पाँच बर्षदेखि माउतेको काम गरिरहेकी रिता भन्छिन्–‘महिलाले गर्न नसक्ने केही छैन’


नेपालगन्ज- बाँके र बर्दिया राष्ट्रिय निकुञ्जमा ‘माउते’का रुपमा महिलाहरुले हात्तीसफारी र उनीहरुको पालनपोषण गरेर उदाहरणीय काम गरिरहेका छन् । माउते भन्ने बित्तिकै पुरुष मात्र हुन्छन् भन्ने सोंचलाई बदल्दै महिलाहरुले सबैभन्दा ठुलो प्राणीभित्र पर्ने अजङ्गको हात्ती हाँकिरहेका भेटिन्छन् ।

यसरी हात्ती हाँक्नेमा पर्छिन बाँकेको राप्तीसोनारी गाउँपालिका–९ की ३२ वर्षिया रिता सुवेदी । उनले माउते भएर काम गर्न लागेको पाँच बर्ष पुरा भएको छ । घरमा चुल्होचौको गर्ने रिताले बाँके राष्ट्रिय निकुञ्जले महिलालाई माउतेका रुपमा काम गर्ने अवसर सहित आवेदन आह्वान गरेपछि आवेदन दिएकी थिइन । आवेदन पछि परिक्षामा उत्तिर्ण भएकी उनले बर्दियामा तालिम लिइन ।

‘त्यहाँ तालिम सकेपछि हामीलाई बाँके निकुञ्जमा काममा लगाइयो । शुरु शुरुमा हात्तीसफारी पनि गथ्र्यौ तर अहिले मैले हेरचाह गर्ने हात्ती बुढो भएको हुँदा हात्ती सफारी हुँदैन ।’– रिताले भनिन् । अहिले उनले हात्तीलाई पालनपोषण र हेरचाह गरिरहेकी छन् । ‘पहिला त डर लाग्थ्यो । अग्रजहरुले सिकाउँदै
जानुभयो,मैले पनि सिके । अहिले त माया लाग्छ डर लाग्दैन।’ उनले भनिन्–‘घरकै जनावार जस्तो गरी पालनपोषण गर्दै आएकी छु ।’

उनका अनुसार, बाँके र बर्दियाका निकुञ्जमा तीन जना महिला माउतेका रुपमा कार्यरत छन् । बाँकेमा रितासंगै निनु खड्का र बर्दियामा हिमानी चौधरी कार्यरत रहेका छन् । हात्तीको हेरचाह गर्न कम्ता चुनौती नभएको रिता बताउँछिन् । उनी भन्छिन्–‘चुनौती भएपनि काम शुरु गरिसकेपछि छाड्न सकिएन । अब त यसैबाट आम्दानीको स्रोत समेत बनिसकेकाले छाड्न सकिदैन होला ।’

माउतेका रुपमा काम शुरु गरेर अन्य पदमा पदोन्ती हुने लक्ष्य छ , रिताको । त्यही भएर पनि उनले शुरुमा जोखिमपूर्ण काम शुरु गरेकी हुन । गत वर्ष खरिदार तहमा आन्तरिक परिक्षा दिइन तर नाम निस्किएन । उनी भन्छिन्–‘नाम ननस्किए पनि जागिर छाड्न मन लागेन ।’

बाँकेमा नेपाल सरकारले बाघ संरक्षणका लागि अन्तर्राष्ट्रिय समुदायसँग गरेको प्रतिबद्धता अनुरूप बाघको वासस्थान र जैविक मार्ग संरक्षण गर्ने उद्देश्यले २०६७ आषाढ २८ गते बाँके, दाङ र सल्यान जिल्लाको ५५० वर्ग किमि  क्षेत्र समेटी
नेपालको दशौं राष्ट्रिय निकुञ्जको रूपमा बाँके राष्ट्रिय निकुञ्जको स्थापना भएको छ । यस निकुञ्जको पूर्वी सिमाना शिवखोला, पश्चिम कोहलपुर सुर्खेतराजमार्ग, उत्तर चुरे पर्वत र दक्षिण पूर्व–पश्चिम राजमार्ग रहेको छ ।

यो निकुञ्ज पाटेबाघ र हात्तीको महत्वपूर्ण वासस्थानको रूपमा रहेको छ । यहाँ हात्ती तथा जिप सफारीका लागि आन्तरिक पर्यटकको संख्या बढे पनि बाह्य पर्यटकको संख्या उल्लेखिय बढ्न सकेको छैन । महिला माउते रिताको घर पनि निकुञ्ज छेउ ढकेरीमै पर्छ । गाउँ छेउमै निकुञ्ज स्थापना भएपछि बन्यजन्तुको त्रास त बढेको छ नै साथै रोजगारी समेत सिर्जना भएको छ । रिता सहित महिला माउतेको काम देखेर जोकोहीले स्यावासी दिन्छन् । रिता भन्छिन्–‘अवसर र
इच्छा शक्ति भए महिलाले गर्न नसक्ने केही छैन ।’

बुटवल टुडेबाट

प्रकाशित मितिः     १६ बैशाख २०८०, शनिबार १६:४८  |