नेपालगन्ज । उद्योग सञ्चालनको अथाह सम्भावना हुँदाहुँदै पनि औद्योगिक कर्जा लगानीमा केन्द्रीय राजधानी रहेको बागमती प्रदेशसँग पश्चिमका लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशबीच ठूलो खाडल देखिएको छ । यसले राजधानी रहेको बागमती र त्यस बाहिरका प्रदेशबीच रहेको आर्थिक असमानता प्रष्टाउँछ ।
नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेका प्रतिवेदन अनुसार लुम्बिनी प्रदेशका बैंक तथा वित्तीय संस्थाले औद्योगिक क्षेत्रमा प्रवाह गरेको कर्जा २०८१ असार मसान्तमा २०८० असार मसान्तको तुलनामा ४.४४ प्रतिशतले वृद्धि भई रु.१ खर्ब ३१ अर्ब ८८ करोड ६४ लाख पुगेको छ ।
२०८० असार मसान्तमा पनि यस्तो कर्जा अघिल्लो वर्षको तुलनामा ५.९५ प्रतिशतले वृद्धि भएको थियो । २०८१ असार मसान्तमा कुल औद्योगिक कर्जामध्ये कृषि, वन तथा पेय पदार्थ उत्पादन र गैरखाद्य वस्तुको उत्पादन सम्बन्धी उद्योगमा प्रवाह भएको कर्जामा वृद्धि भएको छ भने अन्य सबै क्षेत्रमा प्रवाह भएको कर्जामा ह्रास आएको छ ।
२०८१ असार मसान्तमा यस प्रदेशमा प्रवाह भएको कुल कर्जामा औद्योगिक कर्जाको हिस्सा २३.५१ प्रतिशत रहेको छ । प्रवाहित कुल औद्योगिक कर्जामध्ये सबैभन्दा बढी गैर-खाद्य वस्तु उत्पादन सम्बन्धी उद्योगहरुमा ४२.७२ प्रतिशत रहेको छ भने सबैभन्दा कम विद्युत/ग्यास/पानी सम्बन्धी उद्योगमा ०.८१ प्रतिशत रहेको छ ।
राष्ट्र बैंकले २०८० असारमा जारी गरेको पहिलो ६ महिनाको आर्थिक गतिविधि अध्ययनलाई मात्रै एउटा उदाहरण मान्ने हाे भने लगानीका आधारमा औद्योगिक कर्जा मध्ये वाग्मतीमा सबैभन्दा बढी ९ खर्ब २ अर्ब ८८ करोड ९६७.२१ प्रतिशत र कर्णाली प्रदेशमा सबैभन्दा कम ५ अर्ब २८ करोड कर्जा ९०.३९ प्रतिशत लगानी रहेको देखिन्छ ।
कुल औद्योगिक कर्जामा कोशीको हिस्सा ९.५२, मधेशको ८.४९, वाग्मतीको ६७.२१, गण्डकीको २.९७, लुम्बिनीको ९.२५, कर्णालीको ०.३९ र सुदूरपश्चिममा प्रवाहित कर्जाको हिस्सा २.१७प्रतिशत छ ।
देशभर घरेलु, साना, मझौला र ठूला गरी ८ हजार ९ सय ८ उद्योग दर्ता छन् । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा देशभर साना, मझौला र ठूला गरी थप १ सय ४५ उद्योग उद्योग विभागमा दर्ता भएका छन् ।
यस अवधिमा वाग्मतीमा सबैभन्दा बढी ५९ वटा उद्योग दर्ता भएका छन । सुदूरपश्चिममा ४ उद्योग दर्ता भएका छन । कर्णालीमा भने कुनै पनि उद्योग दर्ता भएका छैनन । यस अवधिमादर्ता भएका १ सय ४५ उद्योगले ९ हजार ७ सय १८ जनालाई रोजगारी दिएको बताइएको छ ।
औद्योगिक पूर्वाधार एवं मानव संसाधनको विकास हुन नसक्नु, स्वदेशी तथा विदेशी पुँजी र प्रविधि आकर्षण नहुनु, घट्दो उत्पादन र उत्पादकत्व, औद्योगिक क्षेत्र लगायत समस्या औद्योगिक क्षेत्रमा रहेको प्रतिवेदनले औंल्याएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अब्दुल वाहिद मन्सुरीले पश्चिममा कर्जा लगानी बढाउन औद्योगिक वातावरण निर्माण गर्नुपर्ने बताउँछन् । ‘जहाँ औद्योगिक वातावरण बन्छ त्यही उद्योग खुल्छन् । त्यसरी उद्योग खोल्ने क्रममा बैंकले ऋण दिन्छ’ मन्सुरीले भने–‘बाँके लगायत पश्चिम नेपालमा उद्योग संचालनको वातावरण बनाउने हो भने यहाँपनि ऋण लगानीको मात्रा बढ्छ ।’
तर सरकारले पश्चिमका उद्योगहरु निर्माणको वातावरण बनाउननसकेको बताउँदै उनी भन्छन्–‘औद्योगिक ग्राम बनाउने भनिन्छ बन्दैनन् । नौवस्तामा औद्योगिक क्षेत्र बनाउने भनियो त्यो अलपत्र छ । औद्योगिक वातावारण यसरी बिथोले पछि बैंकले कर्जा लगानी कसरी गर्छन त ?’ सरकारले सहज ढंगले उद्योग खोल्ने गरी नीति निर्माण र पूर्वाधार विकासमा ध्यान दिने हो भने त्यसमा नीजि क्षेत्रबाट सहकार्य गरिने मन्सुरीले बताएका छन् ।
राष्ट्र बैंकको अध्ययनअनुसार लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा औद्योगिक वातावरण निर्माण गर्नका लागि आवश्यक पूर्वाधारमा ध्यान दिनुपर्ने छ । लगानीमैत्री वातारण सिर्जना गरी स्वदेशमा पुँजीको परिचालन गर्न तर्फ ध्यान दिनुपर्ने राष्ट्र बैंकको सुझाव रहेको छ ।
स्वदेशी कामदारहरुको क्षमता अभिबृद्धि गरी उद्योग क्षेत्रमा आवश्यक दक्ष जनशक्ति निर्माण गर्नुपर्नेमा जोड दिइएको छ ।औद्योगिक वातावरण निर्माण गर्ने हो भने पश्चिममा उद्योग संचालनमा ल्याउने अथाह सम्भावना रहेको समेत औल्याइएको छ ।
लुम्बिनी प्रदेशको सम्भावना
–गुणस्तरीय चुनढुंगाको उपलब्धता भएकोले राम्रो औद्योगिक वातावारण निर्माण गरी गुणस्तरीय सिमेन्ट छिमेकी देश भारतमा समेत बेच्न सकिने,
–तराईका जिल्लामा तीव्र शहरीकरण,सडक संजाल र अन्य पूर्वाधारमा भएको लगानीको औद्योगिक उत्पादनको बजार बिस्तार गर्न सकिने,
–भैरहवा बिशेष आर्थिक क्षेत्रमान थप उद्योगहरु स्थापना भइरहेको, रुपन्देहीको मोतीपुर र बाँकेको नौवस्तामा नयाँ औद्योगिक क्षेत्र निर्माण शुरु हुनुले यस प्रदेशमा उद्योगहरु स्थापनाको थप सम्भावना छ ।
कर्णालीप्रदेशको सम्भावना
–जडिबुटी र खानीजन्य कच्चा पदार्थको प्रशोधन उद्योगको सम्भावना,
– दैलेखमा पेट्रोलियम पदार्थ पाइने आधारहरु रहेको र सोको अन्वेषण तथा उत्खनन गर्न सके पेट्रोलियम पदार्थमा आत्मनिर्भर हुन सक्ने
सुदुरपश्चिमप्रदेशको सम्भावना
–सेती,महाकाली, चमेलिया, जस्ता नदीबाट जलबिद्युत उत्पादन गर्न सकिने,
–जडिबुटी प्रशोधन उद्योग संचालन गर्न सकिने
– बिभिन्न कृषिसंग सम्बन्धित उद्योग संचालन गर्न सकिने