नेपालगनज। उपकार लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि बिक्री खुला गरेको साधारण सेयरमा आवेदन दिने म्याद थप गरेको छ। अब लघुवित्तको आइपीओमा चैत ३० गतेसम्म आवेदन दिन सकिनेछ।
यस अघि उपकारले छिटोमा चैत २९ गतेसम्म आवेदन दिइसक्नुपर्ने जनाएको थियो। यद्यपि चैत २७ गतेका दिन रामनवमी पर्वको सार्वजनिक बिदा भएका कारण लघुवित्तले आवेदन मिति लम्ब्याएको हो।
उपकार लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि चैत २५ गतेका दिनदेखि साधारण सेयर बिक्री खुला गरेको थियो।
लघुवित्तले प्रति सेयर १०० रुपैयाँ दरका २ लाख ३६ हजार २५० कित्ता सेयर निष्कासन गरेको हो। कम्पनीको जारी पुँजी ६ करोड ५६ लाख २५ हजार रुपैयाँ छ। यसको ३६ प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गर्न लागिएको हो।
लघुवित्तले निष्कासन गर्न लागेको सेयरमध्ये जारी पुँजीको ०.५ प्रतिशतले हुन आउने ३२८१ कित्ता कर्मचारीलाई र ५ प्रतिशतले हुन आउने ११ हजार ८१३ कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ। सर्वसाधारणले २ लाख २१ हजार १५६ कित्ता सेयरमा मात्र खरिदका लागि दाबी गर्न पाउने छन्।
कम्पनीको सेयरमा न्युनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिन्छ। पछिल्लो समय डिम्याट खाता हुनेहरु ५० लाख हाराहारी पुगेका छन्। दरखास्त दिनेमध्ये पनि एक जनालाई सेयर १० कित्ताभन्दा बढी हात आउँदैन। त्यसैले यसमा १० कित्ता मात्र भर्नु उपयुक्त हुने देखिन्छ।
लघुवित्तले आइपीओको बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड नियुक्त्त गरेको छ।