पाँच महिनामा ६ खर्ब रुपैयाँ बढीको वस्तु आयात


काठमाडौं। चालू आर्थिक वर्ष २०८०/८१ को पाँच महिना (साउनदेखि मंसिर) मा ६ खर्ब रुपैयाँ बढीको वस्तु आयात भएको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार यस वर्ष पहिलो पाँच महिनामा कुल ६ खर्ब ४२ अर्ब २० करोड ८९ लाख ६४ हजार रुपैयाँको वस्तु भित्रिएको हो।

यो गत आर्थिक वर्ष २०७९/८० को सोही अवधिको तुलनामा ३.३९ प्रतिशतले कम हो। गत आर्थिक वर्ष सोही अवधिमा ६ खर्ब ६४ अर्ब ७४ करोड ४६ लाख ४५ हजार रुपैयाँबराबरको आयात भएको थियो।

यस्तै गत वर्षको तुलनामा निर्यात पनि ६.०९ प्रतिशतले घटेको छ। यस वर्षको पाँच महिनामा नेपालबाट कुल ६३ अर्ब २० करोड ७४ लाख ३५ हजार रुपैयाँबराबरको निर्यात भएको छ। गत वर्ष सोही अवधिमा भने ६७ अर्ब ३० करोड ४५ लाख २ हजार रुपैयाँबराबरको निर्यात भएको थियो।

भन्सार विभागका अनुसार यस अवधिमा नेपालको कुल व्यापार घाटा ५ खर्ब ७९ अर्ब रुपैयाँभन्दा बढी छ। गत वर्ष सोही अवधिमा यस्तो व्यापार घाटा ५ खर्ब ९७ अर्ब रुपैयाँभन्दा बढी थियो। यस्तै गत वर्षको तुलनामा वैदेशिक व्यापार घाटा पनि ३.६४ प्रतिशतले कमी आएको छ।

चालू आर्थिक वर्ष यस पाँच महिनाको नेपालको वैदेशिक व्यापार घाटा कुल ७ खर्ब ५ अर्ब ४१ करोड रुपैयाँ छ। गत वर्ष पाँच महिनाको वैदेशिक व्यापार घाटा भने कुल ७ खर्ब ३२ अर्ब ५ करोड रुपैयाँ थियो।

प्रकाशित मितिः     १२ पुष २०८०, बिहीबार ११:००  |