अतिक्रमण हटाउदा नेपालगन्जमा संयमता अपनाइयाे, काेहलपुरमा अवराेध नै अवराेध


नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा फुटपात अतिक्रमण खाली गर्न नगर प्रमुख प्रशान्त विष्टले सक्रियता देखाएका छन् । नगर प्रमुख विष्ट सहित वडा नम्बर ८ का वडाअध्यक्ष रजनीश वाजपेयी, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी, महासचिव चिरञ्जिवी ओली, जिल्ला ट्राफिक प्रहरी प्रमुख हिमालय शाह, वडा प्रहरी प्रमुख रिपेन्द्रकुमार सिंह लगायत निस्केका थिए ।

नेपालगन्ज उद्योग वाणिज्य संघको कार्यालयबाट आइतबार अपरान्ह ५ बजेतिर सुरु भएको फुटपात अतिक्रमण नियन्त्रण अभियान त्रिभुवन चोक, सदरलाईन, त्रिवेणी मोड हुदै करिव दुई सय मिटर पुर्वसम्म पुगेर पुनः फर्केको थियो । सो क्रममा नगर प्रमुख विष्टले फुटपात अतिक्रमण गरेका ब्यवसायीलाई दुई हात जोडेर खाली गर्न अनुरोध गरेका थिए । सो क्रममा अधिकांस ब्यापारीले फुटपात खाली गर्ने प्रतिवद्धता ब्यक्त गरे । फुटपात अतिक्रमण नियन्त्रण अभियान थालेकोमा सडकमा हिड्ने सर्वसाधारणले नगर प्रमुख विष्टलाई धन्यवाद दिए ।
स्थलगत अनुगमन गरिसकेपछि नगर प्रमुख विष्टले सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै ७ दिनसम्म सम्झाई बुझाई गरिसकेपछि पनि अटेरी गरेपछि कानुनी कारबाही गरिने बताए । ‘सडक पेटीमा हिडडुल गर्ने अधिकार सबैलाई छ, त्यसकारण सडक पेटीलाई खाली गरिदिन म अनुरोध गर्दछु,’ उनले भने ‘साथीहरुले खाली गर्नुहुन्छ भन्ने मेरो विश्वास छ, ७ दिन भित्र सम्झाउने बुझाउने काम गर्छौ, सडक पेटी अतिक्रमण गरेर जुन सिढी बनाइएको छ, त्यसलाई हामी ७ दिनभित्र खाली गराउँछौं ।’

यस्तै नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष मन्सुरीले आफुहरुले सबै ब्यापारीलाई सडक पेटी खाली गर्न आब्हान गरेको बताए । ‘ब्यापारी कहाँ गएर हामीले सडक पेटी खाली गर्न अनुरोध गरेका छौं, कोही ब्यवसायीले अटेरी गर्छ भने उपमहानगरपालिकाले दण्ड र जरिवाना लगाउँछ,’ उनले भने ‘हामीले पसलमै गएर सम्झाएका छौं, भोली नगरपालिकाले सामान उठायो भने हामी जवाफदेही हुने छैनौ ।’
यता बाँकेको कोहलपुरमा अतिक्रमित संरचना हटाउँदा स्थानीयले अवरोध गरेका छन् । मेयर पूर्ण प्रसाद आचार्यको नेतृत्वमा अतिक्रमित संरचना हटाउन डोजरसहित पुगेको टोलीलाई स्थानीयले भरपर्दो विकल्पको माग गर्दै अवरोध गरेपछि तनाव सिर्जना भएको छ ।

कोहलपुरको न्यूरोड क्षेत्रमा अतिक्रमण गरेर बनाइएका टहरा र संरचना हटाउन मेयर आचार्य सहितको टोली बिहानैदेखि खटिएको थियो । कोहलपुरको न्यूरोडमा रहेको २/४ वटा टहरा भत्काएर बसपार्क पुगेको डोजरमाथि स्थानीयले ढुङ्गामुढा गरेपछि तनाव सिर्जना भएको हो ।

मेयर आचार्यले अतिक्रमित संरचना हटाउने क्रममा स्थानीयले अवरोध गरेको बताएका छन् । जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक हिमालय शाहले अतिक्रमित संरचना हटाइरहेको अवस्थामा स्थानीयले विरोध जनाएकाे बताए ।

प्रकाशित मितिः     १३ भाद्र २०७९, सोमबार १४:५९  |