नेपालगन्ज । बर्दियाको कर्तनियाबाट प्रहरीले ठूलो परिमाणमा अवैध सुनका गरगहनासहित दुई जनालाई पक्राउ गरेको छ । शनिबार साँझ इलाका प्रहरी कार्यालय मोतिपुर बाँसगढीबाट खटिएको प्रहरी टोलीले अवैध सुनका गरगहनासहित दुई जनालाई नियन्त्रणमा लिएको हो ।
२८ प्रकारका तयारीका सुनका अवैध गरगहनाहरूसहित दुईजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दिया स्रोतले जनाएको छ ।
पक्राउ पर्नेमा बाँके राप्ती सोनारी गाउँपालिका– २ का दिपेन्द्र घर्तीमगर र नेपालगन्ज उपमहानगरपालिका– १९ का मोहन विक रहेका छन् ।
उनीहरूलाई इलाका प्रहरी कार्यालय बाँसगढीबाट प्रहरी निरीक्षक शैलेश्वरी बोहराको कमाण्डमा गएको टोलीले पूर्व पश्चिम राजमार्गमा पर्ने बारबर्दिया नगरपालिका– ९ कर्तनियाबाट पक्राउ गरेको थियो ।
अवैध रूपमा सुनको कारोबार भइरहेको सूचनाको आधारमा पुगेको प्रहरीले टोलीले उनीहरू सवार प्रदेश३–०१०२३ च ८१६८ नम्बरको गाडीलाई चेकजाँच गर्दा सुनका गरगहना फेला पारेको थियो ।
प्रहरीले उनीहरूलाई सुनका गरगहनाका बिल देखाउन भनेपनि बिल देखाउन नसकेपछि सुनका गरगहना, गाडी र उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
बरामद भएका सुनका अवैध गरगहनाको तौल २९ तोला रहेको बर्दिया प्रहरीले जानकारी दिएको छ ।
शनिबार राति नै अवैध सुनका गरगहनासहित पक्राउ परेका दुबै जनालाई जिल्ला प्रहरी कार्यालय बर्दियामा पु¥याइएको छ ।