प्रधानमन्त्री प्रचण्डले हुम्लाको बाटो भएर कैलाश पर्वत र मानसरोवरको सजिलै भ्रमण गर्न सकिने व्यवस्था मिलाइने पनि बताए । यसका लागि चीन सरकारसँग सैद्दान्तिक सहमति भएको बिषयले कैलाशको ‘गेटवे’ अर्थात नेपालगन्जलाई दिर्घकालिनरुपमा फाईदा पुग्ने निश्चित छ ।
कैलाश मानसरोवर यात्राको लागि सुर्खेत हुम्ला सिमिकोटको बाटोबाट यसलाई जोड्न सके नेपालले पर्यटनको क्षेत्रमा ठुलो लाभ लिन सक्छ् । यो सडक निर्माणको लागि चिन सरकारसंग सैद्धान्तिक सहमति बनिसकेको छ । सम्माननीय प्रधानमन्त्रीज्यूले यो क्षेत्रको भ्रमण गर्नु भई नेपालको विकास र समृद्धिका लागि यो ऐतिहासिक सास्कृतिक तथा धार्मिक पर्यटनको पुर्वाधार बनाउन छिमेकीसङ्ग सहकार्य गर्दै तत्काल अघि बढ्ने बताउनु भएको छ ।
– रमेश मल्ल,प्रधानमन्त्रीका स्वकीय सचिव
नेपालगन्ज – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार हिन्दुहरुको पवित्र तीर्थस्थल मानसरोवर भ्रमण गरी कैलाश पर्वतको समेत दर्शन गरेका छन् । प्रचण्डले त्यहाँ हुम्लाको बाटो भएर कैलाश पर्वत र मानसरोवरको सजिलै भ्रमण गर्न सकिने व्यवस्था मिलाइने पनि बताए । यसका लागि चीन सरकारसँग सैद्दान्तिक सहमति भइसकेको जानकारी पनि उनले दिएको प्रधानमन्त्रीको निजी सचिवालयबाट प्रेषित प्रेस नोटमा उल्लेख छ ।
प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले कैलाश मानसरोवर यात्राको लागि सुर्खेत हुम्ला सिमिकोटको बाटोबाट यसलाई जोड्न सके नेपालले पर्यटनको क्षेत्रमा ठुलो लाभ लिन सक्ने बताए । उनले भने,–‘यो सडक निर्माणको लागि चिन सरकारसङ्ग सैद्धान्तिक सहमति बनिसकेको छ । सम्माननीय प्रधानमन्त्रीज्यूले यो क्षेत्रको भ्रमण गर्नु भैइ नेपालको विकास र समृद्धिका लागि यो ऐतिहासिक सास्कृतिक तथा धार्मिक पर्यटनको पुर्वाधार बनाउन छिमेकीसङ्ग सहकार्य गर्दै तत्काल अघि बढ्ने बताउनु भएको छ ।’
प्रधानमन्त्री प्रचण्डको भ्रमणसंगै नेपालगन्ज–हुम्लालाई मानसरोवरको ट्रान्जिट बनाउने योजनाले साकार लिन सक्ने बताउँछन, पर्यटनक्षेत्रका अभियानता कृष्णराज चौधरी । उनी भन्छन्,–‘कैलाश जान नेपालगन्ज प्रवेशद्धार नै हो । यदि यो रुटका बिषयमा प्रधानमन्त्रीले दुई देशबीच सहमति गर्नु भएको हो भने असाध्यै खुसीको कुरा हो ।’
पश्चिम नेपालको हुम्ला हुँदै चीनको तिब्बतस्थित कैलाश मानसरोवरको भ्रमण गर्ने पर्यटकहरूको संख्या ह्वात्तै बढेको छ । उक्त यात्राका क्रममा निक्कै मनमोहक दृश्यहरू देखिन्छन् । त्यही पुग्न नेपालगन्जको बाटो तताउनुपर्छ । नेपलागन्ज यतिबेला कैलाश जाने बाटोनको रुपमा परिचित छ । नेपालगन्जमा कैलाशको धार्मिक पर्यटनलाई मध्यनजर गर्दै करोडौ लगानीमा होटलहरु खुलेका छन् ।
चीनको तिब्बतमा पर्ने कैलाश मानसरोवर क्षेत्रमा बर्सेनि हजारौँ पर्यटकले भ्रमण गर्ने गरेका छन् । उच्च हिमाली क्षेत्रमा पर्ने भएकाले कैलाश मानसरोवरको पदयात्रालाई चुनौतीपूर्ण समेत भन्ने गरिन्छ । हिन्दू धर्ममा शिवको वासस्थान भनिने कैलाश समुन्द्र सतहबाट ६ हजार ६ सय ३८ मिटर उचाइमा रहेको छ ।
विभिन्न हिन्दू धर्म ग्रन्थमा कैलाश मानसरोवरको चर्चा गरिएको छ । कैलाश पर्वतलाई परिक्रमा गर्दा ठूलो पुण्य प्राप्त हुने विश्वास गरिन्छ । कैलाश मानसरोवर यात्राका लागि मुख्यतया तीनवटा मार्ग बढी प्रयोग गरिन्छन् । एउटा चल्तीको रूट पश्चिम नेपालबाट शुरू हुन्छ।
वैशाखदेखि असार कैलाश मानसरोवर यात्राका लागि सबैभन्दा उपयुक्त समय मानिन्छ । असोज महिनासम्म पनि त्यहाँ जाने पर्यटकहरूको चहलपहल देखिन्छ । कैलाश मानसरोवर पुग्दा मोक्ष प्राप्ति हुन्छ भन्ने विश्वास कैयौँ तीर्थयात्रीमा पाइन्छ । मानसरोवरमा स्नान गर्ने र कैलाशको परिक्रमा गर्ने उद्देश्य यस्ता धर्मावलम्बीहरूको हुने गर्छ ।
कैलाश मानसरोवर जाने अधिकांश पर्यटक भारतीय छन् । उनीहरू काठमाण्डूबाट शुरूमा नेपालगञ्ज पुग्छन् र प्रायस् एक रात बिताउँछन् । नेपालगञ्जबाट ४५ मिनेटको हवाई यात्रापछि उनीहरू हुम्लाको सिमिकोट पुग्छन् जहाँ उनीहरूलाई सानो हेलिकप्टरहरूले पर्खिरहेका हुन्छन् । सिमिकोटबाट उनीहरू सीमावर्ती हिल्सा पुग्छन् जहाँबाट उनीहरू मोटरबाटोबाट ताक्लाकोटतर्फ लाग्छन् । त्यहाँबाट कैलाश मानसरोवरको वास्तविक यात्रा शुरू हुन्छ ।
चीनको तिब्बतमा पर्ने ताक्लाकोटबाट कैलाश मानसरोवर पुगेर पुनस् त्यहाँ फर्कदा पर्यटकरूले एक हप्ता लामो मन लोभ्याउने एउटा भ्रमण पुरा गरिसकेका हुन्छन् ।