ओभरस्पीड सवारी हाँक्नेलाई समात्न बाँकेमा राडारगन प्रयोग


नेपालगन्ज । नेपालगन्ज—कोहलपुर जस्तो ब्यस्त सडकमा अन्धाधुन्ध गतिमा चल्ने सवारीसाधनको आतंक रोक्न जिल्ला ट्राफिक प्रहरी कार्यालयले बिशेष रणनीति कार्यान्वयनमा ल्याएको छ । यो सडकखण्डमा संचालन हुने सवारीसाधनको गति सिमित गरिएको छ भने निश्चित गति भन्दा बढि गतिमा चलेका सवारीसाधन पत्ता लगाउन रडारगन प्रयोग गर्न शुरु गरिएको छ ।

नेपालगन्ज—कोहलपुर सडकखण्डमा ६० भन्दा माथीको गतिमा सवारी साधन चलाउन नपाइने भएको छ भने चलाउनेको फोटो राडारगनले खिच्ने छ । त्यसरी जथाभावी सवारीसाधन चलाउने चालकलाई कारवाही गरिने ट्राफिक प्रहरी बरिष्ठ नायव निरीक्षक प्रविण आचार्यले बताए । उनले भने,—‘शमसेरगन्ज र नेपालगन्ज—कोहलपुर सडकखण्डमा यो शुरु गरेका छौं । यो कार्यले पक्कै पनि दुर्घटना न्यूनिकरण हुने छ ।’

व्यस्त सडकखण्डमा चालकको मनपरीका कारण चालु आर्थिक बर्षको कार्तिकसम्म ५३ वटा सडक दुर्घटना भए । जसमा २२ जनाको मृत्यु र ४१ जना घाइते भए । शहरको अति नै व्यस्त धम्वोझीचोकको जेब्राक्रसिङ्गमै आईतवार साँझ तिव्र गतिकोे ट्यांकरले किच्दा नेपालगन्ज—१७ की शालिनी पाठकको मृत्यु भएको घटनाले शहरमा भयावह बन्दै गएको ट्राफिक व्यवस्थापनको उजागर गरेको थियो । यो घटनाको बिरोधमा सडकदेखि सर्बसाधारणसम्ममा तिव्र आक्रोस देखिएको थियो भने ब्यस्त बजारभित्रको सडकमा अन्धाधुन्ध गतिमा चल्ने सवारीलाई नियन्त्रण गर्न नसकेको आरोप लागेपछि दुर्घटना नियन्त्रण गर्ने अभियानमा प्रहरी जुटेको हो ।

बाँकेमा सवारी दुर्घटनाको तथ्यांकले भयावह अवस्था देखाउँछ । पछिल्लो तीन वर्षमा ४४४ वटा सडक दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय बाँकेले जनाएको छ । सो कार्यालयका अनुसार ती दुर्घटनामा परेर २३० जनाले ज्यान गुमाएका छन् । साना ठूला ४४४ वटा सवारी दुर्घटनामा परेर २३० जनाले ज्यान गुमाएका छन् भने ५२० जना घाइते भएका छन् ।

ट्राफिक प्रहरीका अनुसार, घाइतेमध्ये अधिकांशको हात खट्टामा गम्भीर चोट लागेको छ । उनीहरु अपाङ्गताको अवस्थामा छन् । अधिकांश दुर्घटनाका घटनाहरु किन र कसरी भए भन्ने बारेमा प्रहरीले गरेको अध्ययन अनुसन्धानबाट सडक दुर्घटनाको मुख्य कारण तीव्र गति रहेको पाइएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयले सवारी दुर्घटनाको मुख्य कारण सडकको अवस्था, चालकको लापरवाही, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउनु र सडकमा चौपायाको झुण्ड हुनु र सवारी साधनको अवस्था नै रहेको पाइएको छ । गत तीन वर्षको अवधिमा दुर्घटनामा परेर करिब ६० भन्दा बढी पशु चौपायाको पनि ज्यान गएको तथ्यांकले देखाएको छ । छाडा पशु चौपायाका कारण पनि बाँकेमा धेरै दुर्घटना भएको पाइएको प्रहरीको भनाइ छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार बाँकेमा ट्राफिक नियम उल्लङ्घनका घट्नाहरु पनि सो अवधीमा ठूलो संख्यामा भएका छन् । दुर्घटनाको अर्को प्रमुख कारण ट्राफिक नियम उल्लङ्घन पनि बताइएको छ । पछिल्लो तीन वर्षमा ट्राफिक नियम उल्लङ्घन गरेको अभियोगमा एक लाख ३१ हजार ८८९ सवारी साधनलाई कारवाही गरिएको छ ।

जिल्ला ट्राफिक प्रहरी प्रमुख सुवेदीले विगतका दुर्घटना र कारण केलाउँदै जाँदा जिल्लामा ट्राफिक सचेतनाका विभिन्न कार्यक्रम र गतिविधि निरन्तर सञ्चालन गर्नपर्ने, गति नियन्त्रणलाई कडाइका साथ लागू गर्नपर्ने र मापसे चेकजाँचलाई पनि निरन्तर जारी राख्नु पर्ने देखिएको बताए ।

प्रकाशित मितिः     २८ मंसिर २०८०, बिहीबार ०५:५६  |