- सिर्जना बुढाथोकी ।
सुर्खेत-बराहताल गाउँपालिका–५, सुनद्वारीका रत्नलाल सुवेदीले सात वर्षसम्म माओवादीको जनमुक्ति सेनामा काम गरे । पार्टीमा विक्रमका नामले चिनिने रत्नलाल माओवादीमा २०५६ सालदेखि आवद्ध भएका हुन् । कक्षा १० पढ्दै गरेका उनी माओवादीको विचारप्रति प्रभावित भएर जनसांस्कृतिक टिममा जोडिएका थिए । उनले एक वर्षसम्म सांस्कृतिक टिममा रहेर जनवादी गीत गाउने र पार्टीको काम गरे । एक वर्षपछि उनी लडाकू सेनामा गए ।
सेनामा काम गर्दै गर्दा २०६० सालमा बराहताल–९ कै चन्द्रा सुवेदीसँग उनको जनवादी विवाह भयो । चन्द्रा पनि जनमुक्ति नै सेना हुन् । उनको पार्टीको नाम रेखा हो । सात वर्षसम्म उनीहरु दुवै जनाले धेरै ठाउँमा सँगसँगै लडे । २०६२ साल अन्तिमतिर अछाम र कपिलवस्तुको तौलिहवामा भएको आक्रमणमा विक्रमका दुवै खुट्टामा गोली लाग्यो । दायाँ खुट्टाको गोली निकालिए पनि उनको बायाँ खुट्टाको गोली भने अझै निकाल्न बाँकी छ ।
शान्ति सम्झौता हुनुभन्दा पहिले पार्टीको निर्देशन अनुसार भ्रातृ संगठन वाइसियलमा समाहित भएपछि रत्नलाल पम्पतीले जनमुक्ति सेनाबाट स्वेच्छिक अवकाश पाउँदा सरकारले दिने राहतसमेत पाउन सकेनन् । वाइसियलमा भएका कारण सेना प्रमाणीकरण नभएपछि आफूहरुले त्यो सेवा पाउन नसकेको रत्नलाल बताउँछन् । ‘हामीले सात वर्षसम्म जनमुक्ति सेनामा काम ग¥यौं । शान्ति सम्झौता हुनुभन्दा केही समय अगाडि पार्टीले आधा सेना वाइसियलमा समाहित हुनुपर्ने निर्देशन गरेपछि केन्द्रीय सदस्य भएर काम ग¥यौं,’ उनले भने, ‘पछि सरकारले जमुक्ति सेनालाई दिने राहतमा हामी प्रमाणीकरण हुन सकेनौं ।’
माओवादीको युद्ध लडेको रत्नलाल र चन्द्रा दम्पती अहिले कृषि कर्ममा रमाइरहेको छ । उनीहरुको बारीभरि आलु, बन्दा, काउली, केराउ र गहुँ फलेका छन् । गोठमा दुईवटा भैंसी र गाई पनि छन् । खेत जोत्नका लागि परम्परागत गोरु होइन, उनीहरुसँग दुई वटा आधुनिक जोत्ने मेसिन पनि छन् । गाई–भैंसीको दूध र तरकारीबाट उनीहरुले मासिक ३० हजार रुपैयाँ खुद नाफा कमाउने गरेका छन् । जोत्ने सिजनमा मेसिनबाट पनि राम्रै आम्दानी हुने गरेको उनीहरु बताउँछन् । गोरु पालेर खेत जोत्नुभन्दा मेसिनबाट आफ्नो काम सँगै अरुको काम गर्दा नगद आउने हुँदा गोरुबाट फाइदा नभएको चन्द्रा बताउँछिन् ।
सुरुमा सात लाख रुपैयाँ सहकारीबाट ऋण लिएर दुई वटा भैंसी पालेका रत्नलालले आठ वटासम्म भैंसी पालेर दूध बेचेका थिए । केही समयअघि श्रीमती चन्द्राले गाउँपालिकामा कार्यालयमा सहयोगीको काम पाएपछि भने अरु भैंसी बेचेर दुई वटा मात्रै राखे । रत्नलाल अहिले नेकपा माओवादी सुर्खेत जिल्ला कमिटीका सदस्य छन् । बिहान चार बजेबाट उनीहरुको काम सुरु हुन्छ । भैंसी दोहेर दूध बजारमा पु¥याउनेदेखि घाँसपात र तरकारी गोडमेल गर्न रत्नलाल र चन्द्रालाई दुई छोराले पनि साथ दिन्छन् ।
विक्रमको घरमा उनकी आमा, दुई छोरा र श्रीमतीसहित पाँच जनाको परिवार छ । श्रीमान–श्रीमती बिहान घाँसपात गर्छन् । ९ बजे चन्द्रा अफिस जान्छिन् भने दुई छोरा विद्यालय जान्छन् । कहिलेकाहीँ पार्टीको बैठक र अन्य सामाजिक काम नभएको बेला घर रत्नलालले धान्छन् । ‘अहिले हाम्रो घरमा कार्ययोजना बनाइएको छ । भोलि कसले के काम गर्ने भनेर अघिल्लै दिन छलफल हुन्छ । कसैसँग केही गुनासो भए छलफल गर्छौं,’रत्नलालले भने, ‘बिहान साढे चार बजे सबजना उठ्छौं र आ–आफ्नो काम लाग्छौं । कसैलाई यो काम गर भन्नुपर्दैन । ९ बजे म्याडम अफिस र बाबुहरु स्कुल जान्छन् ।’ पार्टीले लिएका केही उद्देश्य पूरा भएकोले माओवादी सेनामा लडेकोमा आफूलाई कुनै पश्ताचाप नभएको रत्नलाले बताए ।
अबको यात्रा राजनीतिकसँगै कृषि कर्म रहेको उनको भनाइ छ । पुख्र्यौली पेसालाई व्यवस्थित गर्दै आफ्ना सन्तानलाई पनि मिहिनेत र परिश्रम के हो भनेर बुझाउनका लागि कृषि पेसा अँगालेको उनीहरुको भनाइ छ । ‘लामो समयसम्म जनताको मुक्तिका लागि लडियो । अब आफ्नो परिवारको आर्थिक समृद्धिका लागि केही प्रगति गर्नुपर्छ भनेर कृषि पेसा अँगालेका हौं,’ चन्द्राले भनिन्, ‘अहिले हामीले यसरी मिहिनेत गरेपछि छोराहरुले पनि मिहिनेत के हो भन्ने बुझ्छन् । असल अभिभावक मात्रै होइन, सफल अभिभावक बन्ने हाम्रो चाहना छ ।’
रत्नलाल सुनद्वारी दुग्ध उत्पादन तथा वितरण कृषक समूहको अध्यक्ष समेत हुन् । यो समूहमा सुनद्वारी गाउँकै ४७ जना कृषक आवद्ध छन् । १०२ घरधुरी भएको यो गाउँको ८० घरधुरीले भैंसी पालेका छन् । अन्य कृषकले त्यहाँको स्थानीय बजारमा दूध बिक्री गरे पनि यहाँका ४७ घरधुरीले सुर्खेतको रारा डेरीमा पठाउँछंन् । यसबाट मासिक रुपमा ६ लाख रुपैयाँसम्म समूहमा पैसा आउँछ । रत्नलालका अनुसार दूधको फ्याट, ल्याक्टो र गुणस्तर अनुसार लिटरको ७० देखि ९५ रुपैयाँसम्म कृषकले बुझ्ने गरेका छन् ।
यो समूहले चिस्यान केन्द्र पनि स्थापना गरेको छ । पञ्चपुरी र नयाँबनका गरी दुई दिनमा ११ सय लिटर दूध जम्मा गरी सुर्खेत पठाउने गरिएको छ । उक्त कृषक समूहमा आवद्ध ४७ जना कृषकलाई पशुपक्षी तथा कृषि निर्देशनालयले आर्थिक वर्ष २०७५÷०७६ र २०७६÷०७७ मा गरी एक सय १० वटा भैंसी वितरण गरेको थियो । २०७६÷०७७ मा प्रदेश सरकारको एक लाख रुपैयाँ अनुदान र कृषकको ३२ हजार रुपैयाँ लगानीमा गरी एक लाख ३२ हजार बराबरको भैंसी वितरण गरिएको रत्नलालले बताए ।