- कान्तिपुर दैनिकबाट
काठमाडौं —अन्तर्देशीय संगठित गिरोहले भित्र्याएको तस्करीको सुन काठमाडौं उपत्यकाभित्र र बाहिरका सुनचाँदी पसलमार्फत व्यवस्थापन भएको खुलिसक्दा पनि अनुसन्धानको जिम्मेवारी पाएको सीआईबीले बृहत् अनुसन्धान अघि बढाएको छैन । विद्युतीय चुरोट (भेप) र ब्रेक सुजस्ता उपकरणमा लुकाएर गत वर्ष ल्याइएको सुनसमेत नेपालकै सुनचाँदी पसलले किनेर सर्वसाधारणलाई बेचेको प्रहरी अनुसन्धानबाटै खुलेको थियो ।
पक्राउ परेका व्यक्तिहरूले तस्करीको सुन अरू पसलमा पनि व्यवस्थापन गरिएको बताएका थिए । तिनीहरूमाथि अनुसन्धान नगरी सीआईबीका तत्कालीन प्रमुख श्याम ज्ञवालीले प्रतिवेदन बुझाएका थिए ।
आर्थिक वर्ष २०७९/८० मा मात्रै चिनियाँ तस्करले भेप, ब्रेक सु र विद्युतीय उपकरणलगायतमा लुकाएर करिब ३५ क्विन्टल सुन भित्र्याएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धानबाट खुलेको थियो । यसरी भित्रिएको सुनको भारत निकासी हुन्छ भन्ने भ्रम छ, तर भन्सार छलेर ल्याइएको सुन नेपाली सर्वसाधारणलाई समेत बेचिएको बयान पक्राउ परेका व्यक्तिहरूले नै दिएका छन् ।