क्यान महासंघकाे अनुरोध – इन्टरनेटको सम्भावित समस्या समाधान गर


नेपालगन्ज – क्यान महासंघले इन्टरनेटको समस्या समाधान गर्न सरोकारवालाहरूको ध्यानाकर्षण गराएको छ ।

आईतबार एक विज्ञप्ती जारी गर्दै महासंघले इन्टरनेट सेवा प्रवाहका सम्बन्धमा विगत केही दिनदेखि जिम्मेवार निकायहरुबाट व्यक्त धारणाहरुप्रति क्यान महासंघको ध्यानाकर्षण ‍गराएको हो ।

सरकारले विदेशी मुद्रा सिफारिस पूर्ण रूपमा बन्द गरेपछि इन्टरनेट सेवा प्रदायकहरूले ६ महिनादेखि रकम भुक्तानी गर्न पाएका छैनन् ।

यस्तो अवस्थामा शुक्रबार एक विज्ञप्ती जारी गर्दै इन्टरनेट सेवा प्रदायकहरूको संस्था आईस्पानले इन्टरनेट बन्द हुन सक्ने जनाएको थियो । यस्तो अवस्थामा क्यान महासंघले इन्टरनेट बन्द हुन सक्नेप्रति चिन्ता व्यक्त गरेको हो ।

महासंघको विज्ञप्तीमा भनिएको छ, ‘इन्टरनेट सेवा प्रदायकहरूले विदेशबाट ब्यान्डविथ खरिदका निम्ति आवश्यक विदेशी मुद्रा सटही सिफारिस एवं महालेखापरीक्षकको वार्षिक प्रतिवेदनका आधारमा बेरुजुका सन्दर्भमा विभिन्न निकायहरुबीच बुझाईमा असमानताका कारण ब्यान्डविथको शुल्क तिर्न बिलम्ब हुनाका कारण इन्टरनेट सेवा बाधित हुने सक्ने प्रति क्यान महासंघ चिन्ता वक्त गर्दछ ।’

समस्या समाधानका निम्ति सम्बन्धित निकायहरुलाई जिम्मेवारीपूर्वक यथासिघ्र वार्ता एवं छलफल गर्न महासंघले अनुरोध गरेको छ ।

प्रकाशित मितिः     १८ बैशाख २०७९, आईतवार १३:३८  |