नेउवा संघले भन्याे,- ‘न्युरोडबाट बलजफ्ती सामान नियन्त्रणमा लिइयाे’


नेपालगन्ज १ पुस । नेपालगन्ज भंसारबाट पास भएको एउटा मालबाहक ट्रक सशस्त्र प्रहरीले बरामद गरेपछि उत्पन्न बिवादका बिषयमा नेपालगन्ज  उद्योग वाणिज्य संघ(नेउवा संघ)ले औपचारिकरुपमा मुख खाेलेकाे छ ।

भंसारबाट सहजै माल पास तर राजश्व चुहावटमा धमाधम कारबाही

सशस्त्र प्रहरी बलले व्यवसायीमाथि लाठीचार्ज गर्दै सामान नियन्त्रणमा लिएको आरोप लगाउँदै संघले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

संघका महासचिव भिम बहादुर रानाभाटले आइतबार प्रेस बिज्ञप्ति जारी गर्दै न्यूरोड नेपालगन्जको गिप्सन आशिका इन्टरप्राइजेजका सञ्चालक जुआरा बुढाले २९ मंसिर २०८० मा नेपालगन्ज उद्योग वाणिज्य संघमा दिएको निवेदन अनुसार ६०३६५८३४५०११०NP एक्जिम कोर्ड प्रयोग गरी २९ मंसिर २०८० को दिन गाडी नं. HR६७३११३० मा रहेको पसलको १११६० थान कम्मललगायतका सामान प्रज्ञापन पत्र दर्ता नं. २९३१२ बाट दर्ता भइ जाँचकी भुपराज पाण्डे र अधिकृत पूर्णप्रसाद लम्सालबाट चेकजाँच भएको बताएका छन् ।

यसरी भन्सार तिरेर आएको सामान पसलमा पुग्दा शसस्त्र प्रहरी बलको टोलीले जबरजस्ती रुपमा उक्त गाडी नियन्त्रणमा लिने कार्य गरेकाे आरोप लगाउदै उक्त कार्यप्रति घोर आपत्ति गरिएको छ। गाडी नियन्त्रणमा लिने क्रममा शसस्त्र प्रहरी बलको टोलीले संघका अध्यक्ष टंक बहादुर धामी, प्रथम उपाध्यक्ष चिरञ्जीवी ओली, द्वीतिय उपाध्यक्ष हरिलाल न्यौपाने, महिला उपाध्यक्ष मन्दिरा पाण्डे, उपमहासचिव टेक बहादुर खड्का, कोषाध्यक्ष मख्खन बहादुर धामी, कार्य समिति सदस्यहरु र उद्योगी व्यवसायीमाथि लाठी प्रहार गरेको दावी गरिएको छ ।

गृह प्रशासनले मुस्कानसहितको सेवा दिने भनेर प्रचार गर्ने तर प्रहरी प्रशासनलाई सहजीकरण गर्न गएका उद्योगी व्यवसायीको अगुवामाथि लाठी प्रहार गर्ने कार्य आपत्तिजनक भएको बिज्ञप्तिमा उल्लेख छ । व्यवसायीमाथि लाठी प्रहार गर्ने शसस्त्र प्रहरी बलको टोलीमाथि छानबिन गरी कारबाही गर्न गृहमन्त्रालयसँग जोडदार माग गरिएको छ ।

१०० रुपैयाँभन्दा माथिको सामानको अनिवार्य रुपमा भन्सार तिर्ने व्यवस्थालाई कडाइका साथ लागू गर्न संघले जमुनाहा नाकामै बैठक बसेर, प्रधानमन्त्री, अर्थमन्त्री, भन्सार विभागका महानिर्देशकलाई ज्ञापन पत्र बुझाउदै दवाब दिँदै आइरहेको स्मरण गराउन गराइएको छ ।

कोरोना महामारीपछि बैंकको बढ्दो व्याजदर र आर्थिक मन्दीले मारमा परेका उद्योगी व्यवसायीको पीडामा मल्हम लगाउनु पर्ने भन्सार दर, भन्सार प्रणाली र भन्सार नाकालाई व्यवस्थित नगरी भन्सार तिरेर आयात गरिएका सामानलाई विभिन्न बाहानामा पुनः अर्को निकायले दुःख दिने कार्यले व्यवसायीलाई धरासायी बनाउने खेल रहेको संघकाे ठम्याइँ रहेको छ ।

त्यसैले भन्सार चेकजाँचमा भएका कमि कमजोरीलाई सच्चाउँदै उद्योगी व्यवसायीले कर तिरेर एकद्वार प्रणालीबाट सामान आयात निर्यात गर्ने व्यवस्थालाई सहजीकरण गर्न पनि संघ नेपाल सरकारसँग जोडदार माग गरिएको छ ।

प्रकाशित मितिः     १ पुष २०८०, आईतवार १७:४७  |