नेपालगन्ज । नेपालगन्जको न्युरोडबाट करिब पाँच किलो अवैध सुनका गरगहनासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगन्जको न्यूरोडस्थित एक होटलबाट ४ दशमलव ९२७ किलोग्राम सुनका विभिन्न गहनासहित दुई जनालाई पक्राउ गरेको हो । प्रहरीले बिहिबार पत्रकार सम्मेलनमार्फत सुनका गहना सहित पक्राउ परेका दुई जनालाई सार्वजनिक गरेको छ ।
सुनका विभिन्न गहनासहित पक्राउ पर्नेमा विराटनगरका महानगरपालिका वडा नं. ९ का ४२ बर्षिय रमेश सोनी र सोही ठाउँका ३६ बर्षिय प्रकाश ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी सन्तोष सिंह राठौरले जानकारी दिनुभयो ।
पक्राउ परेका व्यक्तिका साथबाट सुनका सिक्री, चुरा, झुम्का, हार, ब्रास्लेट, मंगलसूत्र, बाला, ढुङ्ग्री, औँठी लगायतका सुनका गहना बरामद गरेको एसपी राठोरले पत्रकार सम्मेलन गरि जानकारी गराउनुभयो । साथै उनिहरुको साथमा इस्तमेट बिलको ठेली थान १, डिजिटल तराजु थान १, विभिन्न मितिमा विभिन्न स्थानमा विक्रि गरेको इस्टमेट विलहरु थन १४, एनआइसी एसिया बैंकमा७ लाख ३३ हजार ४ सय जम्मा गरेको भौचर थान १, प्रकाश ठाकुरको नाममा ३ लाख ८६ हजार ४ सय काटेको एनएमबी बैंकको चेक थान १ र विभिन्न दरको नोट गरि नगद ३५ हजार बरामद गरिएको एसपी राठोरले जानकारी गराउनुभयो ।
गरगहना झोलामा राखेर हिँडिरहेको सुराकीका आधारमा मंगलबार राती गहना सहित सोनी र ठाकुरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनिहरुको साथ बाट सुन कहाँबाट आएको र कहाँ लैजादै गरेको भन्ने बारे अनुुसन्धान भैरहेको प्रहरीले जनाएको छ । बरामद गरिएको सुनको जम्मा मुल्य ४ करोड ६९ लाख ५ हजार ७ सय ६३ हुने गर्दछ ।