महत्वकांक्षी घोषणापत्र बोकेर मतदाता लोभ्याउँने दाउ !


नेपालगन्ज – नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन आगामी भदौ २ गते हुँदैछ । उक्त निर्वाचनका मुख्य दुई प्रतिस्पर्धी प्यानलले उम्मेदवारी दर्तासंगै घोषणापत्र सार्वजनिक गरेका छन् । घरदैलो गरिरहेका उम्मेदवारले मत माग्छन् र संगै लिएर गएको घोषणापत्र पढ्न भन्दै मतदातालाई थमाइदिन्छन् ।

यसरी थमाइएको घोषणापत्रमा छापिएको उम्मेदवारको तस्वीर हेर्ने बाहेक अरु बिषय कमै व्यवसायीले पढ्छन् । खजुरारोडका एकजना व्यवसायी भन्छन्,–‘हाम्रा व्यवसायी साथीहरुले पनि राजनीतिक दलका नेताले जस्तो घोषणापत्र बनाउन थाले । व्यवसायी स–साना समस्याले पिरोलिएका छन् तर उहाँहरु आँकाश छुने कुरा गर्नुहुन्छ । त्यही भएर पढ्नै झ्याउ लाग्छ ।’

संघको निर्वाचनका लागि मुख्यगरी टंकबहादुर धामी नेतृत्वको समावेशी र ललित रौनियार नेतृत्वको साझा प्रजातान्त्रिक प्यानल चुनावी मैदानमा छन् । उनीहरुले घोषणापत्र सार्वजनिक गरिसकेका छन् ।

समावेशी प्यानलले १७ बुंदा ‘स’ उल्लेख गरेर समावेशीले व्यवसायीको हितमा आफ्नो चुनावी घोषणा पत्र जारी गरेको छ । उक्त प्यानलले स्वस्थ व्यवसायी योजनाको प्रतिबद्धता अघि सारेको छ । त्यसका लागि संघका सदस्यहरूको स्वास्थ्य अवस्थालाई मध्य नजर गरी सम्बन्धित स्वास्थ्य संस्थाको समन्वयमा निःशुल्क स्वास्थ्योपचारको व्यवस्था गरिने प्रतिबद्धता गर्दै ’संघका सदस्यहरूका लागि योग ध्यान, प्राणायाम र खेलकुदका गतिविधिहरू सञ्चालन गरिने उल्लेख गरेको छ ।

व्यवसाय दर्ता गर्ने एकद्वार प्रणाली विकास गर्न पहल गर्नेदेखि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा उत्पादित जडिबुटी अहिले नेपालगन्जमा संकलन गरेर कच्चा पदार्थको रूपमा भारत लगायत विदेशमा निर्यात भइरहेको छ ।जडिवुटीलाई प्रशोधन गरेर निर्यात मर्ने व्यवस्था र औषधि उद्योग स्थापना राज्यका निकायमा दवाव दिनेसम्म उल्लेख छ । साथै सरकारको अव्यवहारिक नीतिका कारण हुने असहज परिस्थितिलाई समाधान गर्न पहल गर्ने भनिएको छ ।

समावेशीले नेपालगन्ज औद्योगिक क्षेत्र निर्माणाधीन नौबस्ता औद्योगिक क्षेत्र प्रस्तावित विशेष आर्थिक क्षेत्र, एकिकृत भन्सार जाँचचौकी (आइसीपी) व्यवस्थित गर्न पहल गर्ने जनाएको छ । उक्त प्यानलका अध्यक्ष पदका उम्मेदवार धामीले आफुहरुले बिशुद्ध व्यवसायी र आर्थिकक्षेत्रको उन्नतीको बिषय समेटेको बताउँछन् । उनी भन्छन्,–‘यो हाम्रो मार्गदर्शन र प्रतिवद्धता हो जिते पछि यसैका आधारमा अघि बढ्छौं ।’

प्रकाशित मितिः     ३२ श्रावण २०८०, बिहीबार ०७:३०  |