  |