उपसचिव मनप्रसाद रेग्मीले विशेष अदालतबाट सफाई पाए


नेपालगन्ज – गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा उपसचिव मनप्रसाद रेग्मीले सफाई पाएका छन् । विशेष अदालतले उनलाई शुक्रवार सफाइ दिएको हो ।

उनी उपर चार करोड ५४ लाख ३३ हजार रुपैयाँभन्दा बढी अवैध सम्पत्ति आर्जन गरेको अभियोग लागेको थियो । रेग्मी सहित उनकाे पत्नी र छोरीलाई समेत प्रतिबादी बनाइएको थियाे । सवैले सफाई पाएका छन् । सफाई पाएपछि आफू सहित परिवारकाे तस्वीर सामाजिक सन्जालमा शेयर गर्दै रेग्मी यस्ताे लेखेका छन्-

यी तिनै जना प्रतिबादीहरुले रुपन्देहिको पैतृक जग्गा बेचेर बाकेमा जग्गा खरिद गरे बापत स्रोत नखुलेको सम्पत्ती राखेको झुट्टाआरोपबाट सफाई पाएका छन। सबैलाई बधाई र सहयोगीहरुलाई धन्यवाद ।

शुक्रबारको इजलासले उनका साथै सम्पत्ति जफत प्रयोजनका लागि प्रतिवादी बनाइएकी उनकी श्रीमती पम्फादेवी पाण्डेय र छोरी सन्ध्या रेग्मीलाई पनि सफाइ दिएको छ । अख्तियारले ३० असार, २०७७ मा उनी उपर गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दर्ता गराएको थियो।

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल र सदस्य यमुना भट्टराईको इजलासले यस्तो आदेश दिएको हो । उनी २०५३ कात्तिकदेखि सरकारी सेवामा प्रवेश गरेका थिए भने २०७६ चैतमा उनी उपर अख्तियारले अनुसन्धान थालेको थियो । उनको वैध आय दुई करोड ७७ लाख ११ हजार रुपैयाँ हुनुपर्नेमा साढे चार करोड रुपैयाँभन्दा बढीको स्रोत खुल्न नसकेको भन्दै बिगो मागदाबीसहित मुद्दा दायर भएको थियो ।

विद्यालय निरीक्षकको पदबाट सरकारी सेवा प्रवेश गरेका रेग्मी २०७१ मंसिरमा बाँसगढी नगरपालिका बर्दियामा शिक्षा, युवा तथा खेलकुद शाखामा उपसचिव पदमा कार्यरत थिए ।

 

प्रकाशित मितिः     ६ माघ २०७९, शुक्रबार २०:४०  |