शर्मिला न्याैपाने/क्यापिटल नेपालबाट
काठमाडौं। राष्ट्रिय गौरवको भेरी बबई डाभर्सन बहुउद्देश्यीय आयोजना निर्माणको म्याद दुई वर्ष थप्नुपर्ने भएको छ।
चालू आर्थिक वर्षसम्म म्याद रहे पनि निर्माणको काम पूरा नभएपछि दुई वर्ष म्याद थप गर्नुपर्ने आयोजनाले जनाएको हो।
आयोजना कार्यालय २०६८ भदौमा स्थापना भए पनि निर्माण सुरुवात भने २०७०/७१ बाट भएको थियो। निर्माण सुरु गर्दा २०७९/८० मा आयोजना सम्पन्न गर्ने उल्लेख थियो।
तर, आयोजना निर्माण ठेक्का सम्झौता समयमा हुन नसक्दा निर्माण कार्यको म्याद दुई वर्ष थप गर्नुपर्ने आयोजनाका सूचना अधिकारी एवं सिनियर डिभिजनल इन्जिजियर (सिडिई) लेखनाथ सुवेदी बताउँछन्।
उनका अनुसार हालसम्म म्याद थप प्रक्रिया अगाडि बढाइएको छैन। आगामी चैततिर म्याद थप प्रक्रिया अगाडि बढाउने योजना आयोजनाको छ।
‘हामीले पछिल्लो समयमा लगाएका ठेक्काहरूका म्याद नै दुई वर्ष पछिसम्मको छ, त्यसैले थप हुने म्याद पनि त्यसरी नै जान्छ,’ एकैपटक दुई वर्ष म्याद थप गर्नुपर्ने कारणबारे सिडिई सुवेदीले क्यापिटल नेपालसँग भने, ‘अब थप हुने म्यादमा भने आयोजना निर्माण कार्य सम्पन्न हुनसक्छ।’
दुई वर्ष म्याद थपिएपछि चालू आर्थिक वर्षसहित आयोजनासँग तीन वर्ष निर्माणको म्याद रहने भएकाले काम गर्न सहज हुने उनको भनाइ छ। ‘अहिलेदेखि हिसाब गर्दा अझै करिब तीन वर्ष समय छ, निर्माण कार्य सम्पन्न गर्न सकिन्छ,’ उनले भने।
भदौ मसान्तसम्म आयोजनाको भौतिक प्रगति ५७।६ प्रतिशत भएको छ। कूल लागत अनुमान ३६ अर्ब ८० करोड ७७ लाख रुपैयाँ छ। जसमध्ये २०७९ असार मसान्तसम्म १५ अर्ब ४३ करोड ७ लाख रुपैयाँ अर्थात ४१।९२ प्रतिशत खर्च भएको छ।
चालू आर्थिक वर्षका लागि २ अर्ब २७ करोड ७८ लाख बजेट छ। निर्माण कार्यमा बाधा नभए चालू आर्थिक वर्ष थप बजेट माग गर्नुपर्ने आयोजनाले जनाएको छ। वर्षातको समयमा काम गर्न समस्या हुने र यो वर्ष मंसिरमा चुनाव परेका कारण आयोजना निर्माण कार्य पूर्णरूपले चार महिनामात्रै गर्न सकिने सिडिई सुवेदीको भनाइ छ।
विद्युतको काम ४१ प्रतिशतमात्रै
भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाले जमिनमा सिँचाइमात्रै गर्ने नभई विद्युत पनि उत्पादन गर्ने लक्ष्य लिएको छ। आयोजनाबाट ४६ मेगावट विद्युत उत्पादन हुनेछ।
जसको काम हालसम्म ४१ प्रतिशत भएको सिडिई सुवेदी बताउँछन्। आयोजनाका अनुसार समग्र आयोजना निर्माण सम्पन्न हुँदा विद्युतको काम पनि पूरा हुनेछ।
आयोजनाबाट सुर्खेत, बाँके र बर्दिया जिल्लाका ५१ हजार हेक्टर जमिनमा बाह्रै महिना सिँचाइ पुग्ने छ। आयोजना पूरा भएपछि बाह्रै महिना सिँचाइ उपलब्ध हुने भएकाले कृषि उत्पादन बढ्ने अपेक्षा छ।
कृषि उत्पादन बढ्दा वार्षिक ३ अर्ब १० करोड रुपैयाँ अप्रत्यक्ष र विद्युतबाट ४ अर्ब ३ करोड रुपैयाँ ९१०।५० रुपैयाँ प्रतियुनिटका दरमा० प्रत्यक्ष गरी वार्षिक ७ अर्ब १३ करोड रुपैयाँ फाइदा हुने अनुमान छ।
आयोजनामा नेपालमै पहिलोपटक सुरुङ खन्न ‘टनेल बोरिङ मेसिन’ ९टिबिएम० प्रयोग गरिएको थियो। टिबिएम प्रयोग सफल पनि मानिएको छ। आयोजनाको सुरुङ १२।२ किलोमिटर लामो र ४।२ मिटर गोलाइको छ।
भेरी बबईमा टिबिएम मेसिन प्रयोग सफल भएपछि राष्ट्रिय गौरवकै सुनकोसी मरिण डाइभर्सन आयोजनाको सुरुङ खन्न पनि सोही मेसिन प्रयोग गर्न लागिएको छ।
सुरुङमार्फत भेरी नदीको पानी प्रतिसेकेन्ड ४० घनमिटरले बबई नदीमा खसाल्ने तयारी छ। सुरुङ खन्ने काम चाइना इन्जिनियरिङ कम्पनी ९कोभेक० ले १० अर्ब ५६ करोड ९७ लाख ३२ हजार रुपैयाँमा २०७७÷७८ को प्रथम चौमासिकमा सम्पन्न गरिसकेको आयोजनाले जनाएको छ।
आयोजनाले सुर्खेत भेरीगंगा नगरपालिका चिप्लेस्थित भेरी नदीमा करिब १ सय १४ मिटर लामो ब्यारेजसहित ‘डिसेन्डिङ बेसिन’ र ‘टनेल पोर्टल’ निर्माण गर्ने छ।
नेपालमा सिँचाइ विभागबाट पहिलोपटक एउटा नदीको पानी अर्को नदीमा खसाल्ने ९नदी पथान्तरण० बहुउद्देश्यीय आयोजनाका रूपमा भेरी बबई डाइभर्सन सञ्चालन भएको हो।