नेपालका लागि भारतीय राजदुतद्वारा नेपालगन्ज आइसिपीकाे स्थलगत अनुगमन


तस्वीर :- भारतीय दुतावास

नेपालगन्ज – नेपालका लागि भारतका  राजदुत नविन श्रीवास्तवले जमुनाह-रुपैडियामा निर्माण भइरहेकाे नेपालगन्जमा एकीकृत भन्सार जाँच चौकी (आइसिपी) काे निरीक्षण गर्दै कामकाे प्रगतिको जानकारी लिनुभएको छ ।

साेमबार नेपालगन्ज हुँद रुपैडिया पुग्नु भएका राजदुत श्रीबास्तवले निरिक्षण पछि आइसिपीकाे कामका ढिलाई नगर्न त्यहाँका कर्मचारीलाई निर्देशन दिनुभयो ।

जग्गा अधिग्रहणको १५ वर्षपछि निर्माण सुरु भएको नेपालगन्जमा एकीकृत भन्सार जाँच चौकी (आइसिपी)ले रफ्तार समातेको छ । भारत सरकारले ठेक्कामार्फत काम थालेपछि निर्माणले गति लिएको हाे ।

८७ बिघा क्षेत्रफल ओगट्ने आइसिपी निर्माणका लागि सरकारले ०६६/६७ मै नौ करोड ३९ लाख रुपैयाँ मुआब्जा दिएर जमिन अधिग्रहण गरेको थियो । तर, लामो समयसम्म निर्माण कार्य अघि बढ्न सकेको थिएन । जमिन अधिग्रहण भएको १५ वर्ष हुन लाग्दा पनि निर्माणको काम सुरु हुन नसक्दा आशा मरिसकेको थियो ।  २६ फेब्रुअरी ०२१ देखि निर्माणको काम सुरु भएको हाे । करिव ६०% काम भएको छ ।

सरकारको एक अर्ब ४७ करोड भारतीय रुपैयाँ अर्थात् दुई अर्ब ३५ करोड नेपाली रुपैयाँ आर्थिक सहयोगमा आइसिपी निर्माण भइरहेको छ ।

भारत सरकारले ९ जुन २०२२ मा निर्माण सक्ने गरी सम्झौता गरिएको भए पनि काेभिडका कारण समय एक बर्ष लम्बिएको छ । निर्माण गर्नुपर्ने संरचना त धेरै छन्, तर कामको रफ्तार राम्रो देखिएकाले समयमा सम्पन्न हुने देखिन्छ । भारत सरकारले नेपालको विराटनगर, वीरगन्ज, भैरहवा र नेपालगन्जमा आइसिपी निर्माण गरिदिने प्रतिबद्धतासहित सन् २००५ मा दुई देशका अधिकारीले एमओयूमा हस्ताक्षर गरेका थिए । विराटनगर र वीरगन्जको निर्माण पूरा भई सरकारले स्वामित्व ग्रहण गरिसकेको छ ।

प्रकाशित मितिः     २ कार्तिक २०७९, बुधबार १५:५९  |