ऋण र ब्याज तिर्नुको सट्टा सडक आन्दोलन गर्नु अराजकता हाे- गभर्नर


नेपाल – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरुबाट कर्जा लिएर कर्जा वा ब्याज तिर्नुको सट्टा सडक आन्दोलन गर्नु अराजकता भएको बताएका छन् । यसरी आन्दोलन गर्दा वित्तीय प्रणालीमा नयाँ चुनौती देखिएको उनले बताए ।

कृषि विकास बैंकको ५६ औं वार्षिक साधरणसभामा गभर्नर अधिकारीले बैंकहरुबाट कर्जा लिने र कर्जा तिर्नुको सट्टा सडकमा उफ्रिएर नतिर्ने गरेको भन्दै संगठित रुपमा बैंकबाट लिएको कर्जा तिर्नु पर्दैन भन्नु अराजकताको माथिल्लो रुप भएको टिप्पणी गरे । बैंकबाट कर्जा लिएर बैंकको कर्जा वा ब्याज नतिर्ने भन्दै संगठनको नाममा समूह बनाएर सडकमा उफ्रिएर नतिर्ने भनी संगठित रुपमा दबाब दिन नमिल्ने उनको भनाइ थियो । गभर्नर अधिकारीले पछिल्लो समय बैंक तथा समग्र वित्तीय प्रणालीमा नयाँ किसिमका चुनौतीहरु देखिएको बताए ।

बैंकको अधिकांश कर्जा सार्वजनिक सम्पत्ति र सर्वसाधरणको निक्षेप भएकाले कर्जा नतिर्दा समग्र वित्तीय क्षेत्रको विश्वसनीयता र वित्तीय स्थायित्वमा समस्या आउने बताए । व्यवसायीहरूले बैंकको व्याज महंगो भएको भन्दै त्यसविरुद्ध आन्दोलन गरिरहँदा गभर्नर अधिकारीले त्यसप्रति लक्षित गर्दै आन्दोलन रोक्न र कर्जा तिर्न दबाब दिएका हुन् ।

गभर्नर अधिकारीले आन्दोलनरत व्यवसायीहरूले अराजक व्यवहार देखाएको भन्दै त्यसप्रति आपत्ति जनाएका थिए ।

गभर्नर अधिकारीले कृषि विकास बैंक कृषि वित्तीय क्षेत्रमा नयाँ ढङगले जानुपर्ने पनि बताएका थिए । उनले कृषि क्षेत्रमा पनि आधुनिकीकरण हुँदै गएकाले त्यही अनुसार वित्तीय कारोबारको आवश्यकता भएको बताए । कृषि क्षेत्रको विकासका लागि कृषि विकास बैंकले नेतृत्व लिनुपर्ने आवश्यकता औंल्याएका थिए ।

गभर्नर अधिकारीले भनेका छन्, ’म कुनै बैंकबाट ऋण लिन्छु । म ऋण वा ऋणको ब्याज तिर्दिनँ भनेर उभिन मिल्छ ? ऋण स्वीकार गरेर लिएको हो । यस्ता अराजक कुराहरुलाई कसैले पनि प्रश्रय दिनु हुँदैन । यस्ता कुरा वित्तीय अपराध हो । हामी यसमा सजक र सतर्क छौं । त्यस्ता कुराहरु हुने वाला छैनन् । यस्ता कुराहरुले समग्र बैंकिङ प्रणाली,अर्थतन्त्रमा ठूलो असन्तुलन ल्याउँछ । ठूलो व्यथिति ल्याउँछ । ऋण लिएर तिर्नु पर्दैन भनेर कहीँ कतै विकसित भयो भने बैंकिङ प्रणाली र अर्थतन्त्र कहाँ जान्छ ?’

प्रकाशित मितिः     ८ माघ २०७९, आईतवार ०७:५५  |