हात्ती सफारीले बाँके निकुञ्जमा पर्यटक बढाए


कोहलपुर – बाँके राष्ट्रिय निकुञ्ज आन्तरिक पर्यटकहरुको गन्तव्यका रुपमा विकास भइरहेको छ ।

पाटेबाघको बासस्थान र जैविक मार्ग संरक्षण गर्ने उद्देश्यले स्थापना भएको निकुञ्जमा पछिल्लो समय आन्तरिक पर्यटकको गन्तव्य बन्दै गएको हो । निकुञ्ज घुम्नका लागि पैदल मार्ग, हात्ती सफारी, बास बस्न घरबास (होमस्टे), राप्ती नदीमा जलविहार लगायतको व्यवस्था छ ।

यस्तै बाघ र चरा अवलोकन, क्याम्पिङ, हाइकिङ, होमस्टे, ¥याफ्टिङलगायतका प्याकेज रहेका छन् । प्रमुख संरक्षण अधिकृत श्याम साहका अनुसार ती मध्ये हात्तीसफारी स्थापना कालदेखि नै हुँदै आएको थियो ।

बीचमा कोरोना महामारीका कारण केही समय हात्ती सफारी रोकिएको भएपनि यही चैत्र महिनादेखि पुनः सुचारु भएको उनले बताए । निकुञ्जको तथ्यांक चालू आर्थिक वर्षको गत श्रावण महिनादेखि हालसम्म कूल ७० जनाले हात्ती सफारी गरेको प्रमुख संरक्षण अधिकृत साहको भनाइ छ ।‘ हात्ती सफारी केही समय रोकिएको थियो ।अहिले निरन्तर चलिरहेको छ । विशेष गरेर आन्तरिक पर्यटक आउनुहुन्छ । सफारी गर्नुहुन्छ । यो काम निरन्तर चलिरहेको छ,’ उनले भने । दैनिक सरदर २ जनादेखि पाँच जनासम्म हात्ती सफारीका लागि आउने गरेको साह बताउँछन् ।

बाँके राष्ट्रिय निकुञ्ज विसं २०६७ असार २८ गते स्थापना भएको हो । निकुञ्जको तथ्यांक अनुसार, आर्थिक वर्ष २०७७/७८ सम्म आठ सय ९९ पर्यटकले निकुञ्जको भ्रमण गरेका छन् । तीमध्ये आठ सय ६५ आन्तरिक पर्यटक रहेका छन् । बीस जना सार्क मुलुकका तथा १४ पर्यटक अन्य मुलुकका रहेका छन् । बाँके, दाङ र सल्यानसम्म फैलिएको छ । प्रमुख संरक्षण अधिकृत साहले निकुञ्जमा पर्यटकले हात्ती सफारी र जिप सफारी गर्न मन पराउने गरेको बताए ।

बाघ अवलोकन तथा जंगल सफारीका लागि चर्चित बन्दै गएको देशकै कान्छो निकुञ्ज बाँके राष्ट्रिय निकुञ्जले आन्तरिक र विदेशी पर्यटक आकर्षित गर्न पर्यटन प्रवद्र्धन अभियान सञ्चालन गरिएको उनले बताएका छन् । नेपालको कान्छो निकुञ्जको रुपमा चिनिने बाँके राष्ट्रिय निकुञ्जले छोटो अवधिमै संरक्षणमा फड्को मार्दै पर्यटन प्रवर्धनका लागि अगाडि बढेको उनले बताए ।

उनी भन्छन्,‘बाँके निकुञ्ज नेपालका एक सय गन्तव्यमा ५७औँ स्थानमा पर्दछ । । यो विशेष गरेर पाटेबाघका लागि प्रसिद्ध छ । पछिल्लो समय यहाँ बाघको संख्या समेत बढेको छ । अहिले यहाँका बाघको संख्या २५ रहेको छ ।’ करिब ५५० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको बाँके निकुञ्जमा स्तनधारी र चरा प्रजाति पाइन्छ । मुख्यतः बाघको बासस्थानका लागि उपयुक्त मानिएको निकुञ्जमा चौका प्रजाति पनि एक विशेषताका रुपमा देखिएको निकुञ्जले जनाएको छ ।

 

प्रकाशित मितिः     २८ कार्तिक २०७९, सोमबार १४:०२  |