नरैनापुरमा इलाका प्रशासन पुनःस्थापनका लागि सांसद ढकालकाे पहल


नेपालगन्ज – बाँके क्षेत्र नं.१ का प्रतिनिधिसभा सदस्य सूर्यप्रसाद ढकालले उपप्रधान तथा गृहमन्त्री रबि लामिछानेलाई शुक्रबार भेटेर नरैनापुरमा इलाका प्रशासन कार्यालय तत्काल पुन:स्थापन गर्न ध्यानाकर्षण गराएका छन् । ढकालकाे ध्यानाकर्षणलाई गम्भीरतापूर्वक लिएका गृहमन्त्री लामिछानेले १५ दिन भित्र मागकाे सुनुवाइ गर्न गृहसचिवलाई निर्देशन दिएका छन् । ढकाल सहित प्रतिनिधिसभा सदस्य दिपा शर्मा सहितले इलाका प्रशासन कार्यालय पुनःस्थापनकाे पहल गरेका हुन् ।
बाँकेको नरैनापुर गाउँपालिकामा इलाका प्रशासन कार्यालय पुनस्र्थापना नहुँदा स्थानीयवासीले सास्ती झेल्नु परेको छ । नरैनापुर गाउँपालिका वडा नं.४ मा रहेको इलाका प्रशासन कार्यालय २०७२ सालमा असुरक्षाको कारण देखाई नेपालगञ्जमा बिस्थापित भएको थियो । ढकालले बुझाएको ध्यानाकर्षणपत्रमा भनिएको छ,- त्यसयता स्थानीय सरकारको रुपमा गाउँपालिका कार्यालय स्थापना भईसके पनि इलाका प्रशासन कार्यालय भने हालसम्म पुनस्र्थापित हुन सकेकाले इलाका प्रशासन कार्यालय यथाशिघ्र पुनस्र्थापनाको लागि माननीय गृहमन्त्री ज्यू समक्ष ध्यानाकर्षण गराउन चाहन्छु ।

इलाका प्रशासन कार्यालय नहुँदा सहजै प्राप्त हुने नागरिकता प्रमाण पत्र बनाउने लगायतका सेवाबाट नरैनापुरवासी बञ्चित हुन पुगेका छन् । अहिले नागरिकता बनाउन सदरमुकाम नेपालगन्ज आउनुपर्दा जनतालाई समय र आर्थिक भार पर्ने गरेको छ । इलाका प्रशासन नहुँदा खासगरी बृद्ध बृद्धा, अपाङ्गहरु नेपालगन्ज आवत जावत गर्न नसक्ने कारणले नागरिकताा बनाउन नसकी बृद्ध, बिधवा, अपाङ्ग भत्ता लगायत राज्यबाट प्राप्त हुने सेवा सुबिधाबाट बञ्चित हुन पुगेकाे ढकालकाे भनाइ छ ।

ईलाका प्रशासन कार्यालय नरैनापुरमा पुनस्र्थापना गर्न माग गर्दै नरैनापुरवासीले ५ हजार हस्ताक्षर प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीलाई बुझाएका छन् । इलाका प्रशासन कार्यालय नरैनापुरमा पुनस्र्थापना गरी नेपाली नागरिकता प्रमाणपत्र लगायतका सेवा सुबिधाहरु सरल, सुलभ तरिकाले उपलब्ध गराउने ब्यवस्था मिलाउनको लागि गृहमन्त्री समक्ष ध्यानाकर्षण पत्र पेश गरेको ढकालले बताए ।

 

प्रकाशित मितिः     २९ पुष २०७९, शुक्रबार १८:०१  |