- गणेश रावत
नेपालगन्ज । कोहलपुर नगरपालिकाले करोडौँ खर्चेर निर्माण गरेको भ्युटावर अहिले प्रयोगविहीन अवस्थामा रहेको छ । पर्यटन प्रवद्र्धनका लागि भनेर निर्माण गरिएको भ्युटावर अहिलेसम्म सञ्चालनमा आउन नसक्नुको मुख्य कारण हो, टेन्डर नपर्नु ।
लिफ्टसहितको १० तले भ्युटावर सञ्चालनका लागि नगरपालिकाले ३ पटकसम्म टेन्डर आह्वान गरिसकेको छ । तर, टेन्डर पर्न सकेको छैन । जसका कारण अहिले भ्युटावर प्रयोगविहीन अवस्थामा पुगेको हो । तत्कालीन नगर प्रमुख लुटबहादुर रावतले पर्यटन प्रवद्र्धनका लागि भनेर भ्युटावरको शिलान्यास गरेका थिए ।
तर, निर्माण सम्पन्न भएको महिनौं बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन । आन्तरिक पर्यटक बढ्ने त परको कुरा नगरपालिकाभित्रकै नागरिकले पनि भ्युटावर चढ्न पाएका छैनन् । शिलान्यासका बेला निकै चर्चा पाएको भ्युटावर अहिले गुमनाम अवस्थामा छ । जसका कारण करोडौँको लगानी बालुवामा पानी खन्याएझैँ भएको छ ।
५ करोड ८८ लाख रुपैयाँ लागतमा निर्माण गरिएको कोहलपुर–११ गोलपार्कमा अवस्थित उक्त भ्युटावर रङरोगन र सजिसजावटले चिटिक्क छ । बत्ती बलिरहेका हुन्छन् । झिलिमिली बत्तीले रातिमा झकिझकाउ देखिन्छ । तर दिनमा भने सो ठाउँ सुनसान हुन्छ ।
त्यस्तै, कोहलपुर अत्याधुनिक बसपार्कको पनि हालत उस्तै छ । बसपार्क जेनतेन सञ्चालनमा आए पनि सपिङ मल अहिलेसम्म अलपत्र अवस्थामा छ । त्यसका लागि पनि पटक–पटक टेन्डरका लागि सूचना प्रकाशन भइसकेको छ । तर ठेक्का पर्न सकेको छैन । अहिले सपिङ मल पनि प्रयोगविहीन अवस्थामा छ ।
भ्युटावर र सपिङ मल सञ्चालनका लागि टेन्डर आह्वान गर्दा पनि नपरेको कोहलपुर नगर प्रमुख पूर्णप्रसाद आचार्यले बताए । कार्यापालिका बैठक बसेर भ्युटावर सञ्चालनका लागि टेन्डर आह्वान गरे पनि नपरेको मेयर आचार्यले जानकारी दिए । ‘तीन पटक टेन्डर आह्वान ग¥यौँ,’ उनले भने, ‘तर, कसैको ठेक्का परेन । कसैले खासै चासो दिएनन् ।’
बसपार्कमा रहेको सपिङ मलको अवस्था पनि उस्तै रहेको मेयर आचार्यले जानकारी दिए । अब यी संरचनाहरूलाई कसरी उपयोगमा ल्याउने भनेर आफूले व्यवसायीहरूसँग चाँडै नै छलफल गर्ने मेयर आचार्यले जनाए ।
भ्युटावर सञ्चालन गर्न कार्यपालिका बैठक बसेर ११ नम्बर वडाका अध्यक्ष कल्पना शर्माको संयोजकत्वमा ५ सदस्यीय भ्युटावर व्यवस्थापन समिति गठन भएको छ । जसमा ईश्वरीप्रसाद विश्वकर्मा, अनिता बुढा, बालकृष्ण महतारा र सुशीला थापा सदस्य रहेका छन् । समितिले ३ पटकसम्म डेन्डर आह्वान गरे पनि ठेक्का नपरेको संयोजक कल्पना शर्माले बताइन् ।
‘२ लाखमा टेन्डर आह्वान गरेका थियौं,’ उनले भनिन्, ‘आजसम्म कसैको पनि टेन्डर परेको छैन । नियमअनुसार समितिले टेन्डर ग¥यो तर, परेन ।’ अब आउने कार्यपालिका बैठकमा समितिले प्रतिवेदन बुझाउने शर्माले बताइन् ।