नाैवस्ता औद्योगिकक्षेत्र निर्माणमा सरकारकाे ख्यालठट्टा !


नेपालगन्ज । दर्जन उद्योग मन्त्रीले बाँकेको नौबस्तामा प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणस्थल निरिक्षण गरिसके । निर्माणस्थल पुग्दा हरेक मन्त्रीले समयमै बन्ने आश्वासन दिन छाड्दैनन् । तर यसरी उद्योगमन्त्रीहरुले समयमै बन्ने भन्दै आश्वासन दिन थालेको एक दशक बित्दा समेत नौवस्ता औद्योगिकक्षेत्रको निर्माणको काम जहाँको त्यही छ ।

उद्योगमन्त्रीको नौवस्ता औद्योगिकक्षेत्र निरिक्षणको श्रृखंला नवनियुक्त उद्योगमन्त्री दामोदर भण्डारीसम्म आइपुग्दा जारी छ । एउटा काम बिशेषले यहाँ आइपुगेका भण्डारीले बिहीवार नौवस्ता औद्योगिकक्षेत्र अवलोकन गर्दै सम्भवत भएसम्म यसै बर्षभित्र काम शुरु हुने प्रतिवद्धता जनाए । पश्चिम नेपालको औद्योगिक विकासमा महत्वपूर्ण योगदान दिने बिश्वास गरिएको उक्त योजना कार्यान्वयनमा आफु प्रतिबद्ध रहेको बताउँदै उनले त्यसका लागि सबैको साथ चाहिने उल्लेख गरे ।

मन्त्रीको यो आश्वासनप्रति धेरै उद्योगी,व्यवसायी ढुक्क छैनन् । ‘उहाँको भनाई र नियतप्रति कुनै आशंक छैन् । तर बिगतका धेरैका आश्वासन पुरा नभएका कारण बिश्वास गर्ने वातावरण बनेनन’— नेपाल उद्योग वाणिज्य महासंघका पूर्वक केन्द्रीय सदस्य चक्र अधिकारी भन्छन्,—‘कस्का कारण यो परियोजना अल्झिएको छ ? हामी हैरान छौ. ।’ नेपाल उद्योग वाणिन्य महासंघका पूर्व केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले पनि यो परियोजना समयमै नबन्दा लगानीको वातावारण खेर गइरहेको बताउँछन् ।

२०७२ साल चैत १ गते नौबस्तामा प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माण गर्ने सरकारले निर्णय गरेको थियो । तर जग्गा जग्गाको अतिक्रमण हटाउन नसक्दा परियोजना बनेको त छैन छैन जग्गा संरक्षणमा चुनौती बढ्दै गएको छ । औद्योगिक क्षेत्रको निर्माण कार्य अलपत्र परेको छ ।

प्रदेशस्तरको औद्योगिक क्षेत्र निर्माणका लागि बाँकेको बैजनाथ गाउँपालिका—३ मा छुट्याइएको ३३८ बिघा क्षेत्रफल जमिनभित्रै २६८ स्थानीयले घरटहरा बनाएको हुँदा उनीहरूको अवरोधकै कारण हालसम्म निर्माण कार्य सुरु गर्न नसकिएको नेपालगञ्ज औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जनाएको छ ।

सो कार्यालयका प्रमुख कृष्णबहादुर पुनका अनुसार पटक पटक प्रयास गरे पनि जग्गा अतिक्रमण हटाउन नसक्दा हालसम्म पनि औद्योगिक क्षेत्र परियोजनाको काम अगाडि बढाउन सकिएको छैन ।

स्थानीयको अवरोधकै कारण परियोजनाको काम सुरु नहुँदा औद्योगिक क्षेत्रको जमिनमा घरटहरा थपिने क्रम पनि बढेको पाइएको छ । औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयको तथ्यांकमा २६८ घर टहरा रहे पनि त्यहाँ बसोबास गर्दै आएका स्थानीयले सो संख्या बढेको बताएका छन् ।

कोहलपुर र नेपालगञ्ज उद्योग वाणिज्य संघले पनि सो औद्योगिक क्षेत्रको काम द्रतरूपमा अघि बढाउनका लागि पटक पटक दबाव दिँदै आएको छ । औद्योगिक क्षेत्रको जग्गा अतिक्रमण हटाएर काम शुरु गर्न पटक पटक आग्रह गरिए पनि सुनुवाई नभएको नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष अब्दुल वाहिद मन्सुरीको गुनासो छ ।

उनले नेपालगञ्ज औद्योगिक क्षेत्रमा उद्योग खोल्न जग्गा समाप्त भैसकेकाले नौबस्ता औद्योगिक क्षेत्र छिटो भन्दा छिटो सञ्चालनका लागि उद्योगीको दबाव बढ्दै गएको उल्लेख गरेका छन् ।

 

प्रकाशित मितिः     ४ चैत्र २०८०, आईतवार ०७:५८  |