- रजनी योगी
सुर्खेत: राष्ट्रिय खेलकुद प्रतियोगिताको आगामी संस्करण कर्णालीमा हुने भएपछि धमाधम खेल पूर्वाधारको निर्माण थालिएको छ । कर्णालीमा दुई वर्षपछि ‐२०८१) मा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैछ । त्यसका लागि आवश्यक पूर्वाधारको तयारीमा सरोकारवालाहरू जुटेका छन् ।
यसअघि ठूला खेलकुद प्रतियोगिता सञ्चालन नगरेको कर्णालीलाई राष्ट्रियस्तरको प्रतियोगिता सञ्चालन तथा व्यवस्थापनमा भने निकै चुनौती हुने देखिएको छ । प्रतियोगिता व्यवस्थित रूपमा सञ्चालन गर्नेगरि योजना बनाएर पूर्वाधार निर्माणको कामलाई तीव्रता दिइएको कर्णाली खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वामित्र सञ्ज्याल बताउँछन् । उनका अनुसार राष्ट्रिय प्रतियोगिताका लागि मुख्य खेल मैदानका रूपमा हेरिएको वीरेन्द्रनगरस्थित प्रदेश रंगशाला निर्माणको काम हालसम्म २५ प्रतिशत सम्पन्न भएको छ ।
प्रदेश रंगशालामा मात्रै १४ प्रकारका खेल सञ्चालन गर्ने तयारी छ । निर्माणाधीन प्रदेश गौरवको उक्त रंगशालामा फुटबल मैदान, भलिबल कभर्डहल, एथलेटिक्स ट्रयाक र स्विमिङ पुल निर्माणका काम भइरहेका छन् । त्यस्तै, भीआईपी प्याराफिटको दुईतले भवन, खेलाडीको चेन्जिङ कोठा, शौचालय, सावर, मिक्स जोन, मिडिया रुम, पार्किङ र स्विमिङ पुलसहित १५ सय दर्शक अट्ने बहुउद्देश्यीय कभर्डहल निर्माण हुने परिषद्ले जनाएको छ । प्रदेश रंगशालामै ह्यान्डबल र बास्केट बललगायत खेलका आउटडोर पनि बनाइनेछ । योसहित अन्य स्थानहरूमा पनि प्रतियोगिता सञ्चालन गर्न सकिने क्षमताका पूर्वाधार निर्माण भइरहेका छन् । कर्णाली सरकार र परिषद्ले खेल पूर्वाधारलाई उच्च प्राथमिकतामा राखेर अनुगमन तथा समन्वय गरिरहेको सञ्ज्यालले बताए । ‘राष्ट्रिय प्रतियोगिताको आयोजक बन्न पाउनु कर्णालीका लागि ठूलो अवसर हो,’ उनले भने, ‘खासगरी हामीलाई पूर्वाधार निर्माणको चुनौती छ, ती कामहरू तीव्रताका साथ भइरहेका छन् ।’ निर्माण थालिएका सबै संरचना प्रतियोगिता हुनुअगावै पूर्णरूपमा तयारी अवस्थामा राखिनेछ सञ्ज्यालले बताए । प्रदेश सरकारले समेत पूर्वाधार निर्माण कार्यलाई महŒवका साथ हेरेको छ । सरकारले प्रदेश रंगशाला निर्माणको कामलाई प्रत्येक दुई सातामा अनुगमन गर्दै आएको हो ।
परिषद्का अनुसार सुर्खेतबाहेक कर्णालीका दैलेख, कालीकोट, जुम्ला र रूकुमपश्चिममा भएका कभर्डहलहरूको स्तरोन्नति पनि सुरु गरेको छ । राष्ट्रिय खेलकुद प्रतियोगितामा केही खेलहरू वीरेन्द्रनगर बाहिर पनि सञ्चालन गर्ने योजनामा परिषद्को छ । सोहीअनुसार ती जिल्लाहरूमा पनि खेल पूर्वाधारको स्तरोन्नतिमा जोड दिइएको छ । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका खेल दैलेख, कालीकोट, जुम्ला, हुम्ला, मुगु र रूकुुमपश्चिममा समेत सञ्चालन हुनेछन् । राष्ट्रिय प्रतियोगितामा कुनै कमी कमजोरी नहुनेगरि पूर्वाधारको जोहो गर्न सुरु गरिएको परिषद्ले जनाएको छ । प्रतियोगिता अन्तर्गत हुम्लामा हक्की खेल सञ्चालन गरिनेछ । त्यस्तै, मुुगुुमा साइकलिङ म्याराथुुन खेलको प्रतियोगिता सञ्चालन गर्ने योजना छ । कालीकोट र दैलेखमा भलिबल खेल सञ्चालन गर्न पूर्वाधार तयारीमा परिषद् जुटेको छ । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि वैकल्पिक खेल मैदानको प्रयोग गर्ने योजना बनाइएको छ । जसका लागि नौ÷दश वटा विद्यालयका खेलमैदानको खोजी भइरहेको छ । ती मैदानहरूलाई विकल्पको रूपमा राखिने छ । वैकल्पिक मैदानहरूमा खेल तालिका अनुुसार प्रयोगात्मक खेलहरू हुनेछन् ।
प्रदेशमै पहिलो पटक राष्ट्रियस्तरको प्रतियोगिता सञ्चालन गर्नुपर्ने भएपछि कर्णालीलाई अनुुभवको पनि अभाव छ । भौगोलिक विकटताले गर्दा सबै जिल्लामा खेल सञ्चालन गर्न सहज छैन । पूर्वाधार निर्माणका लागि योजनागत रूपमा काम अघि बढाइए पनि निर्माण समयमै सम्पन्न गर्नुपर्ने चुनौतीहरू छन् । यद्यपि, परिषद्ले पूर्वाधारको अभावकै कारणले खेलकुद प्रतियोगिता नरोकिने जनाएको छ । प्रतियोगिता अवलोकन गर्न आउने अतिथि तथा दर्शकका लागि आवासलगायतका व्यवस्थापनमा समेत कमी हुन नदिनेगरि कामहरू अघि बढेको जनाइएको छ ।
ठाउँ–ठाउँमा रंगशाला
राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरी विभिन्न स्थानमा रंगशालाहरू निर्माण थालिएको छ । जसअन्तर्गत वीरेन्द्रनगर–५ को चिसापानीमा खेलमैदान निर्माण हुँदैछ । शिक्षा विकास निर्देशनालयले त्यहाँ खेल मैदान निर्माण गर्ने भएको हो । कर्णाली खेलकुद विकास परिषद्सँग समन्वय गरेर निर्माणको काम अघि बढाइने निर्देशनालयका इन्जिनियर सन्तोष थापाले बताए । उनका अनुसार सो खेल मैदानको विस्तृत परियोजना प्रतिवेदन ‐डीपीआर) भने निर्माण गर्न बाँकी छ । निर्माणाधीन यो रंशालामा गत आर्थिक वर्षमा निर्देशनालयले फिल्ड लेभलिङको लागि दश लाख बजेट उपलब्ध गराएको थियो । चालु आर्थिक वर्षमा खेल मैदानका अन्य संरचनाहरू निर्माण गरिने जनाइएको छ । त्यसका लागि चालुु आर्थिक वर्षमा निर्देशनालयले ५० लाख बजेट विनियोजन गरेको छ ।
यस्तै, पश्चिम सुर्खेतको पञ्चपुुरी नगरपालिका–६ मा वीपी रंगशाला खेलमैदान निर्माण गरिने भएको छ । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई मध्यनजर गरेर खेल मैदान बनाउन लागिएको हो । यसमा पनि निर्देशनालयको आर्थिक सहयोग रहेको छ । त्यहाँ पनि गएको आर्थिक वर्षमा फिल्ड लेवलिङको काम सम्पन्न भइसकेको छ । यो वर्ष खेल मैदानका बाँकी काम सम्पन्न गरिनेछन् । खेल मैदान निर्माणलाई पूर्णता दिन चालुु आर्थिक वर्षमा निर्देशनालयले ५० लाख बजेट छुुट्याएको छ ।
साझा बिसौनीबाट