तारे होटलको किनबेच


बाँके ८ माघ – बाँकेमा तारे होटेल खुल्नेक्रम मात्र होइन त्यसको किनबेच समेत बढेको छ । पछिल्लो समय नेपालगन्ज र कोहलपुरका तीनवटा ठूला होटल बिक्री भए । सबैभन्दा पहिले कोहलपुरस्थित पाँच तारे होटेल सेन्ट्रल प्लाजा बिक्री भएको थियो ।

देवानन्द अर्यालले स्थापित गरेको सेन्ट्रल प्लाजा कोभिडको संक्रमणपूर्व व्यवसायीक प्रतिष्ठान अग्नी ग्रुपले किन्यो । नयाँ व्यवस्थापन समुहले सञ्चालन गर्नै लाग्दा कोभिडका कारण लकडाउन लागेपछि सञ्चालन हुन सकेन । लकडाउन अन्त्य भएपछि यतिबेला नयाँ समूहले होटल सञ्चालन गरिरहेको छ । होटल बेचेका अर्यालले बर्दियामा सुविधा सम्पन्न रिर्सोट सञ्चालन गरिरहेका छन् ।

नेपालगन्जको चारतारे होटल सिग्नेट निर्माण गरेका औषधी व्यवसायी दिपेन्द्र अग्रवालले क्सासिनोक्षेत्रका चर्चित व्यवसायी सुरेन्द्र सिंहलाई बेचेका छन् । कमला मेडिसनबाट औषधी व्यवसायबाट राम्रै आम्दानी गरेका अग्रवालले नेपालगन्जमा हस्पिटालिटीक्षेत्रमा आर्कषण देखेपछि सुर्खेतरोडको मूल्यवान जग्गामा चार तारे होटल सिग्नेट सन्चालन गरेका थिए । तर होटलको पूर्वाधारमा अग्रवाल आफै लगानी गरेका भएपनि व्यवस्थापन भने भारतीय समूहले हेरेको थियो ।

अर्को तारे होटल किचन हट शंकर सिंह, सुमन शर्माबाट नेपालगन्जको बिभिन्न क्षेत्रमा नाम कमाएका डा. सुरेश कनौडिया, बिनोद मैलानी, सञ्जय सिंहले खरिद गरे । होटल किनेपछि केही समय आफै सन्चालन गरेता पनि अहिले भने स्टारलाईट समूहले व्यवस्थापन हेरिरहेको छ ।

बाँकेमा तारे होटलमा अप्रत्याशित लगानी भएको छ । कोभिड महामारीपूर्वको एक दशकमा झण्डै एक दर्जन तारे होटलमा लगानी भयो । तर प्रदेश संरचना कार्यान्वयन हुँदा अधिकांस सरकारी तथा गैरसरकारी कार्यालय नेपालगन्जबाट अन्त सरे, कोभिड महामारी र त्यसपछि उत्पन्न आर्थिक संकटले यहाँका तारे होटलको जगनै हल्लाइदिएको छ । होटल सञ्चालन चुनौतीपूर्ण बनेको छ ।

क्यासिनोका कारण भरथेग त भएको छ तर होटल मुनाफा आर्जन गरेर होटलका लगानीकर्ताको अनुहारमा चमक ल्याउँन अझै समय लाग्ने देखिन्छ । विक्री भएका होटलका लगानीकर्ताहरु कति अहिले पनि सोही क्षेत्रमा छन् भने कति पुरानै पेशामा फर्किएका छन् । होटल सेन्ट्रल प्जाला बेचे पछि अर्यालले बर्दियामा रिर्सोट सञ्चालन गरिरहेका छन् । बिदेशी पर्यटक आगमन हुने ठाउँलाई लक्षित गरी अर्यालले आर्कषक रिर्सोट चलाइरहेका हुन । सिग्नेट विक्री गरेका अग्रवालको आफै पेशा छ भने किचन हट विक्री गरेका शंकर सिंहले केक एण्ड बेकरी उत्पादनलाई निरन्तरता दिएका छन् । उनी त्यसैबाट उदाएका थिए ।

शंकर सिंहबाट किचन हट खरिद गर्ने समूह मध्येका बिनौद मैनालीले आफुहरुले चुनौतीपूर्ण समयमा होटल सम्हालेको बताउँछन् । उनी भन्छन्–‘एक त हामीले लगानी थप गरेका थियौं । त्यसपछि एकपछि अर्को गर्दै अनेक चुनौती आइपरे जस्तो कोभिड, आर्थिक संकट ।’ तर पुष यता भने आर्थिक गतिबिधि चलायमान हुने संकेत देखिएकाले आशा गर्ने ठाउँ रहेको मैनाली बताउँछन ।

 

प्रकाशित मितिः     ८ माघ २०७९, आईतवार १२:३८  |