बैजनाथमा साढे दुई करोड बीमा रकम हत्याउन आफ्नै श्रीमानकाे हत्या


नेपालगन्ज- साढे दुई करोड रुपैयाँ बीमा रकमका लागि एक युवतीले नक्कली बिहे गरेर ‘श्रीमान्’को हत्या गराएकी छिन् । रकम लिएर विदेश भाग्न लागेकी युवती र अन्य पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बाँके कोहलपुरका सर्जन विकको दुर्घटनामा मृत्यु भएको देखाई बीमा रकम हात पार्न हत्या भएको हो । हत्याअघि उनको साढे दुई करोड रुपैयाँको बीमा गरिएको थियो । योजना मुताबिक नै सपना मल्लसँग विवाह दर्ता गरिएको थियो । ठगीकै योजनाअनुसार यसरी बीमा गरी हत्या भएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न सपनासहित संजीव अर्याल, सरदार अहमद खाँ, टोपबहादुर राना क्षेत्री, दिपक केसी र ललिता सापकोटालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो ।

ब्युरोका प्रमुख एआइजी उत्तमराज सुवेदीका अनुसार सपना जापान जान लागेको अवस्थामा दिल्ली विमानस्थलबाट नेपाल फर्काएर पक्राउ गरिएको हो । गत २ वैशाख २०७८ मा सर्जनको बाँकेको बैजनाथ गाउँपालिका–६ मा मिनीबसको ठक्करबाट मृत्यु भएको थियो । योजनाबद्ध रूपमा बसले ठक्कर दिएर हत्या भएको हाल अनुसन्धानमा खुलेको छ ।

त्यसअघि विकको रिलायन्स लाइफ इन्स्योरेन्समा बीमा गरिएको थियो । उनको मृत्यु हुनुभन्दा दुई महिनाअघि बीमा गरिएको र एक महिनाअघि मात्र सपनासँग विवाह दर्ता गरी बीमा इच्छाएको व्यक्तिमा उनको नाम राखिएको थियो । घटनाका मुख्य योजनाकार संजीव अर्याल भएको र बीमा अभिकर्ता सरदार अहमत खाँलगायतको मिलेमतो रहेको सिआइबीले जनाएको छ ।

बीमाको रकम आइसकेपछि ८० लाख संजीव अर्याल तथा ६० लाख रुपैयाँ दीपक केसीले लिएका थिए । अन्य रकम सपनाले नै खर्च गरेको अनुसन्धानमा खुलेको छ । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले दुर्घटना शंकास्पद भएको भन्दै उजुरी गरेपछि प्रहरीले अनुसन्धान गर्दा हत्या र ठगी पत्ता लागेको हो । नयाँ पत्रीकाबाट

प्रकाशित मितिः     १३ श्रावण २०७९, शुक्रबार १४:२८  |