नेपालगन्ज । गत वर्ष सल्यानमा एक हजार आठ हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादन भएको तथ्यांक छ ।
सुन्तला खेतीलाई प्रवद्र्धन गर्न र किसानहरुलाई विभिन्न सहयोग प्रदान गर्नका लागि छत्रेश्वरीको वडा नं १ र २ मा सुन्तला जोन कार्यक्रम समेत लागू भएको छ । सल्यान अदुवाका लागि पनि प्रख्यात छ । सुन्तला नयाँ चिनारी बनेकाे छ ।
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले मल, बिउ, यान्त्रिकिकरण, नर्सरी खेती बिस्तार, बगैचा बिस्तार तथा बगैचा सुधार लागायतका कार्यक्रम र योजना सञ्चालनका लागि छत्रेश्वरी संगै बागचौर नगरपालिका, सिद्धकुमाख गाउँपालिका र कुमाख गाउँपालिकामा सुन्तला जोन कार्यक्रम लागू गरेको हो । जसका लागि सुन्तलाजात फलफूल सञ्चालन समन्वय समिती पनि गठन गरिएको छ ।
किसानहरुले सुन्तला उत्पादनबाट वार्षिक लाखौं रुपैयाँ आम्दानी गर्दै आएका छन् । यद्यपी रोगव्याधि, बजार व्यवस्थापनको अभाव र चिस्यानयुक्त भण्डारणको सुविधा नहुनु मुख्य चुनौती बनेका छन् ।
सरकारी तवरबाट किसानहरूलाई तालिम, अनुदान जस्ता सहयोग प्रदान भएतापनि त्यो अझै पर्याप्त छैन । विशेष गरेर किसानहरुले शीत भण्डारणको व्यवस्था गर्न माग गरेका छन् । सल्यानको उर्वर भूमि, अनुकूल मौसम र किसानहरुको परिश्रमले सुन्तला खेती यहाँको पहिचान बनेको छ ।
सरकारी निकाय तथा सरोकारवालाहरुले खेती, बजारिकणमा देखिएका समस्या एवम् चुनौतीहरुको व्यवस्थापनमा ठोस योजनासहित आवश्यक कदम चाल्ने हो भने सल्यान सुन्तला उत्पादनको उत्कृष्ट नमुनाको रुपमा विकास भई आम्दानीको दरिलो माध्यम बन्ने देखिन्छ ।