दुगडमा अनुगमनले काेलाहल


दुगड ग्रुप उत्पापदनको आकस्मिक निरीक्षण गर्दा चामल र चिउराको तौल घटाएर उपभोक्तलाई ठगी गर्दै आएको भेटिएको छ,याे बिषयमा समितिमा छलफल गराउँछु । -अब्दुल खान

-‘प्याकेजिङ भइरहेका एकाध बाेरामा ताैल कम हुन सक्ने बिषयलाई जे जसरी सार्वजनिक गरिएको छ,त्यसले दुखि बनाएको छ । उपभोक्ताका मायाले गर्दा नै बर्षाैदेखि उद्योग चलेकाे छ । ठग्ने सवाल नै आउदैन ।- प्रदिप छाजेड,केएल दुगड

नेपालगन्ज ८ फागुण । बाँकेको गनापुरमा रहेको केएल दुगड ग्रुप माथि चामल र च्युउरा तौल कम गरी ठगी गरेको आरोप लागेकाे छ । प्रतिनिधिसभाकाे उद्योग तथा वाणिज्य र श्रम उपभोक्ता हित समितिका सभापति एवंम् पूर्व खानेपानी मन्त्री अब्दुल खानका अनुसार आइतबार उद्योग अनुगमनका क्रममा कम ताैलकाे चामल र च्युउरा भेटिएको हो ।

उद्योग तथा वाणिज्य र श्रम उपभोक्ता हित समितिका सभापति एवंम् पूर्व खानेपानी मन्त्री खानले अनुगमनको क्रममा तौलमा उपभोक्तालाई ठगी गरेको भेटिएपछि नियम बमोजिक जरीवाना र आवश्यक कारवाही गर्ने बताएका छन्।

अनुगमन पछि संचारमाध्यमसंग कुराकानी गर्दै सभापति खानले दुगड ग्रुपले उत्पादन गरेको २० किलो चिउरा र ५० किलोको अरुवा मोटा चामलको बोरामा ५० ग्रामदेखि २०० ग्राम घटाएर बेचेको गुनासो आएपछि आकस्मिक अनुगमन गरेकाे जनाए । उनका अनुसार, दुगड ग्रुप उत्पापदनको आकस्मिक निरीक्षण गर्दा चामल र चिउराको तौल घटाएर उपभोक्तलाई ठगी गर्दै आएको भेटिएको हाे । अनुगमनपछि पत्रकारहरुसंग संक्षिप्त कुरा गर्दै सभापति खानले उपभोत्तालाई ठगेको भेटिएकोले उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम कारवाही गर्ने जिकिर गरे ।
दुगड ग्रुपका कर्मचारीहरुले सभापति खानलाई अनुगमन गर्नमा केही समय अवरोध गरेपछि प्रहरीको सहयोगमा उद्योगभित्र अनुगमन गर्दा तौलमा ठगी गरेको पाइएको दावी छ ।

तर उद्योगका प्रबन्धक प्रदिप छाजेडले ‘अनुगमनपछि संचारमाध्यममा सार्वजनिक भएका बिषय’ले आफुलाई अचम्मित बनाएको बताएका छन् । छाजेड भन्छन्-‘प्याकेजिङ भइरहेका एकाध बाेरामा ताैल कम हुन सक्ने बिषयलाई जे जसरी सार्वजनिक गरिएको छ,त्यसले दुखि बनाएको छ ।’ उपभोक्ताका मायाले गर्दा नै बर्षाैदेखि उद्योग चलेकाे भन्दै उनले ठगी गर्न आवश्यक नरहेकाे बताए ।

सभापति खानको टोलीले दुगड ग्रुपसहित पानस कम्पनी र अम्बे स्टिलको समेत अनुगमन गरी उद्योगहरुमा काम गर्ने मजदुरहरुको समस्या र पारिश्रमिकका विषयमा छलफल गरेको थियो । सभापति खानका अनुसार, अम्बे स्टिलमा काम गर्ने मजदुरहरुले समयमा पैसा नपाएको र सुरक्षा उपकरण कम्पनीले उपलब्ध नगराएको गुनासो पोखेका थिए । सभापति खानले फ्याक्ट्री म्यानेजर अनुज श्रेष्ठलाई अम्बे स्टिलमा देखा परेको समस्यालाई तत्काल समाधान गर्न निर्देशन दिएको बताउदै काठमाडौ फर्किए लगत्तै लिखित रुपमा आवश्यक निर्देशनहरु पठाउने बताए ।

प्रकाशित मितिः     ८ फाल्गुन २०८०, मंगलवार १४:५०  |