ई-पालिकाको पहिलो भर्जन सार्वजनिक


नेपालगन्ज : स्थानीय तहलाई डिजिटल बनाउनु पर्छ भन्ने अभियानमा लागेको निन्जा इन्फोसिस प्रालीले ई-पालिकाको पहिलो भर्जन लन्च गरेको छ ।

निन्जा इन्फोसिस प्रालीले लामोसमयसम्म अध्यन र अनुसन्धान गरि ई-पालिकाको पहिलो भर्जन आइतबार लन्च गरेको हो ।

ई-पालिकाको पहिलो भर्जन लन्च गर्दै कम्पनीका अध्यक्ष रमेश क्षेत्रीले कम्पनीले ४ वर्षको अनुसन्धान पछी ई-पालिकाको पहिलो भर्जन लन्च गरेको बताएका छन ।क्षेत्रीले पालिकाहरुलाई पेपरलेस प्रविधिमा जान पहिलो खुट्किलो को रुपमा ई-पालिका सत प्रतिशत सहयोगी हुने बताएका छन् ।

उक्त प्रणालीबाट सेवाग्राहीलाई घरमै बसी पालिकाले दिने सेवा, आवश्यक कागजात र लाग्ने समय सम्बन्धित व्यक्तिसहितको बिवरण उक्त प्रणालीबाट देख्न सकिने कम्पनीले दाबी गरेको छ ।

त्यस्तै ई-पालिका सफ्टवेयर भित्रै पर्ने ‘डिजिटल नागरिक वडापत्र’ पनि मोबाइलमा हेर्न सकिने कम्पनीले बताएको छ ।

निन्जा इन्फोसिस प्रालीले लन्च गरेको ई-पालिकाले सेवाग्राहीलाई सहज र कार्यालयलाई दिर्घकालिन अभिलेख राख्न सहज हुने कम्पनीका प्रबन्ध निर्देशक सगर देवकोटाले बताएका छन् ।

कम्पनीका अनुसार अब पालिकामा सेवा लिदा सेवाग्राहीले सहज महसुस गर्न सक्ने र घरमै मोबाईल एपमार्फत सबै आवश्यक कागजात, प्रक्रिया थाहा पाउन सकिने जसले गर्दा समयको बचत हुने दाबी गरेको छ भने सम्बन्धित पालिकासंग सिधा गुनासो दिन र कर्मचारीसंग कुरा गर्न पनि सक्ने कम्पनीले दाबी गरेको छ ।

आइतबार मात्रै लन्च गरेको ई-पालिकाको प्रहिलो भर्जनको बारेमा बताउदै कम्पनीका प्राविधिक शाखा प्रमुख (CTO) शिशिर राईले ई-पालिकाको तेस्रो भर्जनमा जादा स्थानीय तह पुर्णतया पेपरलेस र डिजिटल हुने बताएका छन् ।

राइले भने, ‘हामीले पहिलो भर्जनमा कार्यपालिका, प्रशासन र वडाबाट प्रदान हुने सेवाहरु राखेका छौ, बाँकी दोस्रो र तेस्रो भर्जनमा पुरा पालिकालाइ डिजिटल बनाउने योजना रहेको छ ।’

प्रकाशित मितिः     १० आश्विन २०७९, सोमबार १४:१६  |