डेडिकेटेड र ट्रंक लाइनको बक्यौता सवा २२ अर्ब नतिर्ने सबैको लाइन काट्ने कुलमानकाे घाेषणा


काठमाडौं। नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइन लिएका उद्योगले तिर्न बाँकी बक्यौता सार्वजनिक गरेको छ। प्राधिकरणले बिहीबार पत्रकार सम्मेलन गरी ६१ वटा उद्योगले २२ अर्ब २४ करोड ५७ लाख ७७ हजार रुपैयाँ तिर्न बाँकी रहेको विवरण सार्वजनिक गरेको हो। यो हिसाब मंसिर मसान्तसम्मको हो।

प्राधिकरणले बक्यौताको हिसाब सार्वजनिक गर्ने क्रममा उद्योगलाई डेडिकेटेड र ट्रंक लाइनबाट उपलब्ध गराएको विद्युतको क्षमता पनि उल्लेख गरेको छ। उसको विवरणमा जगदम्बा स्टिलले सबैभन्दा धेरै ४ अर्ब १४ करोड रुपैयाँ तिर्न बाँकी देखिएको छ।

लोडसेडिङ अन्त्य भएपछि तीन वटा उद्योगलाई ट्रंक लाइनमा जोडिएको देखिएको छ। नारायणी स्पात मिल्स, जगदम्बा इन्टरप्राइजेज र श्री सिद्धिलक्ष्मी स्टिललाई ट्रंक लाइनबाट बिजुली दिएको र त्यसबापत १ अर्ब ३१ करोड २४ लाख रुपैयाँ बक्यौता रहेको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रिमियमसहितको विद्युत महसुल भुक्तानीका लागि पटक पटक ताकेता एवम् सार्वजनिक सूचनामार्फत अनुरोध गर्दा पनि अटेरी गरेपछि बाध्य भएर लाइन काट्न सुरु गरेको प्रष्टीकरण दिएका छन्।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक पत्रकार सम्मेलनमा बोल्दै प्राधिकरणले महसुल बक्यौता रहेकामध्ये ९ उद्योगको लाइन काटेको छ। ती ९ उद्योगको नाममा १२ अर्ब ५० करोड रुपैयाँ बक्यौता छ। बक्यौता रहेका अन्य उद्योगहरुको लाइन क्रमश: काट्ने घिसिङले बताए।

उनका अनुसार डेडिकेटेड र ट्रंक लाइनबाट विद्युत लिएका २३९ उद्योगमध्ये १७८ वटाले प्रिमियमसहितको विद्युत महसुल यसअघि नै भुक्तानी गरिसकेका छन्।

प्रकाशित मितिः     १२ पुष २०८०, बिहीबार १५:३५  |