नेपालगन्ज । नेपालगन्ज लगायत देशका प्लाइउड उद्योगी र व्यवसायीले प्लाइउड निर्यात बढाएका छन् ।
सरकारले निर्यातमा नगद अनुदान दिएपछि गत आर्थिक वर्षदेखि प्लाइउडको निर्यातमा गुणात्मक वृद्धि भएको हो। नेपालगन्जबाट पनि शिखर लगायतकाे उद्योगले प्लाई निर्यात गरेकाे छ ।
सरकारले प्लाइउडको निर्यातमा ४ देखि ८ प्रतिशतसम्म नगद अनुदान दिने निर्णय गरेको थियो । सोही निर्णयबाट उत्साहित भएर नेपालका प्लाइउड उद्योगले निर्यातलाई बढाउँदै लगेका हुन् ।
भन्सार विभागले उपलब्ध गराएको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ७ महिना अर्थात् माघ महिनासम्ममा २ अर्ब १६ करोड २३ लाख रुपैयाँ बराबरको प्लाइउड भारत निर्यात भइसकेको बिजमाण्डुडटकममा उल्लेख छ ।
नेपाल प्लाइउड उत्पादक संघका अध्यक्ष होमप्रसाद घिमिरेले चालु आर्थिक वर्षमा ५ अर्ब र आगामी आर्थिक वर्षमा १० अर्बभन्दा बढी मूल्यको प्लाइउड निर्यात हुने विश्वास व्यक्त गरे ।
उनले सरकारले निर्यातमैत्री वातावरण बनाए नेपालबाट वार्षिक ३० अर्बभन्दा बढीको प्लाइउड निर्यात गर्न सकिने विश्वास व्यक्त गरे ।