कहाँ बेच्ने दूध ?


नेपालगन्ज १२ फागुण । दूध उत्पादन गर्ने चितवनका किसानहरु आन्दोलनमा उत्रेका छन् । त्यहाँ किसानले त दूध सडकमै पाेखेर बिराेध जनाए । ठ्याक्कै त्यस्तै समस्याबाट पिराेलिएका छन् बाँकेका दुग्ध उत्पादक कृषक ।

दुग्ध व्यवसायी संघका महासचिव सन्ताेष पाैडेलका अनुसार, यतिबेला दूध नबिकेर किसान हैरान छन् । दूध कहाँ राख्ने ? कहाँ बेच्ने कुनै टुंगो छैन ।
निजी तथा सरकारी डेरी उद्योगहरुले लामो समयदेखि किसानको दूधको भुक्तानी नदिएका र पछिल्लो समय दूध पनि उठाउन छाडेकाे किसानहरु बताउँछन् ।

डुडुवा गाउँपालिका- ५ का किसान छाेटु यादवले दुग्ध किसानहरुको धैर्यताको बाँध टुटेको बताए । उनले भने, ‘किसानको दूध बिक्न छोड्यो, बिक्री भएको दूधको भुक्तानी पनि पाइएन । सरकारले किसानको पीडा सुन्दै सुनेन ।’

कम्दिका अगुवा कृषक रामबृक्ष यादवका अनुसार त्यस गाउँ मात्रै दुई हजार भैसिपालन गरिएको छ । दूध नबेच्ने घर छैनन् । तर अहिले दूध नविकेर हाहाकार छ । असाेजदेखि पैसा पाएका छैनन् । पशु र किसान भाेकै रहने अवस्था रहेकाे यादव बताउँछन् ।

दुग्ध व्यवसायी संघका महासचिव पाैडेलले भने, ‘दूध पोख्ने कार्यक्रम आफैँमा राम्रो होइन, तर बाध्य भएर सडकमा दूध पोख्ने अवस्थामा अरु जिल्लाका साथिहरु पुगेछन् । अरु जुनकुनै आन्दोलन गर्दा पनि सरकारले सुनेन ।’

उत्पादक किसानहरुले असाेज महिनादेखिको भुक्तानी पाउन सकेका छैनन् । पछिल्लो समय डेरी उद्योगहरुले सहकारीबाट दूधसमेत उठाउन छोडेका छन् ।

‘निजी डेरी उद्योगहरुले दुग्ध सहकारीबाट दूध उठाउन छोडेका छन्, दुग्ध सहकारीहरु बन्द अवस्थामा पुगे’, पाैडेलले भने, ‘किसानको पीडा सरकारले बुझेन, कृषिमन्त्रीदेखि सचिवहरुसँग किसानहरु वार्तामा बस्यौँ, तर माग पूरा भएन । फलस्वरुप आन्दोलनको विकल्प छैन ।’ दुग्ध उद्योगहरुलाई उधारोमा दूध बेच्न बाध्य भएका किसानहरुले दसैँपछि भुक्तानी पाएका छैनन् ।

किसानले दुग्ध सहकारीहरुमा दूध बेच्छन् । किसानबाट संकलित दूध सहकारीहरुले उद्योगलाई बिक्री गर्छन् । उद्योगबाट भुक्तानी आए किसानले दूधको पैसा पाउँछन्, नत्र पाउँदैनन् ।

‘सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डिडिसी) तथा निजी डेरी उद्योगहरुले दुग्ध सहकारीहरुलाई छ महिनादेखिको भुक्तानी पठाएका छैनन्, जसले गर्दा किसानले दूध बेचेर पनि पैसा पाएनन् ।

प्रकाशित मितिः     १२ फाल्गुन २०८०, शनिबार ०७:५९  |