विषय प्रवेश
समृद्धिका मोडलहरु बहुवैकल्पिक हुन्छन् । कुन मोडल वस्तुगत, वैज्ञानिक र गतिशील छ भन्ने कु्राको बहस हुनु जरुरी छ । पछिल्लो समयमा बुटवल मोडल भन्ने कुरा आएको छ । आखिर बुटवल मोडल के हो त? आज हामी विशेषतः युवा अर्थशास्त्री (युथ इकनोमिष्ट) हरु बीच यही विषयमा बहस थालनी गरौं ।
अवधारणा पत्रको उद्देश्य ः
बुटवल मोडलको आत्मालाई परिमार्जन गरी सैद्धान्तिक खाका तयार गर्नु यस भेलाको उद्देश्य हो । हामी यसै विषयमा केन्द्रित हुनेछौं ।
बुटवल मोडलको परिभाषा ः
मेरो विचारमा अर्थशास्त्रमा त्यस्ता आधारभूत संरचनात्मक परियोजनाहरु जसले गुणाङकीय प्रभाव (मल्टीपल इफेक्ट) का आधारमा राष्ट्रिय पुँजी निर्माण र रोजगार सिर्जनामा सकारात्मक असर पार्छन्, त्यस्ता परियोजनाहरु निर्माण पुननिर्माण गरी अत्यधिक रोजगार सिर्जना गर्नु बुटवल मोडल हो ।
यसका केही सैद्धान्तिक आधारहरु ः
समृद्धिका मोडलहरु मध्ये एउटा टप टु बटम मोडल हो भने अर्को बटम टु टप मोडल हुन्छ । अहिले हामीले बहस गर्ने मोडल टप टु बटम मोडल हो । सिङगापुरका लिक्वान यूले यही मोडललई अपनाएर आफ्नो छिमेकी मुलुक इन्डोनेसिया र मलेशियालाई पछि पारेका थिए । उनले विहानै उठेर गाउँभरि हल्ला गर्ने कुखुराले एउटा अण्डा दिन्छ तर चूपचाप रहने कछुवाले एकै दिनमा सय अण्डा दिन्छ भन्दै हामीले कछुवाको गति त हैन, उत्पादन दिने योजना रोज्नु पर्छ भन्थे । विश्वका धेरैजसो मुलुकहरु टप टु मोडलबाट प्रभावित छन् । बुटवल मोडल बुटवलको विशिष्टतामा लागू हुने टप टु मोडल मोडल हो । यसको प्रभाव समतलीय समाज निर्माणमा नै उपयोगी हुनेछ ।
टप टु मोडलको थप स्पटीकरणः
गुणाङकीय प्रभाव (मल्टिपल इफेक्ट) का आधारमा गति दिने ठूला ठूला परियोजनाहरु र त्यसले आफैआफ् खोज्ने सहयोगी संरचनाहरु टप टु बटम मोडल हो । मानौं एयरपोर्टको संरचनानिर्माण र सञ्चालनपछि त्यसले पार्ने गुणात्मक प्रभाव टपटु मोडल हो । टपमा एयरपोर्ट रहन्छ भने त्यसले खोज्ने सहयोगी संरचनाहरु बटम हो । एयरपोर्ट बनेपछि आवागमनको क्रममा आवश्यक पर्ने गाइडहरु, टेक्सी टेम्पोहरु, पाँच तारे होटलदेखि रेष्टुरेन्टसम्मका सेवाहरु, त्यहाँ पुग्ने सडक, पुलहरु, पर्यटकहरु मनोरन्जन गर्ने पार्कहरु, संग्राहलयहरु एयरपोर्टको सपोर्टमा आउन थाल्छन् । टपले निम्त्याएका संरचनाहरुले नै प्रचूर रोजगार दिन्छ । त्यहाँ निजी क्षेत्र प्रेरित भएर आपसेआफ आउँछ । सरकारले सबै पूर्वाधारमा लगानी गर्नुपर्दैन । सरकारले नीति निर्माण गरे पुग्छ ।
अझ हाम्रो मुलुकमा संघीय सरकारले ठूला परियोजना निर्माण गर्ने प्रदेश सरकार र स्थानीय सरकारले ठूला परियोजनाको सपोर्टमा आउने संरचनामा लगानी गर्ने हो भने छिटो विकास हुन्छ । यसबाट मुलुकमा रोजगारका अवसरहरु प्रशस्त प्राप्त हुन्छ ।औद्योगिक क्षेत्रमा पनि त्यसले खोज्ने आयात निर्यातलाई सहज हुने पक्की सडक, विद्युत, खानेपानी प्रदेश तथा स्थानीय सरकारले गर्नुपर्छ । यी सबै प्रत्ययवादी संरचना हुन् ।
सैद्धान्तिक पुष्ट्याइँमा प्रत्ययवादी सिद्धान्त ः
समृद्धिमा टप टु मोडल सिद्धान्तलाई प्रत्ययवादी सिद्धान्तको रुपमा मान्ने गरिन्छ । शब्दमा मूल शब्द उपसर्ग र परसर्ग हुन्छन् । उदाहरणको लागि संरचना शब्दको मूल शब्द रच् हो । रच् मूलधातुमा सं उपसर्ग र अन+आ परसर्ग जोडिन आउँछ । त्यसबाट संरचना शब्द बन्छ । पारिश्रमिक, संवरण, वैज्ञानिक, विधायक, विधेयक, विनियोजन, विभिषिका, आदि शब्दहरु प्रकृति प्रत्यबाट बन्छन् । यसलाई अङग्रेजीमा बेसवर्ड प्रिफेक्स, सफेक्स भनिन्छ । यो आर्थिक मोडलको सैद्धान्तिक खाका स्पष्ट पार्नसजिलो हुन्छ ।
मानौं एयरपोर्ट बेसवर्ड हो । त्यसले पार्ने गुणाङकीय प्रभाव प्रिफेक्स सफेक्स हो । ठूला परियोजनाहरु आफैमा समृद्धि नभई पूर्वाधार मात्र हुन् । पूर्वाधार वेश हो । बेसको प्रभावबाट सरकारको लगानी र निजी क्षेत्रबाट स्वतः स्फूर्त उत्पन्न हुन आउने सेवामूलक संरचनाहरु र क्रियाकलापहरु प्रत्यय हुन् । यो रोजगार सिर्जनाको लागि यो मोडल निकै उपयोगी हुन्छ । कृषि क्षेत्रमाठूलो पैमानमा उत्पादन हुने निजी, राजकीय, सामुदायिक फार्मिङ्ग सिष्टम खोज्छ । त्यसले खोज्ने सहयोगी संरचना र रोजगारी सिर्जना प्रत्यय हो ।
बुटवल मोडलका बहुआयामिक योजनाहरु ः
बुटवल मोडल प्रत्ययवादी सिद्धान्तबाट बनेको छ । मुल्ुककै अर्थतन्त्रको सुधारको लागि बुटवल मोडल नमुना मोडल हुन सक्छ । विष्णु पौडेलका स्वप्नशील बुटवलमोडलको खाका बनाउनको लागि हामीले यस गोष्ठीको आयोजना गरेका हौं । वास्तवमा यो निर्वाचन क्षेत्रऔद्योगिक तथा पर्यटकीय सहर हुने लक्ष्यका साथ अघि बढेको छ ।यसले लाखौं जनतालाई यही नै रोजगार तथा स्वरोजगार दिने देखिन्छ । यसलाई नेपालकै समृद्धिको लागि लागू गर्न सकिन्छ ।
निजी क्षेत्रबाट निर्माणधीन वसन्तपुर र नुवाकोटमा बन्ने दुईकेबुलकार परियोजना सैद्धान्तिक रुपमा भन्दा आधार पद हुन् । त्यसको प्रभावमा बन्ने होटल मोटल, पार्क, संग्राहलय, गाइडलगायतका संरचना र क्रियाकलापहरु प्रत्यय बनेर आउँछन् । यही नै प्रत्यवादको उदाहरुण हो ।
त्यसरी नै तिनाउ नदीमा सिङनेचर ब्रिज बनिरहेको छ । उक्त पुलमा विश्वकै पहिलो नमुना पुल बन्ने क्रममा छ । सिङ्नेचर ब्रिजको आसपासमा प्रत्ययको रुपमा जितगढी किल्ला, युद्धसंग्राहलय, फुलबारी आदि संरचनाहरु बनिसकेका छन् । यसको आसपासमा रातीमा पनि रङगी विरङगी विद्युतीय झिलिमिलीले बुटवललाई पर्यटकीय राजधानी बनाउने छ । त्यहाँ आसपासमा लाखौ मानिस पर्यटन गर्न आउनेछन् ।
त्यहाँबाट पश्चिमतिर लाग्ने महेन्द्रराजमार्ग ६ लेनको सडक बन्ने क्रममा छ । यो छ लेनको सडक बनेपछि हामीलाई प्रदेश राजधानी भालुवाङ्ग जान एकघण्टा काफी हुनेछ । उता स्वर्गद्वारी तथा सुपा देउरालीमा पर्यटकको घुइँचो लाग्ने छ । कपिलवस्तु साँस्कृतिक राजधानी भएकोले त्यहाँ पनि पर्यटकहरु जानेछन् । यो पूर्वाधार बेश हो । यसले स्वतस्फूर्त ल्याउने पर्यटकहरु र पर्यटकहरुलाई आवश्यक पर्ने सेवामूलक संरचना र कृयाकलापहरु प्रत्ययवादको सैद्धान्तिक आधार हो ।
तिनाउ नदीमा बन्ने सिङनेचर ब्रिजभन्दा उभोको भागमा ड्याम बाँधेर सिद्धबाबासम्म पानी फर्काएर स्टिमर चलाउने सपना पनि पूरा हुन सक्छ । त्यही स्टिमरबाट सिद्धबाबामा जान, बसन्तपुर पुग्न, रामापिथेकस पार्क हेर्न सुरुङ्गमार्गहुँदै पोखरा, पाल्पा, रेसुङगातिर जान पनि सहयोग पुग्छ ।पश्चिम जितगढी बेल्बासतिर पनि प्याराग्लाइडिङ्ग चल्नेछ । पिस पार्क, वाटर पार्क भैरव पार्क, पाणिनि पार्क,फुलबारी, रामापिथेकस पार्क, लक्ष्मीपार्क हिलपार्क, बुटवलभ्यू पार्कजियोलोजिकल पार्कले पनि धेरै ठूलो फड्को मार्नेछन् । ठूला परियोजनाले निम्त्याउने उपभोक्ता, कारोवार र पर्यटकहरुले ठूलो रोगजगारी सिर्जना गर्छ । त्यसैले लगानी गर्ने परियोजनाहरु प्रत्ययवादी सिद्धान्त अनुसार बहुआयामिक हुनुपर्छ ।
बेल्बास बेथरी सडक खण्ड लगभग सत्तरी प्रतिशत काम भइसकेको छ । त्यो यति सुन्दर योजना होकि त्यसले बुटवल पश्चिमका मानिसहरुलाई एयरपोर्ट र लुम्बिनीसँग जोड्छ । बीचमा निलो नहर किनारामा ग्रिनरी एरिया, दुबैतिर दुईलेनको सडक,पेटी, नालीले यो बाटाबाट हामीलाई हिंड्न निकै सुगम र सहज हुनेछ । यो सडक किनारामा पनि विभिन्न व्यवसायहरु खुल्नेछन् । मोतीपुर औद्योगिक क्यारीडोरले बुटवललाई औद्योगिक राजधानीको रुपमा चिनाउने छ । यसको गुणाङकीय प्रभाव रोजगारीमै पर्नेछ । यसलाइ गति दिन सक्नुपर्छ ।
तिनाउ दानव करिडोर नदी कटानबाट मानववस्तीलाई जोगाउने योजना हो । दुबै किनारामा बलियो वाल, चेकड्याम, दुबैतिर दुई दुई लेनको सडक फुटपाथले यो योजनालाई निकै उपयोगी मानिएको छ । यो योजना शुरु भईसकेको छ । यसको मल्टिपल इफेक्ट राम्रो पर्नेछ । यसले हजाराँै रोजगार थप्नेछ । आगामी १० वर्षमा १० लाख रोजगारी प्रदान गर्ने गरी बुटवल मोडलको तयारी हुनुपर्छ ।बुटवल नारायणघाट सडक खण्ड बनेपछि त्यसको किनारी भाग बजारीकरण हुनेछ । यसले लाखौ मान्छेलाई रोजगारी र स्वरोजगारीमा तान्छ । ठूला परियोजनाले प्रभाव ठूलो हुन्छ ।
उता अन्तरराष्ट्रिय सभाहलको उद्घाटन भई सकेको छ । प्रदर्शनी केन्द्रको पनि काम पूरा हुन थालेको छ । सभाहलले हाललाई भन्दा पछिलाई प्रभाव पार्न सक्छ । औद्योगिक तथा व्यापारिक प्रदर्शनीकेन्द्र राम्रोसँग चल्नेछ । उता भैरहवाको एयरपोर्ट र सिद्धार्थ हाईवेले पनि बुटवलका अपार सम्भावनालाई सार्थक पर्ने देखिन्छ । यी योजनाहरुको गुणत्मक प्रभाव देखिन थालेको छ । अबको दश वर्षमा बुटवलले मुलुकलाई एउटा राम्रो सन्देश दिने छ । यो नेपालको आश्चर्य लाग्दो सुविधा सम्पन्न सहर बन्नेछ ।
सिद्धार्थ हाइवेले अब पोखरा पुग्न सहज बनाउने छ । पर्यटकहरु बुटवल हेरेर सिधै पोखरातिर लाग्छन् । यी योजनाहरु निकै ठूला भएको हुनाले गुणाङकीय प्रभाव (मल्टीपल इफेक्ट) पार्नेछ । बुटवल मात्र हैन, सिङगो रुपन्देहीरोजगारमय हुनेछ । अबको दश वर्षमा यसले काठमाण्डौको अर्थतन्त्रलाई जित्ने सम्भावना छ । त्यसैले पनि होला रुपन्देहीमा लगानीकर्ताहरुको आकर्षण बढेको छ । अब दश वर्षमा बुटवल मोडलले वैदेशिक रोजगारमा जानेहरुको संख्या घटाउनेछ ।
बुटवल र आसपासमा अबको २० वर्षमा ४० लाख जनसंख्या पुग्ने अनुमान गरिएको छ । त्यसैकारण अहिले देखिनै कालीगण्डकी डाइभर्सनको सम्भाव्यता अध्ययन तथा डिपिआर बनाउने विषयमा केही काम हुँदैछ । यी सबै योजनाहरु निर्माण पूरा भएपछि बुटवलको अर्थतन्त्र निकै चलायमान हुन्छ । दशौंलाखले रोजगार स्वरोजगार पाउनेछन् । यी बाहेक अरु थुप्रै आयोजनाहरु छन् । जसले बुटवललाई सुगम,हराभरा र सुन्दर सहर बनाउँदैछन् । हामीले देख्ने बुटवल शहर विचित्रको हुनेछ । सहरमा सौन्दर्यीकरण गरी भव्य र दिव्य बनाउनु पर्छ ।
अन्त्यमा ः
बुटवल मोडल आर्थिक समृद्धिमा गति ल्याउने निजी क्षेत्रको अन्तः प्रेरणालाई प्रोत्साहन गर्ने प्रभावकारी मोडल हो । यो मोडल निजी सहकारी र राजकीय धारहरुलाई एउटै मूलधारमा ल्याएर तीव्र समृद्धिका जाने मोडल हो । ठूला पूर्वाधार सरकारले बनाउँछ भने त्यसको गुणङकीय प्रभाव (मल्टिपल इफेक्ट)मा प्रत्यय रुपमाआउने निजी क्षेत्र,प्रदेश, स्थानीय तहले निर्माण गरी पूर्णता दिन सघाउनु पर्छ ।
–बुटवलमा आयोजित एक कार्यक्रममा लेखक तथा विश्लेषक ऋषि आजादले प्रस्तुत गर्नुभएको बुटवल मोडल शीर्षकको कार्यपत्र/लुम्बिनी टाइम्सबाट