नेपालगन्ज, २ मंसिर । नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्य दीपा शर्माले शनिवार बाँके क्षेत्रमा पर्ने हुलाकी सडकको अनुगमन गरेकी छिन् । पुष्पलाल चौकबाट पूर्व राप्ती पुल हुँदै नयाँ बन्दै गरेको फत्तेपुर कुण्डादेखि बैजापुरको नारायणपुरसम्म र पश्चिमतर्फ नन्दनी मिलदेखि मान खोलासम्मको फोरलेनको अनुगमन गरेकी हुन् ।
दुबैतर्फ काम तीव्र गतिमा संचालनमा रहे पनि निर्माण कम्पनीको माग बमोजिम भुक्तानीमा समस्या रहेको, मुआब्जाको समस्या र विद्युत पोलको चुनौती रहेको हुलाकी राजमार्ग नेपालगन्जका प्रमुख लिला भण्डारीले सो अवसरमा जानकारी गराएका थिए । हुलाकीले पुष्पलालचौकदेखि पूर्व १० किलोमिटर क्षेत्रको विस्तार गर्नका लागि ज्ञानिश शारदा जेभिले १२ करोडमा विस्तारको काम गरिरहेको छ ।
फत्तेपुरको कुण्डादेखि बैजापुरको नारायणपुरसम्म २१ किलो मिटर कालोपत्रे काम एपिक्स कन्काई खड्का जेभिले ७६ करोडको लागतमा गरिरहेको र नेपालगन्ज गुलरिया सडक खण्डको २८ किलोमिटर मध्ये ११ दशमलव ६ किलोमिटर फोरलेन र बाँकी दुईलेनको कामे २ अर्ब ७८ करोडमा शर्मा एण्ड कम्पनीले तीव्र गतिमा गरिरहेको हुलाकी राजमार्ग नेपालगन्जका इन्जिनियर कृष्ण पाण्डेले बताए ।
ती तीनवटै हुलाकी खण्डको अनुगमनपछि सांसद शर्मामाले देखिएका समस्या र चुनौती नीतिगत तहमा उठाउने बताइन । अनुगमनमा प्रगतिशील इन्जिनियर एशोसिएशनका केन्द्रीय सदस्य तथा बाँके इन्चार्ज इन्जिनियर विवेक लामिछानेको समेत सहभागिता रहेको थियो ।