खजुरा गाउँपालिकामा महिलाका लागि नि:शुल्क स्वास्थ्य परीक्षण शुरु


नेपालगन्ज । खजुरा गाउँपालिकामा महिलाका लागि नि:शुल्क स्वास्थ्य परीक्षण शुरु भएको छ । स्वास्थ शाखाले आइतबार रनियापुरमा बरिष्ठ स्त्रीरोग बिशेषज्ञमा महिलाकाे नि:शुल्क स्वास्थ्य परीक्षण गरेसंगै अभियान शुरु भएको हो ।

गाउँमै बरिष्ठ चिकित्सकले स्वास्थ्य परीक्षण गर्दा महिलाहरु हर्षित थिए । पालिकाकाे उपाध्यक्ष विशेष कार्यक्रम अन्तरगत याे स्वास्थ्य परीक्षण शिविरकाे आयोजना गरिएको हाे ।

नर्सिङ अधिकृत लक्ष्मी केसी ओलीका अनुसार वेस्टर्न अस्पतालका स्त्रीरोग बिशेषज्ञ डा कल्पना थापाले आइतबार स्वास्थ्य परीक्षण गर्नुभयाे ।

उहाँका अनुसार पालिका आइतबारबाट शुरु भएको अभियान सबै वडामा संचालन हुने छन् । यसबाट ग्रामीण क्षेत्रका महिलाकाे स्वास्थ परिक्षण सहज हुनेछ । रनियापुर शिविरमा क्यान्सर,आङको समस्या जस्त महिलासंग सम्बन्धित स्वास्थ्यका बारेमा परिक्षण गरिएको थियो । शिविरमा ८५ जना महिलाले लाभ लिए ।

क्यान्सर परिक्षणमा कसैलाई केही नदेखिए पनि आङको समस्या देखिएकालाई भने थप उपचारका लागि रेफर गरिएको छ । सेवाग्राहीलाई नि: शुल्क औषधि समेत दिइएको थियो । शिबिरको अध्यक्षता रनियापुरका वडा अध्यक्ष फिरोज खानले गरेका थिए ।

उक्त कार्यक्रममा डा कल्पना थापाले महिलाको लागि प्रजनन स्वास्थ्यको महत्वकाे बताइन । उक्त कार्यक्रममा कार्यपालिका सदस्य सुबुन धोबि, कार्यपालिका सदस्य खतमुलनिशा, वडा नम्बर चारका अध्यक्ष प्रमुख प्रशासकीय अधिकृत, योजना अधिकृत , स्वास्थ्य शाखा टिम , रनियापुर स्वास्थ्य चौकी परिवार , स्वयंसेविका लगायतको सहभागी थियाे ।

प्रकाशित मितिः     २० फाल्गुन २०८०, आईतवार २१:३२  |