१५ वर्षको कार्ययोजना खजुराको विकासका लागि महत्वपूर्ण


बमबहादुर केसी
प्रमुख प्रशासकीय अधिकृत, खजुरा गाउँपालिका

सबैका लागि नयाँ अनुभव रह्यो । जनतका धेरै अपेक्षा थिए । ठूलो आशा पनि थियो । सबै पुरानै प्रविधिले नयाँ मागहरु पूरा गर्नुपर्ने अवस्था थियो । कर्मचारी र जनप्रतिनिधिबीचमै अन्योलता थियो । नीतिगत अस्थिरताका कारण सुरुमा समस्या थियो । राजनीतिक संघीयता चाडो कार्यान्वयनमा आए पनि कर्मचारी संघीयता अझै पूर्ण भएको छैन । यस बीचमा जनताका सबै अपेक्षा पूरा नभए पनि अधिकांश अपेक्षा पूरा भएका छन् । जनशक्ति सन्तुलनमा नहुनुका कारण सुरुवातमा कामको रफ्तारमा अवश्य केही कमी आएको हो । यो पाँच वर्षमा संघीयताको जग बसेको छ । स्थानीय सरकारको भवनसमेत नरहेको अवस्थाबाट अहिले यति धेरै काम हुनुलाई सुखद नै मान्नुपर्छ । विकास प्रशस्त भएको छ । तर अलिकता तथ्यांक राख्ने काममा अलि कमजोरी भएको हो कि भन्ने मलाई लाग्छ ।

नौलो अभ्यास भएका कारण सुरुसुरुमा अनेक अन्योलताहरु थिए नै । बुझाइमा कमीका कारण उत्पन्न सुरुवाती समस्या अहिले छैनन् । स्थानीय तहको पहिलो कार्यकालले सबैलाई धेरै महŒवपूर्ण सिकाइ दिएको छ । अहिले सबैमा परिपक्वता आएको छ । कर्मचारी र जनप्रतिनिधका बीचमा दरारै आउने गरी खजुरा गाउँपालिकामा कुनै समस्या उत्पन्न भएको जस्तो मलाई लाग्दैन । कहीँकहीँ तालमेल नमिलेको ठाउँमा मिल्दै गएको छ । मुख्य कुरो क्षमता वृद्धिको जरुरत सबैमा आवश्यक छ । कर्मचारीहरुलाई पनि राज्यले क्षमता वृद्धिका अवसरहरु दिनुपर्दछ ।


हामीले जनताको सूचनाको हकको प्रत्याभूतिलाई उच्च महŒव दिएका छौँ । नियमितहरुपमा सार्वजनिक सुनुवाइ भएको छ । गुनासो व्यवस्थापनको संयन्त्र निर्माण गरेका छौँ । गुनासो पेटिकाहरुको व्यवस्था गरिएको छ । सूचना बोर्ड राखिएका छन् । वेबसाइटलाई सक्रियतापूर्वक अपडेट गरिएको छ । डिस्प्ले बोर्डहरु राखिएका छन् । बरु म के आग्रह गर्न चाहन्छुँ भने, जनताहरुलाई गुनासो गर्ने र सुझाव दिने बानीको विकास गरौँ । गुनासो नभएको हो कि नआएको हो तर एकदमै कममात्रै गुनासोहरु परेका छन् । गुनासो गर्दा त्यसले सेवालाई थप जनमैत्री बनाउँछ भन्ने मेरो आग्रह छ ।

खजुरावासीहरु भाग्यमानी हुन् । के मानेमा भाग्यमानी हुन् भने खजुराको अबको १५ वर्षसम्मको यात्राको खाका कोरिसकिएको छ । विकासको मोडेल कस्तो हुने भन्ने यो पहिलो कार्यकालले नै तय गरिदिएको छ । विकासका योजनाहरु दिगो भएका छन् । जति पनि गौरवका योजनाहरु छन् ती योजना अर्काे पुस्तासम्मका लागि उपयोगी बन्छन् । त्यस कारण यसरी दीर्घकालीन सोच राख्ने नेतृत्व पाउनु खजुरावासीको भाग्यको कुरा पनि हो । अब के गर्नुप¥यो भने भएका योजनाहरुलाई कसरी संरक्षण गर्ने त्यसबारेमा सबै गम्भीर बन्नुप¥यो । निर्माण गर्दा गठन भएका उपभोक्ता समितिहरुलाई नै मर्मत सम्भारको जिम्मा दिएर हुन्छ कि टोल विकास समितिहरु गठन गरेर हुन्छ बनिसकेका योजनाको नियमित मर्मत सम्भारको व्यवस्था गरिनुपर्छ ।

अब खजुरामा आउने नेतृत्वलाई धेरै सहज हुनेछ । आशा गरौँ । आशा गरेर फेरि ढुक्क नबसौँ । निरन्तर खबरदारी गरिराखौँ । सेवा पाउने जनताको अधिकार हो । त्यसलाई अधिकारकै रुपमा प्रयोग गरौँ । स्वतन्त्र ढंगले विचार अभिव्यक्तिको प्रयोग गरौँ । निर्णय क्षमता बढाऔँ । हामी कर्मचारीहरु जनतासँगै छौँ । सकारात्मक सोच राखेर खजुराको सपना पूरा गर्नतिर लागौँ ।

प्रकाशित मितिः     ३ बैशाख २०७९, शनिबार ०६:४६  |
error: Content is protected !!