नेपालगन्ज, २८ मंसिर । स्थानीय स्तरमा महिलाहरुले उत्पादन गरेका वस्तुहरुको प्रवद्र्धन गर्दै आएको महिला उद्यमी संघ नेपाल बाँकेले यस वर्ष नवौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी मेला आयोजना गर्ने भएको छ ।
महिला उद्यमी संघ नेपाल बाँकेले आगामी पुस २४ देखि २८ गते सम्म नेपालगन्जमा लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी मेला आयोजना गर्ने निर्णय गरेको हो । महिला उद्यमी संघ नेपाल बाँके अध्यक्ष साबित्री बस्नेतको अध्यक्षतामा बसेको बैठकले लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी मेला आयोजनाका लागि विभिन्न संघ संस्थासँग सहकार्य गरेर काम गर्ने निर्णय गरेको छ ।
महिलाहरुले गाउँघरमा उत्पादन गरेका खाद्य वस्तु, लत्ता कपडा, सामाग्री, उत्पादनको बजारीकरणमा लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी मेलाले महत्वपुर्ण सहयोग गर्दै आएको छ ।
महिला उद्यमी संघ नेपाल बाँके अध्यक्ष बस्नेतले यस वर्ष थप व्यवस्थित र ग्रामिण भेगका महिलालाई प्राथमिकतामा राखेर प्रदर्शनी आयोजना गर्ने तयारी गरेको बताईन् । उनले भनिन,‘प्रर्दशनी मेला आयोजना गर्ने हामीले निर्णय गरेका छौं । तयारीमा हामी जुटिसकेका छौं । यस पटक थपः नयाँ स्थानबाट उत्पादन, उद्योग र व्यवसायमा काम गरिरहेका महिलाहरुलाई बजारीकरणका बारेमा सिकाउँदैं सहयोग गर्ने हाम्रो योजना छ ।’
यसैगरी संघको बैठकले प्रदर्शनी मेला आयोजनाको लागि महिला उद्यमी संघ नेपाल बाँकेको प्रथम उपाध्यक्ष रेवती सिंहको संयोजकत्वमा तयारी अगाडी बढाउने निर्णय गरेको छ । प्रदर्शनी मेला संयोजक रेवती सिंहले नव उद्यमी महिलालाई प्रोत्साहन गर्दै व्यापार, व्यवसायमा भएका महिलालाई सहयोग गर्ने उद्देश्यले हरेक वर्ष मेला गर्ने गरेको बताईन । उनले भनिन,‘हामी खुसी छौं । प्रदर्शनी मेलाको तयारी सूरु गर्न पाउँदा ।
यस वर्ष प्रदर्शनलाई अझ आर्कषक र सफल बनाउन हामी विभिन्न योजना बनाएर काम गरिरहेका छौं ।’
यसैगरी आयोजक महिला उद्यमी संघ नेपाल बाँकेको टिमले प्रदर्शनी मेला आयोजनाको बारेमा नेपालगन्ज उप–महानगरपालिका मेयर प्रशान्त विष्टसँग भेटघाट गरेको छ । भेटघाटको क्रममा उप–महानगरपालिकाको समन्वयमा मेलालाई थप प्रभावकारी बनाउने बारेमा छलफल भएको संयोजक सिंहले बताईन् ।
महिला उद्यमी संघ नेपाल बाँकेले नेपालगन्ज धम्बोझी चोक नजिकैं सिटिजन्स बैंक अगाडी तरकार बिक्री गर्दै आएका महिलाहरुलाई कोशेल घरको प्राङगण निःशुल्क उपलब्ध गराउने निर्णय गरेको छ । त्यसको समन्वय र व्यवस्थापनको लागि नेपालगन्ज उप–महानगरपालिकासँग सहकार्य गर्ने महिला उद्यमी संघ नेपाल बाँके अध्यक्ष बस्नेतले बताईन् ।