‘समृद्ध प्रदेश आत्मनिर्भर लुम्बिनीको लक्ष्यलाई कार्यान्वयन गर्न दत्तचित्त छौं’


  • लिला गिरी ( मुख्यमन्त्री,लुम्बिनी प्रदेश)

प्रदेश स्थापना दिवसको अवसरमा प्रदेशबासी सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

साथै प्रदेशबासी दाजुभाइ तथा दिदीबहिनीको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको कामना गर्दछु । यस ऐतिहासिक क्षणमा परिवर्तनका लागि विभिन्न समयमा भएका आन्दोलनमा प्राणको आहुती दिनुहुने सम्पूर्ण ज्ञात अज्ञात सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै आन्दोलनका घाइते र बेपत्ता योद्धाहरुप्रति हार्दिक सम्मान व्यक्त गर्दछु ।

नेपाली जनताको लामो संघर्ष र बलिदानबाट नै निरंकुश सामन्ती राजतन्त्रको अन्त्य भई मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको हो । परिवर्तनको जगमा स्थापित मौलिक विशेषता बोकेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था सञ्चालन गरिरहेका छौं । संघीय शासन व्यवस्थामार्फत् नागरिकका चुलिएका जनआकांक्षा पूरा गर्न प्रदेश सरकार प्रतिबद्ध छ । संविधानको कार्यान्वयन गर्दै शून्यबाट कार्य थालनी गरेको प्रदेश सरकारले पाँच वर्षको अवधिमा कानुन निर्माणका साथै शासन प्रणालीको बलियो आधार तयार पारेको छ ।

यस बीचमा प्रदेशको राजधानी र नामाकरण सबैले अपनत्व महसुस गर्नेगरी टुंगो लगाउन सरकार सफल भएको छ । पहिलो कार्यकाल संविधान कार्यान्वयन र संघीय शासनको आधार तयार पार्ने जस्ता महत्वपूर्ण र ऐतिहासिक जिम्मेवारी पूरा गरेको सरकारले दोस्रो कार्यकाल प्रदेश राजधानीको निर्णय कार्यान्वयन गर्दै राप्ती उपत्यका देउखुरीमा सुन्दर र समृद्ध राजधानी निर्माणको अभिभारा लिँदै कार्य प्रारम्भ गरेको छ ।

पहिलो कार्यकालमा अस्थायी मुकाम बुटवलबाट शून्यबाट कामको थालनी गरेझैं यतिबेला स्थायी राजधानी स्थल राप्ती उपत्यका देउखुरीबाट उसैगरी शून्यबाट राजधानी व्यवस्थापनको कार्यको थालनी गरेका छौं । नदी सभ्यतामा आधारित समुन्नत र योजनाबद्ध सहरसहितको व्यवस्थित राजधानी निर्माण गर्ने कामलाई पूरा गर्ने संकल्प लिएका छौं । पाँचवर्षमा हामीले प्रदेश सरकारलाई नागरिकले सुन्ने र देख्ने विन्दुमा ल्याइपु¥याएका छौं, संघीयताको असली कार्यान्वयन गर्दै सबैले अनुभूति गर्ने बनाएका छौं ।

जनताको नजिकको सरकारका रुपमा रहेको प्रदेश सरकार जनआकांक्षा पूरा गर्न प्रतिबद्ध छ । संविधानले तीन तहका सरकार बीच सहअस्तित्व, समन्वय र सहकार्यको परिकल्पना गरेको छ । यसैको मर्मलाई आत्मसात गर्दै संघीयताको व्यवहारिक कार्यान्वयन गर्न सबैको सार्थक पहल आवश्यक छ ।

बितेका पाँच वर्षमा संघीयता कार्यान्वयनको सन्दर्भमा भएका कार्यलाई निरन्तरता दिँदै प्रदेश सरकारले विकास, समृद्धि र सुशासनलाई केन्द्रविन्दूमा राखेर ‘समृद्ध प्रदेश आत्मनिर्भर लुम्बिनी’को लक्ष्यलाई कार्यान्वयन गर्न दत्तचित्त रहेको छ । संघीय लोकतान्त्रिक गणतन्त्रलाई नागरिकको जीवन पद्दतिका रुपमा स्थापित गर्न सक्दा मात्रै आम नागरिकले लोकतन्त्रको सुखद् अनुभूति गर्न पाउँछन् भन्ने मान्यतालाई स्थापित गर्न प्रदेश सरकार लागिपरेको छ ।

मिनी नेपालका रुपमा लुम्बिनी प्रदेशलाई व्यवस्थित गर्नेतर्फ हाम्रा योजना र कार्यक्रम केन्द्रित रहेका छन् । प्रदेश स्थापना दिवसको यस ऐतिहासिक अवसरमा समृद्ध प्रदेशको माध्यमबाट समृद्ध राष्ट्र निर्माण गर्ने अभियानमा साथ दिन प्रदेशका सबै राजनीतिक दल, सामाजिक संघसंस्था, राष्ट्रसेवक कर्मचारी, आमसञ्चारकर्मी र आमनागरिक सबैमा हार्दिक अपील गर्दछु । अन्त्यमा, प्रदेश स्थापना दिवसका अवसरमा सबैमा हार्दिक बधाई तथा मंगलमय शुभकामना व्यक्त गर्दछु ।
३, फागुन, २०७९

प्रकाशित मितिः     ३ फाल्गुन २०७९, बुधबार ०७:४८  |