कर्णालीकाे ‘भिआइपी’ चुनावक्षेत्रमा फेरि खड्का र शाहीबीच प्रतिस्पर्धा


सुर्खेत- कर्णाली प्रदेशको राजधानी  समेत रहेको सुर्खेत जिल्लामा मसिंर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा केन्द्रित भएर दलहरुले सुर्खेतमा चुनावी सक्रियता वढाएका छन् ।

सुर्खेत क्षेत्र नम्बर १ मा प्रतिनिधिसभाका लागि कांगे्रसबाट केन्द्रीय उपसभापति पूर्णबहादुर खड्का र एमालेबाट निवर्तमान प्रतिनिधिसभा सदस्य धु्रवकुमार शाही उम्मेदवार बनेका छन । यसलाई कर्णालीकै भिआइपी चुनावी क्षेत्र समेत मानिन्छ ।

दुई वटा निर्वाचन क्षेत्र रहेको सुर्खेत जिल्लामा क्षेत्र नं १ लाई विषेश रुपमा हेर्न थालिएको छ । किनभने यो निर्वाचन क्षेत्र नेपाली काँग्रेसका प्रभावशाली नेता केन्द्रिय उपसभापतिको निर्वाचन क्षेत्र पनि हो ।
उपसभापति खड्काले यहि निर्वाचन क्षेत्रवाट २०४८, २०५१, र २०५६ मा गरी ह्याट्रिक गरिसकेका छन् । २०६४ सालको संविधानसभा निर्वाचनमा नेपाली काग्रेसका तर्फवाट लालबहादुर घले प्रतिस्पर्धामा उत्रिदा नेकपा एमालेकी कमला शर्मा जिययी वनेकी थिईन् ।

काग्रेसवाट उमेद्वार वनेका घले पराजित हुदाँ उपसभापति खड्का समानुपातिक सांसद बनेका थिए । २०७० सालको संविधानसभा निर्वाचनमा कमब्याक गदै निर्वाचित वनेका खड्का २०७४ को निर्वाचनमा तत्कालीन वाम गठबन्धन नेकपा एमालेका उम्मेदवार ध्रुवकुमार शाहीसँग पराजित भएका थिए ।

०७४ मा वाम गठबन्धनबाट उम्मेदवार बनेका एमाले नेता शाहीले ३६ हजार ७५९ मत ल्याएर विजयी हुँदा खड्काले ३३ हजार ३७७ मत प्राप्त गरेका थिए । पाँच वर्ष अघि ३ हजार ३८२ मतले पराजित भएका खड्का यसपटक आफ्नो विरासत फर्काउने उदेश्य सहित सत्ता गठवन्धनवाट उमेद्वार वनेका छन् ।

आसन्न निर्वाचनमा वाम लोकतान्त्रिक गठबन्धन एकातिर र एमाले अर्कोतिर हुँदा खड्का–शाहीबीचको चुनावी भिडन्त रोचक हुने देखिन्छ ।

२०७४ सालमा पराजित वनेका उपसभापति खड्काको निवार्चन क्षेत्रमा स्थानीय तहको निर्वाचनमा वडामा दलले प्राप्त गरेको मतलाई हेर्ने हो भने अंकगणित खड्काको पक्षमा मजवुद देखिएको छ । सुर्खेत क्षेत्र नम्वर १ मा सिम्ता गाउँपालिका, गुर्भाकोट नगरपालिका, भेरीगंगा नगरपालिका, चिङगाड गाउँपालिका, लेकबेँशी नगरपालिका, वीरेन्द्रनगर नगरपालिकाको १५ नम्वर र १६ नम्वर वडाको भूगोल समेटिएको छ ।

स्थानीय तहको वडाको मतलाई आधार मान्ने हो भने यो क्षेत्रमा कांग्रेस नै पहिलो शक्ति देखिन्छ । गत स्थानिय निर्वाचनमा कांग्रेसले ३६ हजार ९२८ मत प्राप्त गरेको थियो । वडाध्यक्षले पाएको मत हेर्दा एमाले दोस्रो स्थानमा छ । उसले ३४ हजार ८४३ मत प्राप्त गरेको छ । माओवादीले ५ हजार ७५ मत, राप्रपाले ६६४ मत प्राप्त गर्दा नेकपा एसले ६३४ मत प्राप्त गरेको थियो ।

यसरी हेर्दा कांग्रेससँगै माओवादी र नेकपा एसको मत जोड्दा खड्काको पक्षमा ४२ हजार ६३७ मत देखिन्छ । जुन एमालेको मत भन्दा ७ हजार ७९४ बढी हुन आउछ ।
दुइ पटक गृहमन्त्री भइसकेका खड्का युवा तथा खेलकुद मन्त्री, संचार मन्त्री, युवा तथा खेलकुद मन्त्री र उद्योग वाणिज्य मन्त्री समेत भइ राज्य संचालनको अनुभव हासिल गरिसकेका छन ।

पार्टिको केन्द्रिय सदस्य , सहमहामन्त्री , महामन्त्री हुदै खड्का  उपसभापति बनेका थिए । एमाले नेता शाहीले आफ्नो कार्यकालमा विकास गरेका कारण जनताले गठबन्धनकाे विकल्पमा आफुलाई मत दिने बताउछन् ।

 

प्रकाशित मितिः     २५ आश्विन २०७९, मंगलवार १०:००  |