नेपालगन्ज । लुम्बिनी प्रदेशमा बैंक तथा वित्तीय संस्थाले कृषिक्षेत्रमा गर्ने कर्जा प्रवाह घटेकाे छ । बिगतका बर्षभन्दा कृषि कर्जामा ३ प्रतिशतले ह्रास आएको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ ।
राष्ट्र बैंकका अनुसार २०८१ असार मसान्तमा यस प्रदेशको कृषि क्षेत्रमा प्रवाहित कुल कृषि कर्जा २०८० असार मसान्तको तुलनामा ३ प्रतिशतले ह्रास भई रु.५२ अर्ब ४८ करोड ४२ लाखमा सीमित भएको छ ।
२०८० असार मसान्तमा यस्तो कर्जाको बक्यौदा रु.५४ अर्व १० करोड ६७ लाख रहेको थियो । २०८१ असार मसान्तमा यस प्रदेशमा प्रवाह भएको कुल कर्जामा कृषि कर्जाको हिस्सा ९.३६ प्रतिशत रहेको छ । त्यसैगरी, कृषि क्षेत्रमा प्रवाहित कर्जाको जिल्लागत विश्लेषण गर्दा सबैभन्दा धेरै हिस्सा रुपन्देही जिल्लाको ३९.८९ प्रतिशत रहेको छ भने सबैभन्दा कम रुकुमपूर्व जिल्लाको ०.३१ प्रतिशत रहेको छ (हेर्नुस् तालिका )।
राष्ट्र बैंककाे अध्ययन प्रतिबेदन अनुसार, परम्परागत/निर्वाहमुखी कृषिबाट व्यवसायिक कृषि प्रणालीमा जान आवश्यक पर्ने पूर्वाधारहरु निर्माण गर्न तथा समर्थन मूल्य निर्धारण गरी बजारको उचित व्यवस्थापन गर्दै युवा वर्गलाई कृषि पेशामा आकर्षित गर्नु चुनौतीपूर्ण रहेकाे छ ।
कृषि नीति निर्माण गर्न आवश्यक पर्ने तथ्याङ्क एकद्वार प्रणालीबाट प्राप्त गर्नु, पशुपन्छी तथा माछापालनको लागि आवश्यक दाना सुलभ मूल्यमा उपलब्धता गराई पशुपन्छीजन्य उत्पादन तथा माछाको प्रतिस्पर्धी क्षमता अभिवृद्धि गर्नुलाई पनि चुनौतीका रूपमा हेरिएको छ ।
कृषि बालीमा बाँदर, बंदेल, नीलगाई, दुम्सी लगायतका वन्यजन्तुहरुका कारणबाट हुने क्षतिलाई न्यूनीकरण गर्न आवश्यक ठानिएको छ भने पशुपन्छीजन्य विभिन्न रोगको महामारी, प्राकृतिक प्रकोपका कारण हुने समस्याको सम्बोधन गर्न आवश्यकता औंल्याएको छ ।
गर्मी याममा बन डढेलोले गर्दा वन जगलको हानि नोक्सानीलाई न्यूनीकरण गर्न आवश्यक रहेकाे राष्ट्र बैंककाे अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
लुम्बिनीमा कृषिको सम्भावना
यस प्रदेशमा सिंचाइमा सुधार, कृषि वन प्रवर्द्धन, माछा उत्पादनको लागि कृत्रिम जलाशय विस्तार गर्ने जस्ता कार्यक्रमहरु रहेको हुँदा प्रदेशको कृषि, बनजन्य तथा पशुपन्छीजन्य उत्पादनहरु बढ्न सक्ने ।
भौगोलिक विविधतायुक्त यस प्रदेशमा पशुपन्छीका लागि अनुकूल वातावरण रहेका कारण खाद्यान्न, तरकारी, फलफूल तथा पशुपन्छीजन्य उत्पादनमा आत्मनिर्भर भई निकासी गर्न सकिने ।
निजी जग्गामा समेत टिमुर, तेजपात, अमला, सुगन्धकोकीला लगायतका जडिबुटी खेतीतर्फ किसानहरु आकर्षित भएकोले जडिबुटीजन्य उत्पादन तथा उद्योग स्थापनामा वृद्धि हुन सक्ने ।