नेपालगन्ज ६ माघ । दिलु चौधरीले काम नपाएको चार दिन भयो । काम नगरेका कारण उनीसंगै पैसा छैन । साथीभाईको कोठामा साँझबिहानको खाना खाइरहेका छन् ।
अब त साथीभाईको पनि खाना सकिनेबेला भइसक्यो । ‘यहाँ काम खोज्न आउन लागेको चार वर्ष भयो तर यस्तो समस्या मैले कहिल्यै झेलेको थिएन । पहिलो पटक कामै नपाएर बसिरहेको छु ।’– दिलुले दुखेसो पोखे ।
बर्दिया राजापुरका रामलखन थारुले पहिले रिक्सा चलाउथे । त्यसबाट खर्च मात्रै हुने आम्दानी नहुने भएपछि मजदुरी शुरु गरे । तर अहिले भने जस्तो काम पाइदैनन् । काम पाइहाले पनि थोरै पैसा मिल्छ । ‘कामको खोजिमा नेपालगन्ज
आइयो । यहाँ त काम नपाइनाले कोठाभाडा तिर्नै मुस्किल होला भइसक्यो ।’– रामलखन भन्छन् ।
दिलु र रामलखन जस्ता पाँच सय मजदुर कामको खोजिमा हरेक बिहान नेपालगन्जको श्रमहाटमा जम्मा हुन्छन् । तर यसरी जम्मा भएका मध्ये मुस्किलले सय जनाले पनि
रोजगारी पाउँदैनन् । रामलखन भन्छन्,–‘बाँकी सबै कामबिहिन हुनुपर्छ । साँझ के खाने भन्ने पिरलो छ ।’
उनका अनुसार कोरोना पछि यो समस्या बढेको हो । आर्थिक मन्दीले घर एवं पूर्वाधार निर्माणको काम ठप्प छ । त्यसको असर दिनभर काम गरेर त्यहीबाट आएको पैसाले छाक टार्नेहरुलाई परेको बताउँछन्, रमेश यादव । उनी भारत रुपैडियाका हुन तर कामको खोजिमा नेपालगन्जको
श्रमहाटमा आउँछन् ।
‘मसहित मेरो गाउँबाट दशजना यहाँ काम खोज्दै आउँछौं । तर पछिल्लो दुई बर्षयता खासै काम पाइएको छैन् । काम पाइएपनि थोरै पैसा पाइन्छ ।’– उनी भन्छन् । बर्दिया राजापुरकै रुपा थारुको पीडा पनि रमेशको जस्तै छ । काम पाए पनि न्यूनतम सात सय प्रतिदिन ज्याला पाउनुपर्नेमा चार सयमै काम गर्नुपर्ने बाध्यता रहेको सुनाइन ।
उनी भन्छिन्,–‘यही चारसयमै काम नगर्ने हो भने पनि
खानलाउन पुग्दैन् । काम नपाइने हाम्रो बाध्यतालाई टेकेर ठग्ने काम भइरहेको छ ।’ रुपाका अनुसार त कयौं मजदुरले त त्यही थोरै पैसा समेत ठेकेदारबाट पाएका छैनन् ।
यसरी न्यून ज्याला र काम गरेको पैसा नपाउने समस्याबाट पिरोलिएका श्रमहाटका मजदुरहरुका बिषयमा कसैले बोल्दैनन् उल्टो हेप्ने काम भइरहेको छ ।
नेपालगन्जको श्रमहाटबजार बर्षौदेखि लाग्दै आएको छ । जहाँ कामको खोजिमा आएका बाँके र बर्दियाका ग्रामीणक्षेत्रका श्रमिक र कामदार खोज्नेहरुको हरेकबिहान भिड लाग्छ । बर्षाैदेखि त्रिभुवनचोकमा लाग्दै आएको यो श्रमिक हाट
पछिल्लो समय नेपालगन्ज रंगशाला जानेबाटोमा सारिएको छ ।
स्वस्फूर्तरुपमा श्रमिकहरु यहाँ बिहान जम्मा हुन्छन् । त्यसरी जम्मा भएका श्रमिकहरुलाई रोजगारदाता व्यक्तिले काममा लैजान्छन् । व्यक्ति विशेष हुँदै ठेकेदारहरुको माध्यमबाट यहाँ जम्मा हुने श्रमिकले रोजगारी पाउँदै आएका छन्
। उनिहरुले दिनको हिसावले काम गर्छन् र चलनचल्ती अनुसारको पारिश्रमिक पाउदै आएका छन् । एक ठाउँ काम सकिए पछि फेरि अर्को दिन पहिलेको जस्तै श्रम
हाटबजारमा गई नयाँ कामको खोज्न लाग्छन् ।
पुरुषसंगै महिला कामदारहरुको पनि उपस्थिति हुने भएकाले स्वस्फूर्तरुपमा बर्षाैदेखि लाग्दै आएको यो श्रमहाटले स्वदेशमै रोजगारि खोज्ने र स्वदेशमै कामदार खोज्नेबिचको पुलको काम गरेपनि यसलाई ब्यवस्थित गर्न कसैले चासो
दिएका छैनन् । उल्टो हेपाह नजिरले हेरेर बिहान जम्मा हुँदा समेत झर्को मान्ने गरेको भन्दै श्रमिकहरुले पिरमर्का सुनाउछन् ।
नेपालगन्जमा घर,सडक जस्ता पुर्वाधार निर्माणमा चाहिने श्रमिक आपूर्ति गर्दै आएको श्रम हाटलाई ब्यवस्थित गर्न र यहाँ श्रमिकको न्युनतम सेवासुविधा सुनिश्चित गर्न कसैले चासो नदिएको अवस्था छ ।