
नेपालगन्ज । नेपाल धितोपत्र बोर्डले पियोर इनर्जी लिमिटेडलाई आईपीओ निष्कासनको अनुमति दिएको छ ।
बोर्डले शुक्रबार कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको हो । बोर्डबाट अनुमति पाएसँगै अब कम्पनीले १६ करोड रुपैयाँ बराबरको १६ लाख कित्ता शेयर निष्कासन गर्ने भएको छ ।
कम्पनीको कुल चुक्ता पुँजी ८० करोड रहेको छ । जसमा संस्थापकको ८० प्रतिशत स्वामित्व रहेको छ भने २० प्रतिशत शेयर सर्वसाधारणको लागि निष्कासन हुन लागेको हो । शेयर निष्कासनको लागि नबिल इन्भेष्टमेन्ट बिक्री प्रबन्धक रहेको छ ।

पियोर इनर्जी गोल्यान ग्रुप अन्तर्गतको सोलार कम्पनी हो । कम्पनीले बाँकेमा १० मेगावाटको दुई वटा सोलार आयोजना सञ्चालन गरिरहेको छ । दुवै आयोजनाले २०८० सालदेखि नै व्यापारिक उत्पादन गरिरहेका छन् ।
२० मेगावाट क्षमता सहित पियोर इनर्जी हालसम्म सबैभन्दा धेरै सौर्य उर्जा उत्पादन गर्ने कम्पनी हो । आयोजना ४३ विगाहा क्षेत्रमा फैलिएको छ ।