मेनुका पौडेलको लाइभ कन्सर्ट नेपालगंजमा


नेपालगंज । ईन्डियन आइडलमा दिएको प्रस्तुतिले चर्चा र प्रसंशाको शिखरमा पुगेकी गायिका मेनुका पौडेलको कन्सर्ट आगामी फागुन २७ गते नेपालगंजमा हुने भएको छ ।

अन्तरालको आयोजना र व्यवस्थापनमा फागुन २४ गते देखि नेपालगंज रंगशालामा हुने नेपाल कल्चर फेस्टिवलकै अवसर पारेर यो विशेष कन्सर्ट गर्न लागिएको हो
दृष्टिविहिन भएर पनि सांगीतिक क्षेत्रमा मेनुकाको लगाव र सफलताले सवैको ध्यान तानेको छ ।

मेनुकाले नेपाल आइडलमा भाग लिएपछि नेपालीहरु माझ चिनिएकी थिईन् । भारतीय गायन रियालिटि शो ‘ सारेगमप ’ मा समेत भाग लिएकी मेनुका पौडेलको चर्चा त्यतिवेला चुलियो, जव उनले इन्डियन आइडलमा भाग लिएर आफ्नो स्वरको जादु छरिन् ।
इन्डियल आयडलको प्रस्तुतिले उनलाई विश्वभर चिनायो । भारतीय गीत संगीत र चलचित्र क्षेत्रका विशिष्ट र ख्यातिप्राप्त कलाकर्मीहरुले पौडेलको खुलेर प्रसंशा गरे । उनीहरुले मेनुका पौडेलको गायकी र स्वरको प्रसंशा गर्दै भारतीय महान् गायिका लता मंगेशकरसँग पनि तुलना गरेका छन् ।

इडियन आइडलकै क्रममा उनले भारतीय चलचित्र ‘सलार’ मा गीत रेकर्ड गराएर बलिउड फिल्म इन्डष्ट्रीमा ‘डेब्यु’ समेत गरेकी छन् । उनका नयाँ गीतहरु रेकर्ड हुने क्रम जारी छ ।
यो विशेष कार्यक्रम लाई ‘ लेट्स सिङ विथ मेनुका ´ (मेनुका सँगै गाऔं ! ) नाम दिइएको छ – फेस्टिवलका परिकल्पनाकार अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले भने – ‘गायिका मेनुकाको उपस्थितिले यस क्षेत्रका किशोर किशोरीहरुलाई पनि प्रोत्साहित गरोस् भन्ने हाम्रो उद्देश्य हो’ ।

बाद्यवादन टिम सहित मेनुकाको ‘ लाइभ ’ प्रस्तुति हुनेछ । कन्सर्टको टिकट स्टल र क्याफेहरुवाट विक्री गरिनेछ भने अनलाइन वाट समेत किन्न सकिनेछ । विद्यार्थीहरुलाई विशेष सहुलियत रहनेछ ।

प्रकाशित मितिः     १० फाल्गुन २०८०, बिहीबार ०७:२७  |