खजुराका अध्यक्ष तुफानकाे सरकारी फाेनमा अमर्यादित टिप्पणी


नेपालगञ्ज १० भदाै । बाँकेको खजुरा गाउँपालिका अध्यक्ष एवम् नेकपा माओवादी केन्द्रका नेता डम्बर विक तुफानले निबर्तमान अध्यक्ष किस्मतकुमार कक्षपतिबारे अराजक र अमर्यादित टिप्पणी गरेका छन् ।

एमाले पोलिटब्युरो सदस्य एवम् बाँके इन्चार्ज खेममान खड्काले भदौ ५ गते गाउँपालिका अध्यक्ष हुँदा कक्षपतिले प्रयाेग गर्ने सरकारी फाेन नम्बरमा फाेन गरेका थिए । जुन फाेन नम्बर पालिकाका अहिलेका अध्यक्ष विकले प्रयोग गर्दै आएका छन् । खड्काले कक्षपति जि हाे ? भन्ने बित्तिकै विकले ‘किस्मत त मरेर मिट्टी दिइसकेको’ भन्दै अभद्र भाषाशैलीमा प्रस्तुत भएका थिए ।

कक्षपति खजुरा गाउँपालिकाका निवर्तमान अध्यक्ष हुन् । पहिले उनैले चलाउने पालिकाको अफिसियल फोनमा खड्काले फोन गरेका थिए । २०७९ को स्थानीय निर्वाचनबाट विक पालिका अध्यक्ष निर्वाचित भएपछि उनले सोही नम्बर चलाइरहेका छन् ।

पालिका अध्यक्षजस्तो जिम्मेवार पदमा रहेका व्यक्तिको त्यस्तो भाषाशैली हुनु आपत्तिजनक रहेको भन्दै एमाले बाँकेकाे प्रचार विभागले पत्रकार सम्मेलन गरेर भर्त्सना गरेको छ । प्रचार विभाग प्रमुख सतिश निरौलाले पालिका अध्यक्षको अभिव्यक्ति अमर्यादित, गैरजिम्मेवार र गालीगलौचपूर्ण रहेको भन्दै नेताहरूले कानुनी उपचार खोज्ने बताए ।

 

प्रकाशित मितिः     १० भाद्र २०८०, आईतवार १७:०५  |