राष्ट्र बैंकको ‘टेकओभर’पछिकाे कर्णाली विकास बैंक…


नेपालगन्ज । नेपाल राष्ट्र बैंकले राष्ट्र बैंकको ‘टेकओभर’पछिकाे कर्णाली विकास बैंक विकास बैंकलाई समस्याग्रस्त घोषणा गरेको छ । राष्ट्र बैंकको बुधबार बसेको सञ्चालक समिति बैठकले बैंकलाई समस्याग्रस्त घोषणा गर्ने निर्णय गरेको हो ।

उक्त निर्णयपछि बिहीबार बैंकमा नेपाल प्रहरी तैनाथ थिए भने निजि सुरक्षागार्ड पनि बाक्लाेरुपमा तैनाथ गरिएको थियाे । मुलगेट पुर्णरुपमा बन्द गरिएको छ भने निक्षेपकर्ताहरु आफ्नो निक्षेपका बारेमा चासाे राख्दै जम्मा भइरहेका थिए ।

राष्ट्र बैंकले  समस्याग्रस्त कर्णाली विकास बैंक  सञ्चालनका लागि बैंक तथा वित्तीय संस्था नियमन विभागका उपनिर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा तीन सदस्यीय व्यवस्थापन समिति गठन गरेकाे छ ।

समितिमा वित्तीय संस्था सुपरीपेक्षण विभागका उप निर्देशक विष्णुकुमार विश्वकर्मा र कानुन महाशाखाका उपनिर्देशक जुगल किशोर कुशवाहा छन् ।

समितिले बिहीबारदेखि नै बैंकको तोकिएको जिम्मेवारी सम्हालेकाे राष्ट्र बैंकले जनाएको छ । उक्त समितिले नै संस्थाको विशेष साधारणसभाको समेत काम, कर्तव्य र अधिकारको प्रयोग गर्नेगरी अख्तियारी पाएको छ ।

समितिलाई सर्वसाधारणको हित संरक्षणलाई केन्द्रित गर्दै बचतकर्ताको बचत भुक्तानी र संस्थाको ऋण असुलीलाई प्राथमिकता दिई कार्य गर्ने, संस्थाको ड्यु डेलिगेन्स अडिट सम्पन्न गराउन आवश्यक कार्य गर्ने, संस्थामा भएका वित्तीय अपचलनउपर आवश्यक छानबिन गरी कानुनी कारबाही प्रक्रिया अघि बढाउने लगायत अख्तियारी प्रदान गरिएको राष्ट्र बैंकले जनाएको छ ।

पश्चिम नेपालकाे पहिलाे विकास बैंक हाे याे । जसलाई केही समय अघि मात्रै  नियामक निकाय नेपाल राष्ट्र बैंकले थप निक्षेप संकलन गर्न र कर्जा प्रवाह गर्न रोक लगाएपछि बैंक तथा बित्तीय क्षेत्रमा नयाँ तरङ्ग फैलिएको थियाे ।

त्यतिबेला राष्ट्र बैंकको निरीक्षणमा तोकिएको पूँजीकोष अनुपात कायम नगरेको र निष्क्रिय कर्जा (NPL) अनुपात ४०.८५ प्रतिशत पुगेको देखिएपछि यस्तो निर्णय गरिएको हाे ।

राष्ट्र बैंकको याे कारबाहीलाई संचारमाध्यमले आफुअनुकुल व्याख्या गरेकाे भन्दै कर्णाली विकास बैंकले आफ्नो बचाउमा धारणा सार्वजनिक गरेकाे थियाे । तर त्यसरी बचाउ गरेकाे केही दिनमै राष्ट्र बैंकले समस्याग्रस्त घाेषणा गरेकाे छ ।

आफ्नो बचाउमा त्यतिबेला बैंकका प्रमुख कार्यकारी अधिकृत सिइओ निरज बिक्रम शाहले प्रेषित गरेकाे बिज्ञप्तिमा नेपाल राष्ट्र बैंकवाट आधिकारिक वेबसाइटमा यस संस्थाका सम्बन्धमा प्रकाशित सुचनालाई केही अनलाइन माध्यमबाट फरक-फरक दृष्टिकोणले तोड मरोड गरी द्वेषपूर्ण ढंगले बैंकलाई बदनाम गराउने दुस्प्रयास गरेकाले यस्ता गलत, तथ्यहीन र असन्तुलित समाचारको भ्रममा नपर्न ग्राहक, शुभ चिन्तक र आम जनतामा सादर आग्रह गरेका थिए ।

तर राष्ट्र बैंकको तहबाट याे हदसम्मकाे कारबाही गर्नुपर्ने परिस्थिति किन सिर्जना भयाे भन्ने कुरा बैंककाे बिज्ञप्तिमै प्रष्ट पारिएको थियाे । राष्ट्र बैंकले याे बिषयमा अध्ययन र छानवीन गरेर नयाँ तथ्य फेला पार्ला नै तर बैंकले नेपाल लगायत विश्वभरी फैलिएको कोभिड १९ महामारीको पहिलो तथा दोस्रो लहर र महामारी पछिको असरका कारण सृजित आर्थिक मन्दीका कारण आर्थिक गतिविधि शिथिल भएका कारण देश भरीका बैंक तथा वित्तिय संस्थाहरुको कर्जा असुली प्रक्रियामा प्रतिकुल प्रभाव परेको दुखेसाे पाेखेकाे छ।

बैंकबाट कर्जा असुलीका सम्पूर्ण औजार प्रयोग गर्दा समेत आर्थिक मन्दी, घर, जग्गा कारोबारमा आएको मन्दी अवान्छित कार्य गर्ने समुहको अवरोध आदिका कारण केही कर्जा असुली हुन नसकेकोले निष्कृय कर्जा बढेका कारण नेपाल राष्ट्र बैंकबाट बैंक तथा वित्तिय संस्थाको शिघ्र सुधारात्मक कार्यवाही गरिएको बैंकले स्विकारेकाे छ ।

कसरी समस्याग्रस्त बन्याे कर्णाली विकास बैंक ?

निष्कृय कर्जा असुली गरी सुधार गर्नका लागि कर्जा तथा बचतमा पर्याप्त सिमा भित्र रही कारोवार गर्ने गरी शिघ्र सुधारका लागि कारवाही गरिएको र बैंकको कारोबारमा रोक नलगाईएको र बैंकको कर्जा असुली लगायत नियमित बैंकिङ्ग कारोबार भई रहेको भनिएको थियाे ।

राष्ट्र बैंककाे कारबाहीमा परेकाे याे बैंक २०६० फागुनमा स्थापना भएको हाे । याे साविककाे मध्य तथा सुदुरपश्चिमकाे पहिलाे विकास बैंक हाे । यसकाे बाँके कोहलपुर, खजुरा, शम्शेरगन्ज, बैजापुर, बर्दिया बाँसगढी, भुरीगाउँ, सानोश्री, गुलरिया, ठाकुरद्वारा, राजापुर । दाङ्ग : तुल्सीपुर, विजौरी, नारायणपुर, घोराही, लमही, भालुवाङ, गढवा, सिसहनियामा शाखा छन् ।

 

प्रकाशित मितिः     ११ पुष २०८१, बिहीबार १४:०१  |