काेहलपुरमा एक लाख पैसा दिएर भाईबुहारीकाे हत्या


नेपालगन्ज – बाकेको कोहलपुर नगरपालिका- १४ स्थित पार्वतीपुर निवासी दम्पतीको हत्या योजना दाजुले नै बनाएको खुलेको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार भाइ-बुहारी २२ वर्षीय कृष्ण गडरिया र २१ वर्षीया अञ्जली गडरियाको हत्या योजना दाजु विजय गडरियाले बनाएको खुलेको हो।

मंगलबार बिहान घरमै दम्पती मृत फेला परेपछि प्रहरीले अनुसन्धानका क्रममा विजयमाथि शंका गरेको थियो। भाइ-बुहारीको हत्याको समयमा उनी घरमै रहेको खुलेको छ।
उनलाई घरबाटै पक्राउ गरेर सोधपुछ गर्दा आफूले एक लाख रुपैयाँ दिएर हत्या गर्न लगाएको तथ्य स्वीकारेको जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी मधुसुदन न्यौपानेले नेपालखबरलाई बताए।

विजयले भाइ-बुहारीको हत्याका लागि एक लाख दिएर भाडामा प्रयोग गरेका अभियुक्तहरूबारे प्रहरीले विस्तृत खुलाइसकेको छैन।
घटनाबारेमा अहिले अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी ऐनबहादुर मल्लले बताएका छन्।

प्रहरीका अनुसार पत्नी अञ्जली घरभित्र र पति कृष्ण घर बाहिर मृत भेटिएका थिए। प्रहरीका अनुसार घटनास्थलमा चुँडिएको डोरी भेटिएको थियो।

त्यस्तै घटनास्थल रगताम्य थियो। घटनाका क्रममा ज्यान गुमाएका र आक्रमणमा संलग्नबीच घम्साघम्सी भएको देखिएको थियो।

कृष्णको दायाँ हातको नाडीमा धारिलो हतियारले काटेको चोट देखिएको थियो। त्यस्तै पत्नीको घाँटीमा डोरी भेटिएपछि प्रहरीले हत्या अनुमानसहित अनुसन्धान अघि बढाएको थियो।

मृतक दम्पतीको शरीरमा चोट र घटनास्थल रगताम्य देखिएपछि दाजुसहितका शंकास्पदमाथि प्रहरीले अनुसन्धान थालेको थियो।

डीएसपी न्यौपानेका अनुसार हत्याका योजनाकार दाजु र उनकी श्रीमती घरमै थिए। उनीहरुका बाबुआमा एक साताअघि नै बोलबम तीर्थयात्राका लागि भारततिर गएका थिए।

 

प्रकाशित मितिः     १० श्रावण २०७९, मंगलवार १७:२३  |